खेमराज रिजाल
तुलसीपुर, १९ बैसाख । तुलसीपुर उपमहानगरपालिका—९ कैलाशनगर टोलमा डेरा लिएर बस्ने मजदुर शुष्मा नेपालीको परिवार शुक्रवार पातुखोलामा बालुवा खेरिरहेको छ । छोराछोरी र एकजना भाञ्जीसहित सल्यानबाट दाङ झरेर मज्दुरी गरी छोराछोरी पाल्दै आएको शुष्माको परिवारका चार जनाले पातुखोलामा बालुवा कोट्याइरहेका छन् । बाल श्रमिकबारे उनको परिवारलाई थाहै छैन, जसले जे सक्छन्, त्यही गर्छन् । ८ वर्षीय छोराले पनि बेल्चा तानिरहेका छन् । उनका भाइ पनि बोरामा बालुवा भरिरहेका छन् ।
‘एक महिनाभन्दा बढी त कामै नगरी कोठामै बसेका थियौँ, हिंजो साँझ घरबेटीले भाडा मागेपछि त्यसको जोहो गर्न पातुखोलामा बालुवा खेर्न आयौँ’, बेल्चा बिसाउँदै शुष्माले भनिन् । सँगै उनका श्रीमान् प्रकाश नेपाली पनि बालुवा भरिएको बोरा उठाउँदै थिए । दुई साता अघि उनको परिवारले तीस किलो चामलसहित राहत पनि पाएको थियो, तर एक सातामै सकियो । ‘जम्मा भएको पैसा सकियो, राहत पनि सकियो, कोरोनाको कहर भन्दा पनि लालाबालाको भोको पेटले खोलामा डो¥यायो’– प्रकाश नेपालीले भने । उनकै भनाइमा सधैँ राहत मागिरहेर पाइने होइन, त्यसैले काममा आएका हुन् उनका परिवार ।
लकडाउनको समयमा घरमा बसेर नियम पालना गर्ने उनीहरुलाई पनि लागेको थियो, तर चुलो बल्नै मुस्किल भएपछि उनीहरु काममा निस्के । उनीहरुका छोराछोरी बसपार्ककै ज्ञान ज्योति स्कूलमा पढ्छन् । अहिले स्कूल बिदा परेकाले आफूहरुसँगै काममा आएको पनि शुष्माले बताइन् । गाउँमा गरिखाने र छोराछोरी पढाउन सकस भएपछि उनीहरु कामका लागि तुलसीपुर झरेर केही वर्षदेखि यस्तै मज्दुरीले साँझ– विहानको जोहो गर्दै छन् ।
तारादेवी विक पनि दैनिक गिट्टी कुटेर परिवार पाल्ने श्रमिक हुन् । लकडाउनसँगै विकास निर्माणका काम समेत बन्द भएपछि उनको काम पनि रोकियो । हथौडाले फुटाएका गिट्टी पनि बिकेका छैनन् । त्यसैले पेशालाई बदली बालुवा खेर्न आएको बताइन् । मज्दुर दिवस उनलाई थाहा छैन, वरु लकडाउन थाहा थियो । ‘तपाइले भन्या दिवस त थाहा छैन, कोरोनाको लकडाउन भने थाहा थियो, तर भोको पेट घरभित्रै बसेर के गर्नु ?’– ताराले भनिन् ।
त्यसो त खोलामा बेल्चाले खेरेको बालुवा बेच्न पनि सहज छैन । पटक–पटक पुलिसको फन्दामा पर्छन्, उनीहरुलाई । खोलामा खेरेको बालुवालाई बोरामा राखेर अन्तै लगेर थुपार्छन् अनि प्रहरीको आँखा छलेर टेक्टरमा बेच्छन् । ‘भोको पेटमा लकडाउनमा कसरी बस्ने, पेटकै चिन्ताले काममा आयौँ’– ताराले भनिन् । उनी पनि सल्यानबाट ज्याला मज्दुरीका लागि तुलसीपुर झरेकी हुन् ।
शुष्मा र तारासँगै शारीरिक रुपमा अशक्त मनकली परियार पनि बालुवा खेरिरहेकी थिइन् । भाँचिएको खुट्टा अझै राम्रोसँग निको भएको छैन । तैपनि काम नगरी उनको गुजारा चल्दैन । ‘यही बेचेर दिनमा एक÷दुई सय कमाउने र त्यसैले दालभात खाने हो’–मनकलीले भनिन् । उनीहरु त असंगठित मज्दुरहरुका प्रतिनिधि पात्र मात्रै हुन्, पातुखोलामा यसरी गिट्टी र बालुवा खेरेर ज्यान पाल्नेहरु कम्तिमा दुई सयभन्दा बढी भएको तुलसीपुर अटोभिलेजका संयोजक टोपबहादुर महताराको अनुमान छ ।
आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम भन्ने नाराका साथ सुरु भएको अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै आए पनि यो वर्ष प्रायः विश्वभरका मजदुरहरु लकडाउनमा छन् । नेपालमै पनि लाखौँ यस्ता असंगठित मजदुरहरु विभिन्न क्षेत्रमा काम गर्दै आएका छन् । विश्वव्यापी कोरोना भाइरसको महामारीसँगै करिब डेढ महिनादेखि जारी लकडाउनले श्रमिकहरु कामका लागि आतुर छन् । सरकारले यस्ता असंगठित क्षेत्रका मजदुरहरुलाई पहिलो चरणको राहत प्याकेज अन्तर्गत केही खाद्यान्न उपलब्ध गराए पनि त्यो पर्याप्त हुन सकेको छैन । जहाँतहीँ गुनासाहरु छन् । मजदुरहरुले काम मागिरहेका छन् । तर लकडाउनका कारण यस्ता असंगठित मजदुरहरु अभिभावकविहीन बनेका छन् । श्रमिकहरु शारीरिक दूरी कायम गरेरै पनि काम गरी भोको पेट भर्नेमा आशावादी छन् । केहीले निजी क्षेत्रमा सुरु भएका घर निर्माणमा लुकिछिपी काम गरिरहेका पनि छन् । विकास निर्माणका योजनाहरु सुरु भए त्यसैमा काम पाइनेमा उनीहरु आशावादी छन् । तर उनीहरुको आशा पूरा हुने तयारी अझै देखिएको छैन । मजदुरहरुको एउटै आग्रह छ, आफूहरुलाई सुरक्षित भएर काम गर्न दिइयोस् ।
संघीय सरकारले राजधानीलगायतका विभिन्न सहरहरुबाट लकडाउनमा परेका असंगठित मजदुरहरुलाई घर फर्काउँदै उनीहरुलाई श्रममा लगाउन स्थानीय सरकारलाई निर्देशन दिएको एक साता भइसकेको छ । यद्यपि जिल्लामा यस्ता श्रमिकहरुलाई काममा लगाउने कुनै पनि योजना अझै कार्यान्वयनमा आउन सकेको छैन । तुलसीपुर र घोराही उपमहानगरपालिकाले यस्ता असंगठित मजदुरहरुलाई काम र काम नदिए राहत दिन श्रमिक बैंक सञ्चालन गरेको दाबी गरे पनि श्रमिकहरुले न काम पाएका छन्, न त दोस्रो चरणको राहत नै पाएका छन् ।