तुलसीपुर, १० चैत्र । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले नेपाल नेत्रज्योति संघले सञ्चालन गरेका आँखा अस्पतालहरूले दिएको सेवा प्रभावकारी तथा गुणस्तरीय भएको बताएका छन् ।
नेपाल नेत्रज्योति संघ, राप्ती आँखा अस्पतालले अस्पतालमै आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री पौडेलले नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगन्जले तीनवटा आँखा अस्पताल सञ्चालन गरेको र सबै अस्पतालले दिएका सेवा प्रभावकारी भएको बताए । ‘आँखाको क्षेत्रमा तपाईँहरूले दिएको सेवा प्रभावकारी छ, मैले अस्पताल अवलोकण पनि गरेँ, सवै कुरा राम्रो छ’, स्वाथ्यमन्त्री पौडेलले भने । अस्पतालमा जनशक्ति व्यवस्थापनदेखि भौतिक पूर्वाधारका लागि हुनसक्ने सहयोग गर्ने प्रतिबद्धाता व्यक्त गरे ।
‘तपाईहरूले अस्पतालको डिपिआर तयार पार्नुभएको छ, त्यसलाई नेपाल सरकारको तर्फबाट बहुवर्षीय योजनामा पार्ने गरी पहल गर्नेछु’, उनले भने । राज्यले गर्न नसकेको काम नेपाल नेत्रज्योति संघले गरेको बताउँदै मन्त्री पौडेलले आँखा जस्तो संवेदनशील अङ्गको उपचार सेवामा नेत्र ज्योति संघको योगदान महत्वपूर्ण भएको बताए ।
नेपाल नेत्रज्योति संघ अन्तर्गत सञ्चालित अस्पतालहरू गैरसरकारी भए पनि सामुदायिक अस्पताल सरह भएको भन्दै अस्पतालमा प्रयोग हुने चश्मा, औषधीमा लाग्ने भ्याट छुटमा स्वास्थ्य मन्त्रालयले सहयोग गर्ने मन्त्री पौडेलले बताए । ‘अस्पतालमा चश्मा, औषधीदेखि अन्य मेसिन तथा औजार खरिदमा भन्सार छुटको पहल हुन्छ’, मन्त्री पौडेलले भने । नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगन्ज अन्तर्गत सञ्चालित आँखा अस्पतालहरूमा नेपालका तथा छिमेकी देशका नागरिकले समेत आँखा स्वास्थ्य सेवा पाएको बताए । ‘पटकपटक जनशक्तिका लागि यहाँहरूले पहल गरी रहनुभएको छ, सोही अनुरूप नेत्र विशेषज्ञहरू कसरी व्यवस्थापन गर्ने भन्नेमा हामी लागेका छौँ’, उनले भने ।
कार्यक्रममा आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा नेपाल नेत्रज्योति संघ दाङका सभापति कृष्णकुमार गिरीले नेपाल सरकारले दिने सेवा आफूहरूले दिएर नेपाल सरकारलाई सहयोग गरेको बताए । उनले आफूहरूले सेवा दिँदै आएको र नेत्रविशेषज्ञहरूको अभाव भएको भन्दै नेपाल सरकारले नेत्रविशेषज्ञ उपलब्ध गराएर सहयोग गर्नुपर्ने बताए ।
‘हामी आम नागरिकको सेवामा तत्पर छौँ, तपाईँहरूले नेत्रविशेषज्ञको व्यवस्थापन गरिदिनुहोस्, जनताको सेवा हामी गर्छौँ’, अध्यक्ष गिरीले भने । उनले नेपाल नेत्रज्योति संघले देशभर आँखा स्वास्थ्य सेवा प्रवाह गरेको भन्दै स्वास्थ्य मन्त्रीसँग विभिन्न समयमा भेटघाट तथा छलफल गरी आँखा स्वास्थ्य सेवा प्रभावकारी बनाउनतर्फ आफूहरू लागिपरेको बताए । अध्यक्ष गिरले छोटो समयमा पनि कार्यक्रममा उपस्थित भई अस्पतालको अवलोकन गरेकोमा धन्यवाद दिएका थिए ।
कार्यक्रममा आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगन्जका प्रमुख प्रशासक डा. सम्शेर थापाले नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगन्जले स्थापनाकालदेखि गर्दै आएको सेवा, भावि योजना र नेपालमा अन्धोपनको अवस्थाबारे जानकारी गराएका थिए । डा. थापाले आँखा स्वास्थ्य कार्यक्रमले दृष्टिविहिन्ता न्यूनीकरणमा गरेका गतिविधि, सहकार्य र अस्पतालको आगामी गुरुयोजनाबारे कार्यक्रममा जानकारी गराएका थिए ।
नेपाल नेत्रज्योति संघ दाङका सभापति कृष्णकुमार गिरीको अध्यक्षता तथा स्वास्थ्य मन्त्री प्रदीप पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाल नेत्रज्योति संघ दाङका उपसभापति रेशमबहादुर खड्काले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण सचिव घनश्याम सुवेदीले गरेका थिए । सो अवसरमा स्वास्थ्य मन्त्री पौडेलले अस्पातलको अवलोकन तथा निरीक्षण गरेका थिए भने अस्पतालको विकास र विस्तारका लागि मागपत्र समेत पेस गरिएको थियो ।