पत्रकार महासंघको स्थापना दिवसमा स्वास्थ्य परीक्षण
गोरक्ष समाचारदाता
दाङ, १६ चैत । पत्रकारहरूको स्वास्थ्य परीक्षण गरिएको छ । नेपाल पत्रकार महासंघको ७०औँ स्थापना दिवसको अवसरमा शुक्रवार घोराहीमा जिल्लामा क्रियाशील पत्रकारहरूको प्रेसर, सुगर, मृगौला र आँखा परीक्षण गरिएको हो ।
नेपाल पत्रकार महासंघ दाङ शाखाको आयोजना तथा स्वास्थ्य कार्यालय दाङ र राप्ती आँखा अस्पताल रक्षाचौरको सहयोगमा भएको स्वास्थ्य शिविरमा प्रेसर, सुगर, मृगौला र आँखा परीक्षण शिविरमा ६४ जनाले ल्याब परीक्षण र ७९ जनाले आँखा परीक्षण गराएका थिए । परीक्षणका क्रममा आँखासम्बन्धी समस्या देखिएका पत्रकारहरूलाई निःशुल्क चश्मा र औषधी वितरण गरिएको नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष सन्तोष सुवेदीले जानकारी दिएका छन् ।
यसैगरी सुगर, प्रेसर, मृगौला र आँखासम्वन्धी जटिल समस्या देखिएकालाई थप उपचारका लागि अस्पतालमा जाँच गराउन सुझाव दिएको थियो । स्वास्थ्य परीक्षणका लागि जिल्ला स्वास्थ्य कार्यालय र राप्ती आँखा अस्पताल रक्षाचौर तुलसीपुरको टोली खटिएको थियो । नेपाल पत्रकार महासंघ दाङ शाखाले पत्रकारहरूको स्वास्थ्य परीक्षणका लागि सहयोग गर्ने जिल्ला स्वास्थ्य कार्यालय दाङ र राप्ती आँखा अस्पताल रक्षाचौरलाई धन्यवाद ज्ञापन गरेको छ ।
