Goraksha

National Daily

कांग्रेस अभिभावकीय भूमिकामा रहनुपर्छ : नेता खाण

लीलाधर वली
नारायणपुर, १२ चैत । नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले मुलुक अप्ठ्यारोमा पर्दा कांग्रेसले अभिभावकीय हैसियतमा सिङ्गो राष्ट्रको नेतृत्व लिन सक्नु पर्ने बताएका छन् । कांग्रेसको नेतृत्वलाई पार्टीको कुरा मात्र गरेर बस्ने सुविधा नरहने भन्दै उनले अहिलेको राजनीतिक समस्याको समाधानका लागि कांग्रेसले नै अग्रसरता लिनुपर्ने बताए । ‘कांग्रेसलाई देखाएर वा दोष दिएर उम्कने छुट अन्य दललाई होला’, उनले भने, ‘तर कांग्रेसलाई त्यो छुट हुँदैन । किनभने कांग्रेस पुरानो, लोकतान्त्रिक र जवाफदेही पार्टी हो ।’

नेपाली कांग्रेस दाङ क्षेत्र नं. २ (२) को तेस्रो प्रदेश सम्मेलनको उद्घाटनका क्रममा पछिल्लो राजनीतिक घटनाक्रमप्रति सङ्केत गर्दै खाणले भने, ‘यो संविधानले जनतालाई सार्वभौम बनाएको छ, त्यसकारण यो संविधानको सम्पूर्ण रूपमा रक्षा गर्ने प्राथमिक दायित्व कांग्रेसको हो ।’ जनतालाई सार्वभौम बनाएको संविधानको पक्षमा उभिन आह्वान गर्दै उनले भने, ‘अर्कैलाई त्यो अधिकार दिने बाटोमा मुलुक जान सक्दैन, त्यो बहसको विषय नै होइन ।’ द्वन्द्वकालमा मारिएका १७ हजार नागरिकमध्ये १४ सय मानिस कांग्रेसका विभिन्न जिम्मेवारीमा रहेकाहरू रहेको तथ्याङ्कतर्फ ध्यानाकर्षण गराउँदै पूर्वगृहमन्त्री समेत रहेका खाणले भने, ‘त्यो सबै बिर्सिएर कांग्रेसले शान्तिको नेतृत्व लियो र यो संविधान बन्यो ।’

यो संविधान कमजोर हुँदा अहिले नारा लगाउनेहरू विलुप्त हुने र मूलधारको राजनीतिमा रहेकाहरू असन्तुष्ट भई मुलुक हिंसामा जाने तर्क गर्दै भने, ‘यो संविधानलाई कमजोर बनाउने भनेको गाउँघरका जनतालाई हिंसाको चपेटामा धकेल्नु हो ।’ नेता खाणले इतिहासका कालखण्डमा वीपी कोइराला, गिरिजाप्रसाद कोइराला देशकै खम्बा भएर उभिएको चर्चा गर्दै भने, ‘कांग्रेसको सभापति हुनु भनेको त्यो विरासतलाई धानेर मुलुककै खम्बा हुनु हो ।’ कांग्रेसका कार्यकर्तालाई आफ्नो आदर्शका रूपमा रहेका राष्ट्रियता, लोकतन्त्र र समाजवादप्रति प्रतिबद्ध भएर काम गर्न र संगठनलाई बलियो बनाउन अपिल गर्दै उनले भने, ‘गठबन्धन गर्ने कुरा बहसकै विषय हुनु हुँदैन ।’

नेपाली कांग्रेस दाङ क्षेत्र नं. २ (२) का सभापति अभियान बस्नेतको सभापतित्व तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री खाणको प्रमुख आतिथ्यतामा तेस्रो सम्मेलन सम्पन्न भएको हो । सम्मेलनको उद्घाटन कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य कृष्णकिशोर घिमिरेले पार्टी संगठनलाई सशक्त र बलियो बनाउन नेता तथा कार्यकर्ता लाग्नु पर्ने बताए । उनले वर्तमान समयमा जनताको भावना बुझेर नेताहरू अघि बढ्नु पर्ने बताए । अर्का वक्ता नेपाली कांग्रेसका केन्द्रीय सदस्य योगेन्द्र चौधरीले कांग्रेसले गरेका राम्रा कामबारे जनतालाई बुझाउन आवश्यक रहेको बताए ।

अहिलेको समयमा राजनीतिक दलप्रति जनताको नकारात्मक भावनाको विकास भएको भन्दै युवा पुस्तामा विकास भएको नकारात्मक भावनालाई हटाउने गरी कांग्रेस लाग्नु पर्ने बताए । त्यसका लागि पार्टीका सबै तहका नेता तथा कार्यकर्ता लाग्नु पर्ने बताएका थिए । यसैगरी अर्का कांग्रेसका केन्द्रीय सदस्य गेहेन्द्र गिरीले पार्टी संगठनका लागि सबै तहका नेता तथा कार्यकर्ताहरू इमानदार रूपमा लाग्नु पर्ने बताए । समान रूपमा सबैले अवसर प्राप्त गर्नुपर्ने भन्दै नेता गिरीले पार्टीमा व्यक्तिगत चाहना त्यागेर लाग्नु पर्ने बताए ।

