विचारका आधारमा अबको नेतृत्व : मन्त्री पौडेल

बालाराम खड्का
तुलसीपुर, १० चैत्र । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले गुटभन्दा विचारका आधारमा कार्यकर्ताले अबको नेतृत्व चयन गर्नुपर्ने बताएका छन् । नेपाली कांग्रेस क्षेत्र नम्बर ३ (ख) को तेस्रो सम्मेलनलाई शनिवार शान्तिनगरमा सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका पौडेलले पार्टीलाई जनताको लोकप्रिय र संगठित बनाउन विचारमा आधारित नेतृत्व आवश्यक रहेको बताएका हुन् ।

निर्वाचनका क्रममा गुट बने पनि त्यसको असर पार्टीमा देखिन नहुने भन्दै कार्यक्रमका प्रमुख अतिथि पौडेलले पार्टी गुटका आधारमा नभई राष्ट्रिय आवश्यकता र समाधानका उपाय खोज्न सक्ने नेतृत्व चयन गर्नुपर्ने बताए । ‘नेपालको आवश्यकता, नेपालको समस्या र समाधानका उपाय पहिचान गर्दै समाधान गर्न सक्ने नेतृत्व पार्टीलाई आवश्यक छ’, मन्त्री पौडेलले भने, ‘त्यसैले अब कार्यकर्ताले पार्टीमा गुटभन्दा माथि उठेर पार्टी हाँक्न सक्ने योग्य नेतालाई महाधिवेशनमा जिताउनु पर्छ ।’

वीपी कोइरालाको युगको स्मरण गर्दै, त्यस बेला कांग्रेसले ७४ सिट जितेको र कम्युनिस्टहरू केवल चार सिटमा सीमित रहेको तथ्य औल्याउँदै मन्त्री पौडेलले पार्टीमा शक्तिशाली नेतृत्व विकास गर्दै एकता कायम गर्न सके कांग्रेसलाई कसैले हराउन नसक्ने बताए ।

बढ्दो स्वास्थ्य समस्याहरूप्रति नागरिक सचेत हुनुपर्ने बताउँदै मन्त्री पौडेलले बिरामीको सङ्ख्या बढ्दै गइरहेको अवस्थामा नागरिकले आफ्नो स्वास्थ्यप्रति बढी जागरुक हुन आवश्यक रहेको बताए । स्वास्थ्य मन्त्रालयले अब विद्यालय तहमा स्वास्थ्य शिक्षालाई अनिवार्य बनाउने तयारी गरिरहेको भन्दै भने, ‘अब हरेक नागरिकलाई स्वास्थ्यका बारेमा सचेत बनाउनुपर्छ ।

त्यसका लागि विद्यालय तहमा स्वास्थ्य शिक्षालाई अनिवार्य रूपमा लागु गर्ने गरी तयारी भइरहेको छ ।’ बिरामीको सङ्ख्या यसरी नै बढ्दै गए राज्यले सबैको उपचार खर्च थेग्न सक्ने भन्दै मन्त्री पौडेल पार्टी कार्यकर्तालाई स्वास्थ्य जागरण अभियानमा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरे । मन्त्री पौडेलले कार्यकर्तालाई गाउँ, टोल र वडाहरूमा स्वास्थ्य चेतना कार्यक्रम सञ्चालन गर्न निर्देशन समेत दिए ।

कार्यक्रममा विशिष्ट आतिथि नेपाली कांग्रेस दाङका सभापति शंकर डाँगीले नेपाली कांग्रेसको संगठन बलियो बनाउनतर्फ सबै एकतृत भएर लाग्नुपर्र्ने बताए । उनले गाउँ तहदेखि नै कांग्रेसलाई बलियो बनाउन सबै लाग्नु पर्नेमा जोड दिएका थिए । यसैगरी कार्यक्रममा नेपाली कांग्रेसका नेता शंकर गिरी, केशव आचार्य, भरत केसी, जिल्ला सहसचिव सुवोधकुमार डाँगी, राजु आचार्य, क्षेत्रीय सभापति जगतबहादुर खड्कालगायले नेपाली कांग्रेसलाई वडा तह स्तरबाटै बलियो बनाउनतर्फ लाग्नु पर्ने बताएका थिए ।

कार्यक्रममा महाधिवेशन प्रतिनिधिहरू सुशीला सुवेदी, जोगेन्द्र विश्वकर्मा, सुष्मा गिरी, नहकुल केसी, देविका नेपाली, केवलापती चौधरी, टीका घर्तीलगायतले बोलको थिए । यसैगरी नेपाली कांग्रेस बबईका सभापति प्रकाश बस्नेत, बबई गाउँपालिका अध्यक्ष कुलबहादुर खत्री, शान्तिनगर गाउँपालिका अध्यक्ष प्रमोद बस्नेत, दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरी, नेपाली कांग्रेस शान्तिनगर गाउँपालिका अध्यक्ष झलक केसीलगायले गाउँपालिकामा १५ श्ययाको अस्पताल स्थापना भए पनि आवश्यक जनशक्ति तथा मेसिन, औजार नभएको भन्दै त्यसको व्यवस्था गरिदिन स्वास्थ्य मन्त्रीलाई आग्रह गरेका थिए ।

कार्यक्रममा बोल्ने अधिकांश वक्ताले स्वास्थ्य मन्त्रीलाई स्वास्थ्य सुधारका विषयमा सुझाएका थिए । नेपाली कांग्रेस प्रदेश सभा क्षेत्रीय कार्यसमिति क्षेत्र नं. ३ (ख) दाङका उपसभापति द्रोण देवकोटाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा संगठनिक प्रतिवेदन सचिव लेवाराम आचार्यले प्रस्तुत गरेका थिए भने आर्थिक प्रतिवेदन टोपेन्द्रा खड्काले प्रस्तुत गरेकी थिइन् । कार्यक्रमको सहजीकरण नेपाली कांग्रेस प्रदेश सभा क्षेत्रीय कार्यसमिति क्षेत्र नं. ३ (ख) दाङका सचिव भद्रबहादुर खड्काले गरेका थिए ।