हिन्दु धर्म वेदमा आधारित छ
एकराज शर्मा अधिकारी
वेदद्वारा प्रतिपादित धर्म हो । हिन्दु धर्मको अन्तिम लक्ष्य आनन्द प्राप्ती हो । आनन्द प्राप्तीको लागि पहिले चित्त शुद्धि, त्यसपछि चित्त विशुद्धि, त्यसपछि चित्त नष्ट गराउनु पर्छ । यहाँ आनन्द भन्नाले परमान्दलाई सम्झनु पर्छ । विषय आनन्द त सबैले पाएकै छौँ । त्यो आनन्द बाहिर खोजेर पाइँदैन । आफैभित्र प्रकाशित छ ।
हिन्दु त्यो हो, जो हिंसाबाट टाढा रहन्छ । त्यो हिन्दु हो । हिन्दुहरुले मूर्ति पूजामा विश्वास राख्छन् । गौमातालाई आमा सम्झन्छन् । भारत वर्षलाई नै आफ्नो मूल थलो सम्झन्छन् । वेदमा विश्वास राख्छन् । ईश्वरमा विश्वास राख्दछन् । आस्तिक हुन्छन् । आज हाम्रो देशलाई त्यस्तो हिन्दु चाहिएको छ जसले धर्मको रक्षा गर्न सकोस् । अहिंसाको पालना गर्न सकोस् । जलमास्थलमा आकाशमा शान्ति होस् भन्ने हिन्दु चाहिएको छ । निराकारमा मात्र ईश्वर छ भन्ने हिन्दु चाहिएको छैन ।
मूर्तिमा पनि ईश्वर छ, सबै प्राणीमा पनि ईश्वर छ भनी विश्वास राख्ने हिन्दु चाहिएको छ । आफ्नो जन्मभूमिलाई नबिर्सने हिन्दु चाहिएको छ । आफ्नै देशको साधन र स्रोतको सदुपयोग गरी देशको विकास गर्ने हिन्दु चाहिएको छ । सबैलाई हसाउने हिन्दु चाहिएको छ । असुरक्षामा बाचेका मानिसको दुःख हटाउने हिन्दु चाहिएको छ । नाम मात्रको हिन्दु चाहिएको छैन । अहिले वेदले बताएको धर्ममा चोट पुगेको छ । वेदको उद्देश्य हो सबैलाई सत्य बोल, घमण्ड नगर, अन्धकारबाट उज्योलोतिर जाउ भन्ने उद्देश्य हो ।
अहिले हिन्दु धर्मको पालना गर्ने मानिसको संख्या घट्दै गएको छ । हिन्दु धर्मको पालना नगर्ने मानिसको संख्या बढ्दै गइरहेको छ । मानिसले सत्य बोल्न छोडेका छन् । हरेक मानिसमा घमण्ड छ, म जस्तो कोही छैन भन्ने बानी छ । आफ्नो प्रशंसा आफै गर्ने बानी छ । हिन्दु धर्मले सबै मानवलाई सम्मान गर्न सिकाउँछ, अनुशासनमा रहन सिकाउँछ, नैतिकवान हुन सिकाउँछ । गौमातालाई आमा समान मान्नुपर्छ भन्ने सिकाउँछ । आचारविचार कर्ममा शुद्दता ल्याउन सिकाउँछ ।
धर्म भनेको धारणा गर्नु हो, पालना गर्नु हो । हिन्दु धर्मले कसैको धर्मलाई निन्दा गर्दैन । हिन्दु धर्मको मुल वेद हो । वेद सबैलाई पढ्ने अधिकार छ । हिन्दु धर्म सबैको धर्म हो । ब्राहमणको मात्र धर्म होइन । पूर्वीय र पाश्चात्य दर्शनको मूल वेद नै हो । वेदमा नै ज्ञान र विज्ञानको सारतत्व लुकेको छ । हिन्दु धर्मले आचरण र नैतिकतामा जोड दिएको छ । शुद्दता र पवित्रतामा जोड दिएको छ । जनावरमा गाईलाई महत्व दिएको छ । मानिसमा ब्राहमणलाई महत्व दिएको छ । हामी सबै ब्राहमण हुनुपर्छ । जनै लगाएर मात्र ब्राहमण हुँदैन ।
टिका लगाएर, माला जपेर, धोति फेरेर मात्र कोही ब्राहमण हुँदैन । यो धोका हो । ब्राहमण त्यो हो जसले ब्रहम ज्ञान गर्न सकोस्, तत्व ज्ञान गर्न सकोस् । हिन्दु त्यो हो जसले गाईको महत्व बुझ्न सकोस् । गाईले सबै मानवको कल्याण गर्छ । गाईको दुध, दही, घ्यू सेवन गर्नाले के हिन्दु, के मुस्लिम, के जैन, के क्रिश्चियन सबैलाई हिष्टपुष्ट गराउँछ । सबैलाई शक्ति बढाउँछ । गोबर र गौतले सबैको शरीरको रोगलाई नास गर्छ । हरेक बस्तुमा तत्व लुकेको छ । सबैमा धर्म छ ।
आगो सबैलाई तातो हुन्छ, पानी सबैलाई चिसो हुन्छ । तातो र चिसो नभए आगो र पानीको अस्तित्व नै रहँदैन । त्यस्तै धर्म नभए मानिसको अस्तित्व नै रहँदैन । चेतन बस्तु सबैले धर्मको धारणा गर्छन् । जडले धर्मको धारणा गर्दैनन् । यो हिन्दु धर्मको सबैको साझा धर्म हो । अरु सबै सम्प्रदाय हुन् । मानिसले चलाएका धर्म हुन् । हिन्दु धर्म मूल धर्म हो । यसलाई कसैले छाड्नु हुँदैन । यो वेदमा आधारित छ । धर्मलाई धारणा नगर्ने मानिस सुगन्ध नभएको फूल जस्तो हुन्छ । पखेटा नभएको चरो जस्तो हुन्छ । उज्यालो नभएको घाम जस्तो हुन्छ । त्यसैले हिन्दु धर्मको महत्व बुझ्नु पर्छ ।
