कांग्रेसले मनायो कोइरालाको स्मृति दिवस
गोरक्ष समाचारदाता
दाङ, ८ चैत । नेपाली कांग्रेसले पार्टीका पूर्वसभापति एवम् शिखर पुरुष स्व. गिरिजाप्रसाद कोइरालाको स्मृति दिवस मनाएको छ । नेपाली कांग्रेस क्षेत्र नम्बर २ ले एक कार्यक्रमको आयोजना गरी कोइरालाको १५औँ स्मृति दिवस मनाएको हो ।
क्षेत्रीय सभापति भीमप्रकाश खड्काको अध्यक्षता एवम् नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री खगराज पाण्डेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने वक्ताले नेपाली राजनीतिमा विभिन्न चरणका परिवर्तनको नेतृत्व गर्ने गिरिजाप्रसाद कोइराला नेपाली राजनीतिका शिखर पुरुष भएको बताएका थिए । उनीहरूले कोइरालाले मजदुरहरूको आन्दोलनको नेतृत्व गर्नेदेखि सशस्त्र द्वन्द्वमा रहेको माओवादीलाई शान्ति प्रक्रियामा लिएर इतिहासकै उच्चस्तरीय काम गरेको बताएका थिए । स्व. कोइरालाले हजारौँ नेपालीको ज्यान गएको समयमा सशस्त्र द्वन्द्वलाई व्यवस्थापन गरी देशलाई शान्तिको मार्गमा हिडाउँदै सफल नेतृत्वको भूमिका निर्वाह गरेको वक्ताको भनाइ थियो ।
कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य जानका केसी, नेपाली कांग्रेस दाङका पूर्वसभापति विरकेशरी गौतम, नेपाली कांग्रेस दाङका उपसभापतिहरू कमानसिंह भारती, गिरिराज सुवेदी, नेपाली कांग्रेस जिल्ला सचिव बालिका लम्साल, महासमिति सदस्य भुपबहादुर डाँगी, नेपाली कांग्रेस प्रदेश क्षेत्र नं. २ (१) का सभापति प्रकाश श्रेष्ठ, नेपाल महिला संघ दाङका अध्यक्ष गोमा रावतलगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको सहजीकरण क्षेत्रीय सचिव आके शीतलले गरेका थिए ।
