प्रदेश ५ पनि पस्यो कोरोना, सील गरेर नियन्त्रणको प्रयास

घोराही २० वैशाख । प्रदेश नं. ५का रुपन्देही र बाँकेमा कोरोना संक्रमित व्यक्ति भेटिएपछि ति दुबै जिल्लाका संक्रमित भेटिएका गाँउहरुलाई सील गरिदै छ । कोरोना संक्रमण फैलिन नदिन स्थानीय प्रशासनले शुक्रबार साँझदेखि ती इलाकामा आउ-जाउ गर्न नदिएर निगरानी बढाइसकेको छ भने पूर्ण रुपमा सील गर्ने रणनीति अपनाइदै गरेको जानकारी पनि दिएको छ । संक्रमित देखिए लगत्तै शुक्रबारदेखि नै रुपन्देहीको कोटहीमाई गाउँपालिकाको एउटा गाउँ र बाँकेको नेपालगन्जका तीनवटा क्षेत्रमा आउजाउ बन्द गरिएको छ ।

रुपन्देहीको काटहिमाई बडा नं.१ को पूर्निहवामा २५ वर्षीय एक युवकमा संक्रमण देखिएको छ । ‘कोटहिमाई वडा नंं. १ को पुर्निहवामा आउ-जाउ गर्न बन्द गरिएको छ’-रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक हेमकुमार थापाले भने ।

त्यसैगरी ती युवकलाई भारतीय सिमासम्म लिन गएका उनका दाजुलाई शुक्रबार नै क्वारेन्टाइनमा पठाइएको छ र परिवारका अरु ६ जनालाई पनि आज शनिबार क्वारेन्टाइनमा पठाइएको छ । उनीहरु सबैको स्वास्थ्य परीक्षण हुने एसपी थापाले बताए । संक्रमित युवक दिल्लीबाट ट्रक चढेर र पैदल हिँडेर रुपन्देहीको मर्चवारस्थित ठोठरी नाका हुँदै घरसम्म आइपुगेका थिए ।

यस्तै नेपालगन्ज उपमहानगरपालिका वडा नंं। ८ स्थित २ वटा मस्जिद क्षेत्रलाई सीलबन्दी गरिएको छ । नेपालगन्जको वडा नंं. ८ स्थित अन्सारी मस्जिद र वडा नं। १ धम्बोजीमा रहेको मस्जिद एरिया सील गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिएका छन् ।

बाँकेमा संक्रमित ६० वर्षीय पुरुष वडा नंं। ८ को डिएसपी रोड महेन्द्र पार्क क्षेत्रमा बस्दै आएका थिए । उनी हरेक दिन अन्सारी मस्जिदमा आउने-जाने गर्दथे । उनी आउ-जाउ गर्ने क्रममा थुप्रै व्यक्तिहरुको सम्पर्कमा पुगेको हुनसक्ने अनुमानमा सो क्षेत्र सील गरिएको प्रहरीले जनाएको छ ।

नेपालगञ्ज धम्बोजीका अर्का एक युवकमा पनि कोरोना संक्रमणको आशंका गरिएपछि धम्बोजीको मस्जिद क्षेत्र पनि सील गरिएको हो ।

बाँकेको डडुवा गाउँपालिकाका ती युवक केही वर्षदेखि धम्बोजीस्थित मस्जिदमा बस्दै आएका थिए । संक्रमित ६० वर्षीय वृद्धसहित उनलाई पनि खजुरास्थित सुशील कोइराला क्यान्सर अस्पतालमा रहेको आइसोलसनमा राखिएको छ । ६० वर्षीय पुरुष भारतको बहराइचबाट एक महिनाअघि नेपालगन्ज आएका थिए ।

युवकको बिहीबार स्वाब संकलन गरी जाँच गरिए पनि रिपोर्ट आउन बाँकी रहेको प्रदेश ५ जनस्वास्थ्य प्रयोगशालाका प्रमुख डा। राजेन्द्र गिरीले जानकारी दिए ।