योगदानमा आधारित स्वास्थ्य बिमा विकास गर्नुको विकल्प छैन : मन्त्री पौडेल

घोराही, १० चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नागरिकको योगदानमा आधारित स्वास्थ्य बिमा प्रणालीको विकास गर्नुको विकल्प नरहेको बताउनुभएको छ ।

नेपाली कांग्रेस दाङले आइतवार घोराहीमा आयोजना गरेको भेटघाट कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री पौडेलले स्वास्थ्य बिमालाई प्रभावकारी बनाउँदै जनतालाई गुणस्तरीय सेवा दिनका लागि योगदानमा आधारित स्वास्थ्य बिमा प्रणालीको आवश्यकता रहेको बताउनुभएको हो ।

अहिलेको अवस्थामा सरकारले मात्रै लागनी गरेर जनतालाई बिमा सेवालाई निरन्तरता दिन सक्ने अवस्था नरहेको भन्दै मन्त्री पौडेलले निजी क्षेत्रलगायतका सहयोग आवश्यक रहेको बताउनुभयो । सरकारसँगै बिमामा सुर्ती र मदिराबाट उठ्ने करको ५० प्रतिशत रकम, सरकारी क्षेत्र र विभिन्न संघसस्थामा काम गर्नेहरुले दुई प्रतिशत बिमा बोर्डमा जग्मा गर्न सक्ने अवस्था भए अहिले बिमा क्षेत्रमा देखिएको समस्या हट्ने र सेवालाई प्रभावकारी बनाउन सकिने बताउनुभएको हो ।

सरकारले बिमाका लागि छुट्याउने रकमको दोव्वर तेब्बरले खर्च बढेको र अहिलेको अवस्थामा खर्चले धान्न नसक्ने अवस्था भएकाले सरकारले योगदानमा आधारित स्वास्थ्य बिमा प्रणालीलाई अघि सारेको बताउनुभयो । बिमाको रकम भुक्तानी दावी गरिदा बेथिति रहेको गुनासो आउने गरेको भन्दै त्यसमा सुधारको आवश्यकता रहेको भन्दै मन्त्री पौडेलले भन्नुभयो,‘स्वास्थ्य बिमाका क्षेत्रमा केही विकृति भएको र उपचार नै नगरेर भुक्तानी माग्ने गरेको गुनासो आउने गरेको छ । त्यस्तो भएको पाइए कारवाही हुने छ ।’

मन्त्री पौडेलले जनताको पहिलो आवश्यकता स्वास्थ्य सेवा भएको भन्दै अस्पतालले नागरिकलाई गुणस्तरीय सेवा प्रदान गर्न ध्यानदिनुपर्ने बताउनुभयो । सरकारी अस्पतालको भौतिक सुधारसँगै उपकरण र जनशक्ति व्यवस्थापन आफ्नो मुख्य प्राथमिकता रहेको भन्दै मन्त्री पौडेलले अस्पतालको फार्मेसीमा औषधी नराख्ने, सरकारी अस्पतालबाट दिने सेवा बिरामीलाई बाहिर रिफर गर्ने गरेको पाइए कडा कारवाही हुने बताउनुभएको थियो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहनुभएका मन्त्री पौडेलले वर्तमान सरकारले जनतालाई उपलव्धीको महसुस गराउन नसके ८४ सालको निर्वाचनमा अप्ठेरो पर्ने बताउनुभयो । देशका प्रमुख दुई पार्टी नेपाली काग्रेस र एमाले मिलेर सरकार बनेको र सरकारले जनतालाई परिवर्तनको महसुस गराउने गरि काम गर्ने प्रयत्न गरिरहेको बताउनुभयो । सरकारले दिने सेवाभन्दा जनताले चाहेको विकास बढी भएको भन्दै मन्त्री पौडेलले भन्नुभयो,‘जनताले परिवर्तनको महसुस खोजिरहेका छन् ।

परिवर्तनको अनुभुति सरकारले जनतालाई गराउन सकिन भने ८४ मा हुने निर्वाचनमा अप्ठेरो पर्न सक्छ,हामीले त्यहाँ ध्यान दिन आवश्यक छ ।’ नेपाली कांग्रेस दाङका सभापति शंकरप्रसाद डाँगीको सभापतित्वमा भएको कार्यक्रममा मन्त्री पौडेलले पहिलेको तुलनामा अहिले प्रतिष्पर्धी बढेकाले पाटीलाई तल्लो तहदेखि नै संगठित बनाउने र नेता कार्यकर्ताहरु जनताको चाहनालाई बुझेर अघि बढ्नुपर्ने बताउनुभयो । उपसभापति कमानसिंह भारतीको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सहजीकरण अर्का उपसभापति गिरिराज सुवेदीले गरेका थिए । कार्यक्रमको सहजीकरण सचिव बालिका लम्सालले गरेकी थिइन ।