थारू संघ दाङको प्रथम अधिवेशन, अध्यक्षमा शेषदत्त निर्वाचित
श्रीराम दहित
देउखुरी, ७ चैत । नेपाल थारू संघको प्रथम दाङ जिल्ला अधिवेशन लमही नगरपालिका–३, जखेरातालमा सम्पन्न भएको छ । सघको प्रथम अधिवेशनले तदर्थ समितिका जिल्ला संयोजक शेषदत्त चौधरीलाई सभापतिमा सर्वसहमत १७ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
संघको उपसभापतिमा लालबहादुर चौधरी र शोभाराम चौधरी, सचिवमा फागुराम चौधरी र राजेश चौधरी, कोषाध्यक्षः उषा चौधरी, सहसचिवमा उमा चौधरी र जनार्दन चौधरी चयन भएका छन ।
अधिवेशनले सदस्यहरुमा दिलिप चौधरी, विक्रम चौधरी, हेमा चौधरी, शिव चौधरी, चिन्ता चौधरी, जग्गु प्रसाद चौधरी, सुनिता चौधरी, शोभिराम चौधरी र निर्मला चौधरीलाई जिल्ला कार्यसमिति चयन गरेको छ । अधिवेशनको उद्घाटन सत्रमा बोल्ने बक्ताहरुले नयाँ नेतृत्व चयन गर्दै संगठनलाई थप सुदृढ बनाउँदै अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।
नेपाल थारू संघ नेपाली कांग्रेसको भातृ संगठनका रूपमा गठन भएको भन्दै कांग्रेसलाई सहयोग पुग्ने गरि संघले गाउँघरमा काम गर्नुपर्ने बताएका थिए । अधिवेशनले तदर्थ समितिका संयोजक चौधरीले नेपाल थारू संघको विधानअनुसार दाङको घोराही उपमहानगरपालिका–१ र १७ बाहेक अन्य वडाहरुमा समिति गठन गरिएको जानकारी गराएका थिए । त्यसैगरी जिल्लाका १० पालिकामध्ये बंगलाचुली बाहेक ९ वटै पालिका समिति गठन गरिएको बताए । निर्वाचन क्षेत्रअन्तर्गत क्षेत्र नं. ३ मा गठन हुन नसकेको सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
नेपाल थारु संघ जिल्ला तदर्थ समितिका सभापति शेषदत्त चौधरीको सभापतित्वमा भएको प्रथम जिल्ला अधिवेशनको प्रमुख अतिथि संविधानसभा सदस्य तथा नेपाली कांग्रेस केन्द्रीय सदस्य माननीय योगेन्द्र चौधरी रहेका थिए । कार्यक्रममा नेपाली कांग्रेस दाङका सचिव अर्जुन योगी, महासमिति सदस्य अनुप थापा, प्रदेश क्षेत्र नं. १(ख) का सभापति दिनेश गिरी, क्षेत्रीय सचिव खेम चौधरी, क्षेत्र नं. १(क) का सचिव गोविन्द वली, नेपाली कांग्रेस दाङ क्षेत्र नं. १ का पूर्व सभापति बासुदेव जंगलीलगायतका नेताहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य चौधरीले थारू समुदायको संघर्षबाट प्राप्त उपलब्धिहरूको रक्षा गर्दै अघि बढ्नुपर्ने बताए । उनले नेपाल थारू संघले समुदायको हकअधिकार सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरका थिए ।
नेपाली कांग्रेस दाङका सचिव अर्जुन योगीले तदर्थ समितिले थारू समुदायका टोल–बस्तीमा संगठन विस्तारमा खेलेको भूमिकाको प्रशंसा गर्दै नयाँ नेतृत्वलाई सफल कार्यकालको शुभकामना दिएका थिए । लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले नेपाली कांग्रेसले सबै वर्ग र समुदायलाई समेट्ने गरी नेपाल थारू संघ गठन गरेकोमा खुशी व्यक्त गरेका थिए ।
नेपाल थारू संघ दाङको अधिवेशनका लागि पूर्व क्षेत्रीय सभापति बासुदेव जंगलीको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको थियो । समितिको सदस्यमा गड्डुलाल चौधरी र गोविन्द वली रहेका थिए । प्रथम अधिवेशनको सहजीकरण थारु संघका जिल्ला सचिव फागुराम चौधरीले गरेका थिए ।
