प्लाई उद्योगमा आगलागी, नियन्त्रणमा सकस
गोरक्ष समाचारदाता
दाङ, १२ चैत । घोराही उपमहानगरपालिका–९ खैरा स्थित गणपति भेनियर तथा साङ्ग्रीला प्लाई उद्योगमा भएको आगलागी समाचार तयार पार्दासम्म नियन्त्रणमा आउन सकेको छैन । उद्योगमा आगलागी भएको करिब १८ घण्टा बितिसक्दा पनि आगलागी नियन्त्रणमा आउन नसकेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले जानकारी दिएका छन् ।
उद्योगमा चिरान गरिएको काठसँगै प्रज्वलनशील वस्तु राखिएका कारण दिनभरि आगो नियन्त्रणका लागि प्रयास गर्दा पनि नियन्त्रणमा आउन नसकेको र अहिले आगो नियन्त्रणको काम जारी रहेको प्रमुख जिल्ला अधिकारी लम्सालले बताए । उनका अनुसार उद्योगमा लागेको करिब ८० प्रतिशत आगो नियन्त्रण भएका छ ।
‘नेपाल प्रहरी, सेना र सशस्त्र प्रहरीसँगै वनको डढेलो नियन्त्रण दस्ताको टोली गरेर करिब दुई सय जनाको टोली आगलागी नियन्त्रणका लागि दिनभरि प्रयास गर्दा पनि आगो नियन्त्रणमा आउन सकेको छैन’, प्रमुख जिल्ला अधिकारी लम्सालले भने, ‘आगो नियन्त्रणका लागि अहिले पनि सुरक्षा निकायको टोली लागिरहेको छ ।’ प्रमुख जिल्ला अधिकारी लम्सालले उद्योगमा आगलागी भए पनि उच्च सावधानीका कारण बस्ती भने जोगाउन सफल भइएको बताए । आगलागी भएको खबर प्राप्त हुनासाथ राति २ बजेदेखि नै निरन्तर रूपमा प्रयास भइरहे पनि उद्योगमा तीव्र ज्वलनशील पदार्थ तथा ठुलो मात्रामा भएको काठमा आगो साल्किएकाले निभाउन समस्या भएको बताएका छन् ।
‘उद्योगमा लागेको आगो नियन्त्रणका लागि अहिलेसम्म प्रयास भइरहेको छ । करिव ८० प्रतिशत आगो नियन्त्रणमा आए पनि पूणनियन्त्रणमा आउन सकेको छैन’, प्रमुख जिल्ला अधिकारी लम्सालले भने, ‘आगो नियन्त्रणका लागि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीलगायतका स्थानीयबासी लागिरहनुभएको छ ।’ उद्योगमा लागेको आगो नियन्त्रणका लागि पानी बोक्न दाङसँगै कपिलवस्तु, बाँके र बर्दिया जिल्लाबाट आएका आठवटा दमकलसँगै ट्याक्ट प्रयोग गरिइरहेको छ ।
उनका अनुसार आगलागी नियन्त्रणका लागि दाङका घोराही, तुलसीपुर उपमहानगपालिका र लमही नगरपालिकाबाट एक÷एक गरी तीनवटा, कपिलवस्तुबाट कृष्णनगर नगरपालिका र शिवराज नगरपालिकाबाट दुईवटा, बाँकेको नेपालगन्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकाबाट दुईवटा र बर्दियाको बाँसगडी नगरपालिकाबाट आएका एउटा दमकल तथा ट्याक्टर, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, डिभिजन वन कार्यालय घोराहीको डढेलो नियन्त्रण दस्ता र स्थानीयले आगो नियन्त्रण गर्ने प्रयास गरिरहेको प्रमुख जिल्ला अधिकारी लम्सालले जानकारी दिएका छन् ।
सोमवार बिहान करिब साढेएक बजेतिर लागेको आगोका कारण उद्योगमा प्लाई, काठजन्य वस्तु, मेसिन तथा औजारसँगै तीनवटा ट्रक जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिएका छन् । सात बिघा क्षेत्रमा फैलिएको र उद्योगमा केमिकल भएका कारण आगो नियन्त्रणमा समस्या भएको बताइएका छ । उद्योगमा सार्वजनिक बिदाका दिन भएको र उद्योगभित्र मजदुर, कर्मचारी नबस्ने भएकाले मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । आगलागी नियन्त्रणमा लिइसकेपछि आगलागीबारे थप अनुसन्धान हुने जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक शाहले बताएका छन् । उद्योगले प्लाई उत्पादन गरेर नेपालका विभिन्न जिल्लासँगै भारतमा समेत निर्यात गर्दै आएको थियो । उद्योगमा करिब नौ सय बढी कर्मचारी कार्यरत रहेको उद्योग सञ्चालकले जानकारी दिएका छन् ।
आगलागीप्रति दुःख व्यक्त
घोराही उपमहानगरपालिका वडा नम्बर ९ खैरा स्थित साग्रीला प्लाई तथा भेनियर उद्योगमा भएको आगलागीप्रति नारायणपुर उद्योग वाणिज्य संघले दुःख व्यक्त गरेको छ । सोमवार एक विज्ञप्ति जारी गर्दै संघले दुःख व्यक्त गरेको हो । संघका अध्यक्ष अनिलकुमार बस्नेत र महासचिव जागेश्वर डाँगी (विष्णु)ले एक विज्ञप्ति जारी गर्दै सम्बन्धित निकायलाई उचित क्षतिपूर्ति व्यवस्थापनका लागि समेत अनुरोध गरेका छन् । नारायणपुर उद्योग वाणिज्य संघका साधारण सदस्य तथा घोराही उपमहानगरपालिका वडा नम्बर ९ का उद्योगपति गेहेन्द्र बस्नेत र जितेन्द्र बस्नेतद्वारा सोही वडामा सञ्चालित गणपति भेनियर तथा साङ्ग्रीला प्लाई उद्योगमा भीषणा आगलागी भई त्यहाँ रहेका सामान, मेसिनलगायत सम्पूर्ण धनमाल पूर्णरूपले नष्ट हुन गएको घटनाप्रति नारायणपुर उद्योग वाणिज्य संघ परिवारले दुःख प्रकट गरेको छ ।
उक्त घटनाप्रति सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै उचित क्षतिपूर्ति व्यवस्थापनका लागि अनुरोध गरिएको छ । यसैबिच दाङ जिल्ला उद्योग वाणिज्य संघले पनि एक विज्ञप्ति जारी गर्दै दुःख व्यक्त गरेको छ । संघका अध्यक्ष वसन्त जोशी र महासचिव महेन्द्र बुढाथोकीले एक विज्ञप्ति जारी गर्दै दुःख व्यक्त गरेका हुन् ।
