calander

January 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031

Goraksha

National Daily

सत्यको धरातलभित्र हिड्न सिकौँ

नारायणप्रसाद श्रेष्ठ

मानिसको आकांछा एक पछि अर्को गर्दै बढिरहेको हुन्छ । उ जति पाउँछ त्यति नै उसभित्र अझ पाउने आशा पलाईरहन्छ । यति मात्र होइन अरुले आफूभन्दा केही बढी पाएको छ भने पनि उसभित्रको अहंकारले उसलाई डाहा र उत्तेजना बढाइरहेको हुन्छ । वास्तवमा यस्तो अवस्था र आचरण देखा पर्नु भनेको मानिस आफै बरबाद हुनु हो ।

यस्तो प्रवृत्ति बढ्नु भनेको मानवीय विवेक गलत दिशा उन्मुख हुनु हो । अरुलार्ई सुखी र सम्पन्न, धनधान्यले परिपूर्ण भएर हैकम चलाएको देखेर आफूलाई पछी परेको अनुभव गर्नु भनेको आफूले आफैलाई दुःखको सागरमा धकेल्दै लैजानु हो । आफूले आफैलाई कमजोर बनाउनु हो । यस्तो प्रवृत्तिले मानिसको मन वुद्धि र विवेकमा कुठाराघात पु¥याउनु सक्छ । विचारमा कलुसित भावना जागृत भई हिंसात्मक प्रवृत्तितर्फ विचार सलबलाउनु सक्छ ।

मन र भावनामा देखा पर्ने जति पनि नराम्रा विचार र चिन्तन हुन्छन् वास्तवमा यी सबै अन्तर मनको सत्यले नदेखि बाह्य आँखाले देखेको भौतिक आशक्तिको कारणले हो । तसर्थ बाह्य आवरणमा देखा पर्ने आशक्तिले जन्माउने विचारलार्ई मनको तराजुमा तौलेर जीवनलाई सही र स्पष्ट गन्तव्यमा लैजाने अभ्यास गरिरहनु पर्दछ । किनकी दुःख, पछयौटेपन अरुबाट होइन आफ्नै वुद्धि र विचार बाट जागृत हुने हो । असल र सकारात्मक विचार प्रवाह हुन र गर्न नसक्नु, संयम् भई दृष्टिमा रहने अहंकार नहटाई सन्तुष्टि लिन नसक्नु, परिस्थिति अनुकुल आफूलाई समायोजन गर्न नसक्नु, आफू अन्तरनिहित शक्ति र सामर्थलार्ई जान्न नसक्नु, म कमजोर छु भन्ने ठान्नु, यी सबै आफैले उत्पन्न गरेका दुःखका कारण हुन । तसर्थ यस कुराको हेक्का राखी जीवनलार्ई गतिशील बनाउनु पर्दछ । यो नै बुद्धिमान र विवेकशिल मानिसको आचरण हो ।

मानिसको मन विचार कहिले परिपूर्ण हुँदैन । कहीँ न कहीँ खाली भई अधुरो अवस्थामा रहेको हुन्छ । अर्को कुरा मानव जीवनको अन्तर मनभित्रको सत्यमार्ग, अर्को अर्थमा पुण्यको भाडो, देख्न र महसुस गर्दा भरिएको देखिए पनि यो खाली नै हुन्छ । त्यसमा अटाउने धेरै ठाउँ हुँदा हुँदै पनि मानिस आफूलार्ई परिपूर्ण भएको ठान्दछ । म सबै गुणले सम्पन्न छु भनी अहंकार प्रदर्शन गर्न पछि पर्दैन । सागरमा जति पानी जम्मा भए पनि त्यो त्यसरी नै भरिएको देखिन्छ जति पहिले थियो । त्यसैले जीवन पनि सागर जस्तै हो । यसमा जति ज्ञान, सिप र धन, राख, नयाँ विचारहरुलार्ई अगाडि जागृत गर, त्यसले अरु पाउने, बढाउने इच्छा राखी रहन्छ ।

