Goraksha

National Daily

कडा मिहिनेतबाट सफलता : लामिछाने

गोरक्ष समाचारदाता
दाङ, १२ चैत । चर्चित क्रिकेट खेलाडी सन्दीप लामिछानेले कडा मिहिनेतबाट मात्र सफलता मिल्ने बताएका छन् । हिन्दू विद्यापीठ– नेपाल घोराही, दाङले गरेको स्वागत कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

लामिछानेले हरेक विद्यार्थी सधैँ एउटा सपना बोकेर मिहिनेत गर्दा आफूले चाहेजस्तो असल मान्छे बन्न सक्ने उनले बताएका थिए । विद्यालयका प्रबन्ध निर्देशन डा भोलानाथ योगीको सभापतित्वमा सम्पन्न कार्यक्रममा उनले हिन्दू विद्यापीठ फरक उद्देश्य बोकेको स्कुल भएको थाहा पाएर नै आफू विद्यालय हेर्न र विद्यार्थीसँग भेटघाट गर्न आएको बताएका थिए ।

नितान्त सामाजिक सेवाभाव बोकेको विद्यालय भन्ने जानकारी पाएकाले अवलोकन गर्ने इच्छा जागेको उनले बताए । त्यस अवसरमा विद्यालयका शिक्षक तथा विद्यार्थीले भनाइ राखेका थिए । कार्यक्रमको सहजीकरण विद्यालयका प्रधानाध्यापक पिताम्बर रिजालले गरेका थिए । क्रिकेटर लामिछाने घोराही–७ पर्सा स्थित बाल शान्तिगृहको पनि अवलोकन गरेका थिए ।