वनमा शून्य डढेलो बनाउन विगुल
खेमराज रिजाल
गढवा, ८ चैत । चैते हुरी सुरु भएसँगै वन क्षेत्रमा लाग्ने वन डढेलो रोक्न पञ्चेबाजासहित विगुल फुकिएको छ । विहीवार बिहानै राप्ती उपत्यकाको गढवा बजारमा स्थानीय सरकार, प्रदेश सरकार तथा वन डिभिजन र सरोकारवाला निकायले सचेतना ¥याली निकाले । ¥यालीमा सयौँ वन उपभोक्ताको सहभागिता थियो ।
‘वन डढेलो रोकौँ, वन जङ्गल र जैविक विविधताको संरक्षण गरौँ’ भन्ने मूलनाराका साथ वन तथा वातावरण मन्त्रालय लुम्बिनी प्रदेशको आयोजना तथा डिभिजन वन कार्यालय देउखुरी र गढवा गाउँपालिकाको सहआयोजनामा भएको ¥यालीपछिको सभामा सहभागीले शून्य डढेलोको अभियानलाई सार्थक बनाउने प्रतिबद्धता व्यक्त गरे । वनमा डढेलो लाग्दा वन मात्रै मासिँदैन, वनमा आश्रित हजारौँ जीव जलेर नष्ट हुने र यसले वातावरणीय सन्तुलनमा प्रतिकूल असर पार्ने भएकाले डढेलो रोक्न सबै नागरिकलाई सचेत बनाउन आग्रह गरिएको थियो ।
‘वनमा डढेलो लागेर नियन्त्रण गनर््ुभन्दा डढेलो लाग्नै नदिनुको कुनै विकल्प छैन, हामी सबै यसैमा मात्र लागौँ’, ¥यालीपछि आयोजित सभालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री देवकरण कलवारले भने । वनसँग रुखबिरुवा मात्र नभएर धेरै पशुपन्छी आश्रित रहेको स्मरण गर्दै जैविक विविधताको संरक्षणको एक मात्र विकल्प डढेलो लाग्न नदिनु भएको उनले प्रस्ट पारे ।
लुम्बिनी प्रदेश वन तथा वातावरण मन्त्रालयका निमित्त सचिव प्रभात सापकोटाको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेस सभा सदस्य इन्द्रजित थारूले मान्छेकै लापरवाहीका कारण वनमा डढेलो फैलने भन्दै मानिसको लापरवाहीपूर्ण जीवनशैली परिवर्तन हुनु आवश्यक रहेको बताए । ‘मान्छे बाहेकले वनमा डढेलो लगाउन सक्दैन’, प्रदेश सभा सदस्य थारूले भने, ‘यो विषयमा आम मानिस सचेत बनौँ ।’
गढवा गाउँपालिका अध्यक्ष यमनारायण पोख्रेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माले वन रहे पानी, पानी भए अन्न र अन्न भए मात्र जीवन रहने भएकाले अनावश्यक अन्धविश्वासमा परेर वनमा डढेलो लगाउनेप्रति सचेत रहन आम वन उपभोक्ता तथा आम नागरिकलाई आग्रह गरे । वन जोगाउनु सबैको साझा दायित्व भएको भन्दै उनले वनमा आगजनी फैलिएको खण्डमा यसलाई नियन्त्रण गर्न राज्यका निकाय तयारी अवस्थामा रहन आग्रह गरे । कार्यक्रममा बोल्दै लमही नगरपालिका प्रमुख जोगराज चौधरीले आम नागरिकमा जङ्गलप्रतिको फिलिङ हुनुपर्ने बताए । ‘कार्यक्रम गरेर मात्र पुग्दैन, आम नागरिकको मनमस्तिष्कमा जङ्गलप्रतिको फिलिङ हुनु आवश्यक छ’, नगर प्रमुख चौधरीले भने ।
कार्यक्रमका विशिष्ट अतिथि तथा दाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले एक्काइसौँ शताब्दीको चिन्तन भनेकै दिगो विकास लक्ष्य भएकाले वन तथा वातावरणीय सङ्कट जोगाउन वनमा शून्य डढेलोको अवस्था सिर्जना गर्नुपर्ने बताए । समुदायमा हस्तान्तरण गरेपछि नेपालका सामुदायिक वन साच्चै विश्व समुदायलाई प्रचार गर्ने लायकका भएको भन्दै प्रमुख जिल्ला अधिकारी लम्सालले ग्लोवन वार्मिङलाई कम गर्न पनि डढेलो नियन्त्रण अपरिहार्य भएको बताए । वनमा डढेलो लाग्दा खानेपानीमा सङ्कटदेखि जैविक विविधतामा ह्रास आउने भएकाले यसप्रति सचेत हुनु आवश्यक रहेको उनको अभिव्यक्ति थियो ।
कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ दाङका प्रवक्ता तीर्थराज ज्ञवाली, डिभिजन वन कार्यालय लमहीका प्रमुख महेन्द्रराज वाग्लेलगायतले वन डढेलो नियन्त्रणका सन्दर्भमा बोलेका थिए । कार्यक्रममा हेमराज गन्धर्वले वनमा डढेलो रोक्ने सन्दर्भमा सचेतनामूलक गीत गाएका थिए । कार्यक्रमको नेपाल टेलिभिजन कोहलपुरले प्रत्यक्ष प्रशारण गरेको थियो ।
वन डढेलो रोकथाम तथा नियन्त्रणका लागि जङ्गल डिभिजन कार्यालयले बजार क्षेत्रमा माइकिङ, सार्वजनिक सञ्चार माध्यमबाट सचेतनालगायत वन क्षेत्रमा अग्निरेखा निर्माणदेखि आगजनी भइसकेको अवस्थामा नियन्त्रण गर्न अग्नि नियन्त्रण दस्ता समेत निर्माण गरेको छ । जिल्लामा डिभिजन वन कार्यालय माताहतका ८ वटा सबडिभिजन वन क्षेत्रमा कम्तिमा ११ जनाको अग्नि नियन्त्रण दस्ता निर्माण गरिएको डिभिजन वन कार्यालय दाङले जनाएको छ । वन क्षेत्रमा झाडी सफा गर्नेदेखि सुरक्षित रूपमा झाडीमा आगो लगाउने समेतका कार्यक्रम रहेको डिभिजन वन कार्यालय घोराहीका प्रमुख मदन ढुङ्गानाले बताएका छन् ।
वनमा आगजनी गर्नेलाई कारबाही गर्न कानूनी व्यवस्था रहेको छ । कसैले वनमा आगो लगाएको पाइएमा त्यस्ता व्यक्तिलाई ६० हजार रुपैयाँ जरिमाना र तीन वर्ष कैद वा दुवै सजाय हुनसक्ने उल्लेख छ । जिल्लामा सरकारी र सामुदायिक गरी करिब ६० हजार हेक्टर वन क्षेत्र रहेको छ । यो वन क्षेत्रमा कतिपय अवस्थामा उपभोक्ताबाटै आगजनी गराउने पाइएको थियो ।
वनमा च्याउ उम्रने तथा डढेलो लागेको वनमा राम्रो घाँस पलाउने अन्धविश्वासका कारण आगजनी हुने गरेको वन अधिकारी बताउँछन् । यो वर्षदेखि अग्नि नियन्त्रणका क्रममा दुर्घटना हुने व्यक्तिलाई दुर्घटना तथा मृत्यु बिमाको व्यवस्था सरकारले गरेको छ । यसैगरी आवश्यक क्षतिपूर्ति उपलब्ध गराउने सरकारी अधिकारीले बताएका छन् ।
