Goraksha

National Daily

‘उपलब्धि जोगाउन एकजुट हुनुपर्छ’

टेकबहादुर पुन
देउखुरी, १८ चैत । नेपाली कांग्रेसका केन्द्रीय सदस्य योगेन्द्र चौधरीले राजावादी सल्बलाउँदैमा देशलाई केही फरक नपर्ने बताएका छन् । नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर १ प्रदेश सभा २ को प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

सानो ठुलो सबैलाई कानून लाग्नुपर्छ भन्ने कांग्रेसको सामु राजावादीको आन्दोलनको औचित्य नभएको बताए । ‘राजावादी सल्बलाउँदैमा देशको राजनीतिमा फरक पर्दैन, लोकतन्त्र भनेको संविधानको रक्षा गर्नु हो’, केन्द्रीय सदस्य चौधरीले भने, ‘राजा आउने कुरा असम्भव हो, लोकतन्त्रको रक्षा गर्नु सारा नेपालीको दायित्व हो ।’ उनले राजतन्त्रमा राजा ठुलो बन्ने र लोकतन्त्रमा नेपाली ठुलो बन्ने यही दुई कुरामा फरक रहेको बताए । चौधरीले कांग्रेसभित्रको केही आन्तरिक द्वन्द्वका कारण अन्य दल सल्बलाइरहेको र त्यो औचित्य जोगाउन कांग्रेसी जनताको मर्म बुझेर अघि बढ्नुपर्ने बताए ।

नेपाली कांग्रेस केन्द्रीय सदस्य कृष्णकिशोर घिमिरेले कांग्रेसी कार्यकर्ता भन्दा पनि नेतृत्व सच्चिर्न आवश्यक रहेको बताए । नेतृत्वबाटै गुट सिर्जना हुने र त्यसले सिङ्गो पार्टीलाई असर गरिरहेको बताए । ‘कार्यकर्ताको दोष छैन, इमानदार भएर जता भन्यो उतै भोट दिन्छन्’, घिमिरेले भने, ‘कांग्रेस सुधार्नु छ भने पहिले नेतृत्व सुध्रिनु आवश्यक छ ।’ गुटउपगुटका बाबजुद कांग्रेसको निर्वाचन नतिजा शोभनीय आउँछ, सबै एकढिक्का भएर जिताउन लाग्ने हो भने देशमा कांग्रेसको बहुमत सरकार बन्नेमा कसैले रोक्न नसक्ने उनको भनाइ थियो ।

कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति शङ्कर डाँगीले कांग्रेस बिग्रिए देश बिग्रने बताए । अन्य दलमा कार्यकर्ता बिग्रिए उनका दल बिग्रने र कांग्रेसी बिग्रिए देश बिग्रने भन्दै चिन्ता व्यक्त गरे । कार्यक्रममा नेपाली कांग्रेस महासमिति सदस्य जानकीलाल बस्नेतले आन्तरिक गुटका कारण कांग्रेस कहीँ कतै चुकिरहेको बताए । ‘आफ्नो दल र नेताले गरेका कामको प्रचार गर्न नसक्नु पनि कांग्रेसीको कमजोरी छ’, उनले भने, ‘गुटउपगुटलाई त्यागेर कांग्रेस बलियो बनाउनतर्फ लागौँ ।’ उनले लोकतन्त्र र प्रजातन्त्रसँग निहु खोज्दा राजतन्त्र हराएको स्मरण गर्दै यो व्यवस्था ल्याउनमा कांग्रेसको योगदान उच्च रहेको जनाउँदै यो व्यवस्था बचाउन सबै लाग्नुपर्ने बताए ।

नेपाली कांग्रेस दाङका सचिव अर्जुनकुमार योगीले क्रियाशील सदस्यता शतप्रतिशत नहुनुमा दुःख व्यक्त गरे । ‘कांग्रेस जस्तो विशाल पार्टीमा सदस्यता नहुनु दुःखद् हो’, सचिव योगीले भने, ‘सदस्यहरूलाई बुझाउन नसक्नु कतै नेतृत्वको कमजोरी हो कि, यसतर्फ ध्यान दिई शतप्रतिशत नवीकरणमा जोड दिऔँ ।’

कार्यक्रमको अवसरमा २०३६ सालको जनमतसङ्ग्रहको आन्दोलनमा मुख्य भूमिका निर्वाह गरेको भन्दै प्रजातन्त्र सेनानीका रूपमा तीन जनालाई दोसल्ला र प्रमाणपत्रले सम्मान गरिएको थियो । लमही–६ लङ्गडी निवासी सुन्दरराम चौधरी, लमही–४ चैलाहीका दामोदर न्यौपाने, लमही–१ सुन्डबरीका सोमनाथ शर्मा सम्मानित भएका हुन् । नेपाली कांग्रेस दाङ क्षेत्र नं. १ (२) का उपसभापति गोपाल नेपालीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा महासमिति सदस्य गिरिजादेवी न्यौपाने, भूतपूर्व सैनिकका क्षेत्रीय सभापति मोमबहादुर रोका, तरुणदलका केन्द्रीय सदस्य श्रीधर घिमिरे, लमही नगर सभापति सन्तोष बुढाथोकी, घोराही नगर सभापति तिलक रावत, पूर्व क्षेत्रीय सभापति वासुदेव जङ्गली, क्षेत्र २ (२) का सभापति प्रकाश श्रेष्ठ, महाधिवेशन प्रतिनिधि मधु न्यौपाने, लुम्बिनी प्रदेश सभा सदस्य लोका विकलगायतका वक्ताले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा वार्षिक प्रतिवेदन सचिव लालवीर खड्का र आर्थिक प्रतिवेदन लुम्बिनी प्रदेश सदस्य कुमार घिमिरेले प्रस्तुत गरेका थिए । कार्यक्रम नेपाली कांग्रेस दाङ क्षेत्र नं. १ (२) का सभापति दिनेश गिरीको अध्यक्षतामा भएको थियो । कार्यक्रमको सहजीकरण सचिव लालवीर खड्काले गरेका थिए ।