पुण्यकर्मको भकारी पनि यस्तै हो यो पनि कहिलै भरिँदैन । यो त मानिसको कर्म र व्यवहारले प्रष्टाएको हुन्छ तर पनि मानवीय स्वभाव आफू कसरी अरुको लागि सम्मानित हुने भनी दौडिरहने बानीले उसमा अहंकार र घमण्ड आइ रहन्छ । ऊ सधैं आफूलार्ई सर्वसम्पन्न देखाउन खोज्नु उसको चाहाना पनि हो । चाहाना राख्नु गलत मानिँदैन तर पनि अविवेविकि चिन्तन बढाई आफूलाई गलत दिशातर्फ बढाउनु वास्तवमा यो उसको गलत मार्ग हो । हुनत जीवनलार्ई अनुकूल वातावरणमा रमाउन खोज्नु म परिपूर्ण छु भन्नु यी सबै दृष्टि भ्रम हो भनि मान्न सकिएला तर सधै एउटै कुरालार्ई दोहो¥याइए त्यसैभित्र सबै छ भन्ने सोच बढाउनु दृष्टि भ्रम पर्नु हो । दृष्टि भ्रममा परिक्षणिक बासनामा अलमलिनु आफूभित्रको सत्य पहिचान नगरी असन्तुष्टिको घेराभित्र आफै पर्नु हो । यी सबै आफैले आफूलाई उत्पन्न गरेका दुःखका कारण हुन् ।

जीवन प्रेमको सागर हो । यो सधै भरिएको देखिए पनि खाली हुँदैन । कहीँ न कहीँ खाली भएकै देखिन्छ । विचारमा, संकल्पमा र दृष्टिकोणमा कहीँ न कतै भ्रमको वातावरण बनिरहेको हुन्छ । यही कारण हो जसले जीवनलार्ई सही गन्तव्य निर्धारण गर्न असहज बनेको अवस्था देखिन सक्छ । तसर्थ यसको लागि सधैं एउटा कुराको ख्याल राख्नुपर्दछ । धैर्य र लगनशील भई आफूलार्ई समर्पित गर्नुपर्दछ । लगनशील हुन जति समय लाग्दछ कठिन हुन्छ त्यतिकै दुर्जन र असन्तुष्टि बन्न समय लाग्दैन र यो गाह्रो पनि हुँदैन किनकि बनाउनुभन्दा बिगार्न धेरै समय लाग्दैन यो कुरा सदैव सम्झनामा राखिरहनु पर्दछ ।

त्यसैले आफूले आफैलार्ई विश्वास गर्नु र जान्न सक्नुपर्दछ । मनको बहावमा आउने जति पनि विकृति छन्, ती उत्पन्न गर्न खास अप्ठ्यारो पर्दैन किनकि जब विवेकको धरातल शून्यमा झर्छ यस अवस्थामा यस्ता कुरा भइरहन्छ । तसर्थ यसको लागि शान्ति र अहिंसाको माध्यमबाट परम्परागत संस्कृति र संस्कारमा हुर्किएको असल आचरण ग्रहण गरी समयको पावन्दी अनुसार आफूलार्ई परिचालन गर्ने साहस जुटाउनु पर्दछ । त्यसका लागि हाम्रा पुर्खाको आदर्श र ऋषिमुनिले देखाएको गन्तव्यलार्ई जिम्मेवार पूर्वक निर्वाह गर्नुपर्दछ । एउटै परिवेशमा हुर्किएका दुईथरी व्यक्तिमध्ये एउटा आध्यात्मिक र अर्को भौतिकवादी चिन्तक रहेछ भने देख्दामा यी दुवै एउटै किसिमको देखिए पनि यिनले प्रदर्शन गर्ने आचरण र व्यवहारमा भिन्नता पाइन्छ ।

भौतिक भावले अभिप्रेरित व्यक्ति आफै सधै हर्ताकर्ता र सर्वसम्पन्न छु भनी ठान्दछ भने आध्यात्मिक चिन्तन भएको व्यक्तिले आध्यात्म नै जीवनको सहज बाटो हो भने स्वीकार्दै छन् । विचारमा जब यी दुईबिचको असमझदारी बढ्न थाल्दछ । तब त्यहाँ द्वन्द्वको परिस्थिति जन्मन्छ द्वन्द्वले विचारमा कलुसित भावना जागृत गर्दछ । जसको कारण मानव चिन्तनमा स्वार्थ र अन्धकार बढ्न गई एकअर्कामा वैरभावको वातावरण उत्पन्न हुन पुग्दछ । यस्तो परिस्थिति उत्पन्न हुने वातावरण बनाउनु भनेको आफैलार्ई गलत मार्गमा लैजानु हो । चिन्तनमा नकारात्मक भाव वृद्धि गर्नु हो ।

