पानीको अभाव र प्रदूषणको भण्डार

के. पी. सुवेदी

‘पानी जीवन हो, यसको सदुपयोग गरौ’ पानी मानिसको लागि त छँदैछ, सजीवहरुकै लागि अत्यावश्यक तङ्खव हो । पानीरहित जीवनको कल्पना गर्नै सकिन्न ।

प्रकृतिमा रहेका सबै प्राणीको जीवनदिने पदार्थ पानीका स्रोत आज मानिसकै कारणले घट्दै गइरहेका छन् र त्यसको मार सबै प्राणी जगतलाई परेको छ । प्रकृतिमा स्थायी रुपमा रहने जीवनचक्र भत्काएर दखल दिने भनेको मानिस मात्र हो । किनभने मानिस नै विवेकशील भएकाले बनाउन वा भत्काउन आफ्नो विवेकको प्रयोग गर्छ ।

त्यसैले मानिस नै यी सबै कुराको प्रमुख जिम्मेवार भएकोले जलवायु परिवर्तनदेखि वातावरणीय असन्तुलनसम्मका मानव स्वास्थ्यका प्रतिकूलता आफ्नै कारणले जन्मेको हो । पानीको अभाव दिनदिनै बढ्दो छ, एकातिर भने अर्कातिर शुद्ध पानीको अभावबाट धेरै मानिसको स्वास्थ्य जोखिम कायमै छ । विश्वस्वास्थ्य संगठनको पर्यावरण सङ्कायले सरोकार राख्ने पानी भन्ने मानिसको अभिन्न अङ्गको रुपमा परिभाषित गरेको शुद्ध पिउने पानी सबैका लागि हुनुपर्छ भन्दै सन् १९९३ मा जलस्रोतको विश्वमै सबैभन्दा धनी मुलुक ब्राजिलमा विश्वसम्मेलन भएको थियो ।

विश्वका प्राकृतिक सम्पदासूची अन्तर्गत जलसम्पदामा नेपाल दोस्रो धनी मुलुक हो भनिन्छ । तैपनि भौगोलिक विकटताले पानीको चरम अभाव झेलिरहेका ठाउँहरु छन् । अग्ला पहाडमा अवस्थित गाउँबस्तीमा नजिकमा पानीका स्रोतहरु नभएका कारण दुर्लभ रहेका छन् । विद्युतीय उपकरणको सहायताले तानेर सम्भव हुने ठाउँमा पु¥याइएको छ र बाँकी ठाउँहरुमा काम गर्न सुरु भएको छ । माथि चर्चा गरिए झैँ पानीका स्रोतहरु घट्नेक्रम रोकिएको छैन । यसको मुख्य कारण विकासको नाममा माटो खोतलेर पहिरो हाल्ने कारणले हो ।

सबैलाई घरघरमा बाटो चाहिएको छ । अज्ञानबस हामी जमिनलाई खुकुलो हुने गरी बुलडोजर चलाउने कारणले माटो बगेर पानीको मूलहरु भासिएका छन् । यसैगरी जलवायु परिवर्तनले घामपानीको आवृत्ति असन्तुलित हुँदै गएको छ । वर्षा कि हुँदै हुन्न भयो भने बाढी पहिरोले तहसनहस गर्छ । जसरी पनि वातावरणीय प्रतिकूलता मानिसमाथि बज्रेको छ । सहरहरु प्रदूषित भएका छन् । हुन त गाउँबस्तीहरु पनि प्रदूषणबाट मुक्त छैनन् तर तिनीहरुको लेखो गरिन्न ।

कारण प्रस्टैछ त्यहाँ भुइँमान्छेको वासस्थान हुन्छ । सहरहरुमा अझ खास गरी राजधानीमा विशिष्ट व्यक्तिगरु बस्ने भएर होला काठमाडौं र दिल्लीको कुरा सुनिन्छ । प्रदूषित मध्यका थोरै सङ्ख्याकै बिचमा यिनीहरुको नाम उच्चारण गरिन्छन् । यही याममा पानीको अभाव हुन्छ । त्यसैमा वनमा आगो लागेर वनजङ्गल खरानी हुन्छ । बस्तीहरुमा आगो लाग्यो भने समयमै आगो नियन्त्रणमा लिन न दमकल हुन्छ न पनी ।

