‘व्यवसायीक वातावरण बन्न सकेन’
अमरराज आचार्य
दाङ, १७ चैत । व्यवसायीक वातावरण बन्न नसक्दा व्यवसायिक क्षेत्रमा लगानी बढ्न नसकेको निजी क्षेत्रका अगुवाले बताएका छन् । दाङ जिल्ला उद्योग वाणिज्य संघको २०औँ साधारणसभामा बोल्ने वक्ताहरूले यस्तो बताएका हुन् । राज्यको स्पष्ट नीति नहुँदा समस्या भएको उनीहरूको भनाइ रहेको छ । राज्यको नीतिको कारणले व्यवसायीक वातावरण नहुँदा स्वदेशी तथा विदेशी लगानीकर्ताले लगानी नगरेको व्यवसायीक नेतृत्वले बताए । वातावरण नभएकै कारणले अहिले पनि बैंकमा धेरै रकम जम्मा भएर रहेको उनीहरूको भनाइ छ ।
तुलसीपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष नरेशराज भण्डारीले जिल्लाको विकासका लागि साँझा मुद्दा बनाएर अगाडि बढ्नु पर्ने बताए । सबै उद्योग वाणिज्य संघ मिलेर अगाडि बढेमा काम गर्न सहजता हुने उनको भनाइ छ । ‘एक्लै अगाडि बढ्दा समस्या हुन्छ सबै मिलेर अगाडि बढ्दा काम सहज रूपमा गर्न सकिन्छ’ उनले भने । यसतर्फ निजी क्षेत्रका अगुवाहरूले ध्यान दिन सक्नु पर्ने उनको भनाइ छ । उनले जिल्लाको आर्थिक विकासका लागि कोइलाबार भन्सार, टरिगाउँको विमानस्थल सञ्चालनमा प्रभावकारी रूपमा सञ्चालनमा ल्याउनु पर्ने बताए । जिल्लामा औद्योगिक क्षेत्र नहुँदा पनि समस्या भएको बताए । औद्योगिक क्षेत्र घोषणा भए पनि त्यसको कार्यान्वयन हुन नसकेको भन्दै यसको कार्यान्वयन गर्न सबै मिलेर अगाडि बढ्नु पर्ने बताए ।
देउखुरी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष केशव पोख्रेलले निजी क्षेत्रले उठाउँदै आएको मागको सुनुवाई हुन नसकेको बताए । मागको सुनुवाई नहुँदा निजी क्षेत्र अगाडि बढ्न नसकेको उनको भनाइ छ । ‘हामीले पटक–पटक उठाउँदै आएका विषय सुनुवाई हुन सकेको छैन’ उनले भने । निजी क्षेत्रले उठाएको मागको कसले सुन्ने भन्ने अवस्था रहेको छ । नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष सन्तोष सुवेदीले व्यवसायीक क्षेत्र सुरक्षित हुन नसकेको बताए । ‘आन्दोलनको नाममा व्यवसायीक क्षेत्र तथा सञ्चार क्षेत्रमा आक्रमण भइरहेका छन्’ उनले भने । यसको प्रकारको कार्य रोकिनु पर्ने बताए । ढुक्क भएर पेसा व्यवसाय गर्न सक्ने वातावरण राज्यले निर्माण गरिनु पर्ने उनले बताए ।
जिल्लाको विकासका लागि रोड म्याप बनाएर अगाडि बढ्नु पर्ने उनको भनाइ छ । ‘कुन क्षेत्रलाई प्राथमिकता दिने त्यसको रोड म्याप बनाएर अगाडि बढेमा कार्यान्वयनमा सहजता हुन्छ’ उनले भने । यसका लागि जिल्लाका सबै क्षेत्रको सहभागिता हुनु पर्ने उनले बताए । लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्व प्रदेश स्वास्थ्यमन्त्री राजु खनालले व्यवसायीक वातावरण निर्माण हुन नसकेको बताए । लगानीको वातावरण निर्माण नहँुदा अहिले बैंकमा पैसा जम्मा धेरै भएको बताए । विदेशी तथा स्वदेशी लगानी समेत भित्र्याउन नसकेको उनको भनाइ रहेको छ । राज्यले लगानी मैत्री वातावरण निर्माणका लागि प्रयास गरेको उनले बताए ।