त्यसैले मनमा आउने जति पनि विचार छन् त्यसले पार्ने प्रभावको बारे अन्तरमनको सत्यले तौलिएर आफूलार्ई सार्वजनिक गर्न सक्नुपर्दछ । आध्यात्मिक र भौतिकवादलार्ई एउटै डालोमा राखी यसको गुणलार्ई ग्रहण गर्न सक्नुपर्दछ । मनुष्य भएर मनुष्यको आचरण र कर्मबाट आफ्नो दायित्वबोध गराउनु र मानव मूल्य र मान्यताको परिचय दिनु, यो नै मानवको महानता हो । भौतिक जगतमा रहेको बैंक जहाँ प्रत्येक व्यक्तिले आफ्नो भविष्य सुरक्षित गर्न रकम जम्मा गर्दछ त्यो परिचालन गर्ने खजान्छीले दिनहुँ करोडौँ रकम गन्दछ, लेनदेन गर्दछ तर पनि त्यसप्रति उसको मोह हुँदैन । रकम लुकाउ भन्ने उसको आशक्ति पनि हुँदैन ।
त्यसैगरी जीवन पनि आध्यात्मिक बैंक हो । यसभित्र मोह र आशक्ति नभई सदाचार हुन जरुरी छ । जीवनलार्ई भोक शोक र आशक्तिमा होइन निस्वार्थ सेवामा समर्पण गर्ने चेष्टा गर्नुपर्दछ । संसार सृष्टि चक्रको त्यो इतिहास हो जहाँ पाप र पुण्यको हिसाब किताब अनुसार गतिशील भएको हुन्छ । यो कुरा बुझ्न जरुरी छ । सृष्टि चक्रको संरचना भर्खरै भएको होइन । यो त लाखौँ करोडौँ वर्षदेखि यसरी नै निरन्तर उत्पन्न हुने नष्ट हुने पुन उत्पत्ति हुने गतिशील हुने गरी समयको प्रवाहसँगै अघि बढेको हुन्छ । यो हिजो थियो आज छ र भोलि पनि रहिरहन्छ । त्यसैगरी दुःखसुख लाभहानी घामछायाँ अँध्यारो उज्यालो यो भइरहने प्रक्रिया हो ।

वास्तवमा बुझ्नु पर्ने के भने हामीले हाम्रो वर्तमानलार्ई कसरी गुजारेका छौँ । हिजो हाम्रो पुर्खाले हाम्रो जीवनलार्ई गतिशील बनाउन के गरेका थिए । अब आउने पुस्ताको लागि हामीले कस्तो सन्देश प्रवाह गर्न खोज्दै छ । त्यो कुराको हेक्का राख्न जरुरी छ । जसरी अहिले हामी हाम्रा अभिभावकको नीति र निर्देशनमा आफूलार्ई परिचालन गरेका छौँ त्यसको लेखाजोखा गरी अगाडि बढेका छौँ । त्यसैगरी आउने पिढीको लागि पनि नयाँ विचार र समृद्धिको खाका कोरेर अगाडि बढ्न अबको विचारले सक्नुपर्दछ । यो विषय निकै गम्भीर मानिन्छ । हिजो हाम्रो पुर्खाले भौतिकवादी र आध्यात्मिकवादी चिन्तनलार्ई समय सापेक्ष एउटै डालोमा राखी गतिशील बनाई अगाडि बढेका थिए ।

जीवन जगतलार्ई धार्मिक सत्यको कानुनी दायरा बनाई अगाडि बढाएका थिए । आज त्यही इतिहास फेरि दोहो¥याएर हामीले आगामी पुस्ताको लागि समर्पण गर्न हामी किन सक्दैनौ ? हामीलाई नयाँ ऊर्जा र विचार प्रवाह गर्न कसले छेकेको छ ? हिजोको इतिहास भुल्ने प्रवृत्तिले आगामी दिनहरुको गोरेटो कस्तो होला । तसर्थ यसतर्फ हाम्रो चिन्तन बढ्न जरुरी छ । आध्यात्मिक सोचले देखाएको आदर्शतर्फ हाम्रो चिन्तन आकर्षित गर्नु पनि त्यतिकै जरुरी छ । हामी कतै वर्तमानलाई बासनामा रुपान्तरण गरी मैखाउ, मै लाउ, मै मोज मजा गरु भन्नेतर्फ आकृष्ट भएका त छैनौ ?

दृष्टि भ्रममा परि अरुको कार्य र विलासितालार्ई महत्व दिएर आफ्ना विचारहरु धाराशाही बनाएका त छैन ? कसले गर्यो मंगले आफ्नै ढंगले भन्ने उखान चरितार्थ हुने गरी आफ्नो सन्ततीको भविष्यलाई अन्धकारभित्र रुमल्याउन कतै हाम्रो विचार दौडिरहेको त छैन ? तसर्थ सबै गम्भीर बन्न जरुरी छ । आफ्नो अन्तर मनको सत्यलाई बुझी आफूलाई प्रदर्शन गरौँ समय यही खोजी रहेछ । अस्तु ।