सम्मेलनमा बोल्ने अन्य वक्ताले वर्तमान समयमा कांग्रेसका प्रतिस्पर्धीहरू बढेकाले संगठनलाई थप सशक्त एवम् चलायमान बनाउँदै अघि बढ्नुपर्ने बताए । त्यसका लागि पार्टीमा गुट उपगुटको अन्त्य गर्दै सबै तहका नेता तथा कार्यकर्ताहरू संगठन निर्माणमा लाग्नु पर्ने बताए । व्यक्तिगत महत्वाकाङ्क्षाका कारण पार्टी कमजोर हुने भन्दै सहभागी वक्ताले संगठनका लागि व्यक्तिगत स्वार्थभन्द माथि उठेर नेता तथा कार्यकर्ताहरू लाग्नु पर्ने बताएका थिए ।

सम्मेलनमा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका उपसभापति तथा प्रदेश सभा सदस्य राजु खनाल, नेपाली कांग्रेस लुम्बिनी प्रदेश सहमहामन्त्री खगराज पाण्डे, नेपाली कांग्रेस लुम्बिनी प्रदेशका प्रवक्ता तथा उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपाने, नेपाली कांग्रेस दाङका सभापति शंकरप्रसाद डाँगी, नेपाली कांग्रेस दाङका पूर्व जिल्ला सभापति घनश्याम रेग्मी, नेपाली कांग्रेस महासमिति सदस्यहरू भुपबहादुर डाँगी, किरणकिशोर घिमिरे, महाधिवेशन प्रतिनिधि बद्री खड्का, नेपाल महिला संघ दाङकी अध्यक्ष तथा महाधिवेशन प्रतिनिधि गोमा रावत, तरुण दल दाङका अध्यक्ष तथा महाधिवेशन प्रतिनिधि टीका घर्ती, नेपाली कांग्रेस क्षेत्र नं. २ का क्षेत्रीय सभापति भीमप्रकाश खड्का, नेपाली कांग्रेस क्षेत्र नं. २ (१) का सभापति प्रकाश श्रेष्ठ, पत्रकार महासंघका निवर्तमान अध्यक्ष विपुल पोख्रेल, नेपाली कांग्रेस घोराही नगर सभापति तिलक रावत, नेपाली कांग्रेस घोराही उपमहानगरपालिका–९ का सभापति महेन्द्र दाहाल, कांग्रेस घोराही–१० का सभापति देवबहादुर वली, कांग्रेस तुलसीपुर–१८ सभापति वीरेन्द्र खड्कालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

सम्मेलनमा नेपाली कांग्रेसको संगठन निर्माणमा सहयोग गर्ने सम्मानित घोराही उपमहनगरपालिका–१२ निवासी लक्ष्य चुनारा र सुन्या चौधरी, घोराही–११ का चित्रसिंह गन्धर्व, घोराही–८ का रेशमबहादुर बस्नेत र गीरबहादुर केसी, तुलसीपुर–१७ निवासी घनश्याम चौधरी, घोराही–६ निवासी रुपबहादुर रावत र बमबहादुर डिसी, तुलसीपुर–१८ का डिल्लीबहादुर डाँगी, तुलसीपुर–१६ का टीकाराम चौधरीलाई सम्मान गरिएको थियो । यसैगरी सम्मेलनमा वडा कार्यालय भवन निर्माणका लागि जग्गा दान गर्ने घोराही–९ निवासी विन्दु शाहलाई पनि सम्मान गरिएको थियो ।

सम्मेलनमा नेपाली कांग्रेस दाङ क्षेत्र नं. २ (२) ले आफ्नो वडा अन्तर्गत विभिन्न वडामा सञ्चालन गरेको प्रशिक्षण कार्यक्रममा प्रशिक्षकका रूपमा सहयोग गर्ने विभिन्न व्यक्तित्वलाई सम्मान गरेको छ । जसमा नेपाली कांग्रेस दाङका नेता तथा पूर्व लुम्बिनी प्रदेश सभा सदस्य शंकर गिरी, नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष विपुल पोख्रेल, पत्रकार महासंघ दाङ शाखा पूर्वअध्यक्ष एवम् नेपाल प्रेस युनियनका लुम्बिनी प्रदेश अध्यक्ष डा. सुदीप गौतम, प्रध्यापक डा. विनबहादुरसिं वली, नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य जानुका केसी, महाधिवेशन प्रतिनिधि बिमला योगी, नेताहरू गोविन्दप्रसाद न्यौपाने, बमबहादुर डिसी र विष्णु शर्मा रहेका छन् ।

सम्मेलनमा प्रदेश सभा समितिले मरणेपरान्त सम्मानका रूपमा घोराही–९ निवासी जनक सेन ठकुरी र घोराही–११ निवासी फागु चौधरीलाई सम्मान गरेको थियो । कार्यक्रममा नेपाली कांग्रेस प्रदेश सभा क्षेत्रीय कार्यसमिति दाङ २२ को सम्मेलन डायरीको विमोचन प्रमुख अतिथि खाणले गरेका थिए । डायरीको समीक्षा पत्रकार आदिम केसीले गरेका थिए । सम्मेलनमा सचिव तिलक केसीले साङ्गठनिक प्रतिवेदन र कोषाध्यक्ष आशाराम नेपाली (शंकर)ले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उपसभापति ज्ञानबहादुर केसीको स्वागत मन्तव्यबाट सुरु भएको सम्मेलनको सहजीकरण सचिव प्रह्लाद देवकोटाले गरेका थिए ।