‘राज्यले लगानीको वातावरण निर्माणका लागि आवश्यक पर्ने नीति तथा कानुन निर्माणका ध्यान दिएको छ’ उनले भने,‘लगानीको वातावरण भएमा औद्योगीकरण हुने छ’ । औद्योगिक करण भएमा देशका उत्पादन भएमा रोजगारको सिर्जनासँगै उत्पादित वस्तु निर्यात गरेर देशको आर्थिक स्थिति समेत सुधार हुने उनको भनाइ छ । आर्थिक विकास नहुँदा अन्य क्षेत्रको समेत विकास हुन नसक्ने उनको भनाइ छ । ‘देशको विकासका लागि आर्थिक पक्ष बलियो हुन जरुरी रहेको छ’ उनले भने,‘यसलाई सरकारले ध्यान दिएर अगाडि बढेको छ’ ।
आर्थिक विकासका लागि सरकार एक्लै अगाडि बढ्न नसक्ने यसका लागि निजी क्षेत्रको साथ र सहयोग चाहिने उनको भनाइ छ । ‘निजी क्षेत्र र सरकार मिलेर अगाडि बढेमा आर्थिक सुधार गर्न सकिन्छ’ उनले भने । दाङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले आर्थिक विकासमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताए । जिल्ला धेरै सम्भावना बोकेको क्षेत्र भएकाले यसलाइ ध्यान दिएर अगाडि बढ्नु पर्ने उनले बताए । जिल्लाको समग्र गुरु योजना निर्माण गरेर अगाढि बढेमा सहजता हुने उनको भनाइ छ ।
कार्यक्रममा संघका पूर्व अध्यक्ष चन्द्रराज पन्त, नेपाली कांग्रेस दाङका कोषाध्यक्ष प्रकाश सुवेदी, नेकपा एमालेका विवेक श्रेष्ठ, माओवादी केन्द्रका जिल्ला सचिव विश्वराज आचार्य, राष्ट्रिय जनमोर्चाका घोराही नगर अध्यक्ष मणिराम खनाल, नेपाल कम्युनिष्ट पार्टीका पाटन सी, क्रान्तिकारी कम्युनिष्ट पार्टीका ईश्वरीप्रसाद गैरे, समाजवादी पार्टीका रामप्रसाद चौधरी, घोराही उपमहानगरपालिका वडा नं १४ का वडा सदस्य रचना कुमाल, दाङ निर्माण व्यवसायी संघका अध्यक्ष प्रविण भण्डारी, घोराही खानेपानी संस्थाका वरिष्ठ उपाध्यक्ष भरतमणि पाण्डे लगायतकाले भनाइ राखेका थिए । कार्यक्रममा वार्षिक प्रतिवेदन महासचिव महेन्द्र बुढाथोकी र आर्थिक प्रतिवेदन कोषाध्यक्ष जगतप्रसाद आचार्यले प्रस्तुत गरेका थिए ।
कार्यक्रम संघका अध्यक्ष बसन्त जोसीको अध्यक्षतामा भएको थियो । संघका वरिष्ठ उपाध्यक्ष नरेशकुमार श्रेष्ठको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा धन्यवाद ज्ञापन वाणिज्य उपाध्यक्ष लीलाराम खड्काले गरेका थिए ।
विभिन्न व्यक्तिलाई सम्मान तथा पुरुस्कृत
साधारणसभाको अवसरमा संघमा विभिन्न क्षेत्रबाट योग्दान पु¥याएको भन्दै संघले वाणिज्यतर्फ व्यवसायी रुकमणी केसी उद्योगतर्फ रमेशकुमार श्रेष्ठ कर्मचारीतर्फ भीमा बस्नेत र सञ्चार क्षेत्रबाट आर के शितललाई पुरस्कृत गरिएको थियो । त्यसै गरेर विभिन्न प्रतियोगिताका विजेतालाई पनि सम्मान गरिएको थियो ।