वातावरणीय प्रदूषण दिनदिनै बढ्दो क्रममा छ । मानिसले उत्पादन गरेको प्रदूषण मानिसकै समस्या बनेको भए तापनि यसबाट पाठ सिक्ने बानी झटपट विकास नहुने रहेछ । मानिसले उत्सर्जन गरेको वस्तुले स्वयम्लाई हानी गरिरहेको हुन्छ । यो क्रम जनसङ्ख्या वृद्धिसँगै फोहरका स्रोतहरु पनि बढिरहेका कारण दिन प्रतिदिन जटिल समस्या बनेर मानव स्वास्थ्य घेरिएको छ । स्थानीय स्रोतबाट उत्पन्न धुलोका कणहरु र धुवाँ वायुमण्डलमा मिसिएर जताततै फैलिने हुँदा एक ठाउँमा उत्पादित धुलो र धुवाँले व्यापक रुपमा असर गरिरहेको हुन्छ ।

आजभोलि वायुमण्डल कति धुलाम्य छ भनेर अनुमान गर्न चिल्ला सतह भएका वस्तुमा टाँसिएको धुलोको तहलाई हेरेर अनुमान गर्न सकिन्छ । त्यस्तै अर्को उदाहरणलाई लिऔँ ः बाहिर राखिएका सवारी साधन वा त्यस्तै वस्तुहरु राखी छोडेका बेला हल्का मात्र वर्षा हुँदा हिलोले छ्यापेझैँ हुन्छ । धेरै दिन पानी नपरेको अवस्थामा धेरै धुलो वायुमा बाक्लिएर त्यस्तो भएको हुनु स्वभाविक हुन्छ तर दुई÷चार घण्टा मात्र पानी नपर्दा वायुमा त्यति धेरै माटो थुप्रिनु स्वास्थ्यको दृष्टिले गम्भीर चुनौती बनेर उभिएको बुझ्नुपर्छ ।

धुलोको नियन्त्रण गर्न सके मात्र धेरै हदसम्म मानिसको स्वास्थ्यमा प्रदूषणको असरबाट लाग्ने श्वासप्रश्वास र छालामा देखिने समस्या धेरै नियन्त्रण हुनसक्छ । छाला चिलाउने, घाउ, खटिरा जस्ता बिरामीहरु पनि धुलोले हुनसक्ने भएकोले धुलोको मात्रा बढेसँगै घाउखटिरा आँखामा र एलर्जिक लक्षणहरु बढिरहेको पाइएको छ ।

धुलोबाहेक मानव स्वास्थ्यमा समस्या ल्याइदिने प्रदूषणका अनेकानेक स्रोतहरु छन् । केही नजानेर व्यवस्थित हुन सकेका छैनन् भने कति जानेर पनि बाध्यताले हुने, जस्तै धुवाँ, जथाभावी असुरक्षित प्रयोग गर्दा हावामा तैरिरहेका विभिन्न रसायनहरु, सडेगलेका वस्तुबाट निस्कने दुर्गन्धयुक्त वायु र अनावश्यक उत्पादन भइरहेका ध्वनिप्रदूषणले पनि हाम्रो स्वास्थ्यमा समस्या ल्याइरहेका हुन्छन् । खास कुरा के हो भने जुन प्रदूषण नगरिकन विकासको उपभोग गर्न सकिन्छ त्यो पनि गर्न नखोज्नु या नचाहनु ठुलो समस्या हो । राज्य चलाउनेमा, प्रशासन चलाउने क्रममा या विवेकीय प्रयोग गर्नुपर्ने नागरिक तहमा जहाँ पनि जिम्मेवारीबोध कम भइरहेको छ ।

राम्रो कामको सुरुवात जसले गरे पनि त्यसलाई सबैले साथ दिनु अनिवार्य हुन्छ । सके आफैँले सुरु गरौँ नसके अरुले गरेकोमा अर्थपूर्ण सहयोग गरेर त्यसको स्वामित्व ग्रहण गर्ने विवेक प्रदर्शन गरौँ । धुलोको प्रदूषणले ग्रस्त हामी दङाली सिमेन्ट उद्योग बनाउँदा ध्यान पु¥याउन नसक्दा पछुताउनु परेकै छ । अब जहाँसुकै टिप्परहरु चलाउने तर त्यसले मापदण्ड पूरा गरेको नगरेको कसैले वास्ता नगर्ने, व्यवसायीहरु आफ्नो व्यवसाय गर्दा जनसाधारणको स्वास्थ्यमा अथवा वातावरणीय प्रतिकूलता हुन्छ कि भन्ने किन्चित जिम्मेदारीबोध नहुने हो भने त्यसले अराजकता ल्याउने गर्छ ।

यो असभ्यताको एउटो उदाहरण हो । हतारमा निर्णय गर्ने, फुर्सतमा पछुताउने मानिसको जात हो भनिन्छ । सबै उपभोग र उपयोग विवेकसङ्गत हुनुपर्छ । पानीको उपभोगमा अझ धेरै विवेक प्रयोग हुन जरुरी छ । किनभने पानीको अभावमा हामी र हाम्रो पर्यावरणीय परिवेश फोहर एवम् प्रदूषित हुन्छ ।