सावधानी अपनाउँदै काम

लिलाधर वली
दाङ, १९ बैशाख । लकडाउनका कारण बजार, उद्योग, विद्यालयलगायतको क्षेत्र बन्द छन् । अत्यावश्यक काम वाहेक अन्य समय मानिसहरु घरभित्रै रहने गरेका छन् । कोरोना भाइरसको त्रासका कारण घरमा बसिरहँदा घोराही उपमहानगरपालिका–१५ निवासी जीवलाल शर्मा भने दिनहँु काममा जाने गरेका छन् ।
घोराही उपमहानगरपालिकाको फोहर बोक्ने गाडी चलाउने शर्मा प्रत्येक दिन विहान ६ बजे घोराही उपमहानगरपालिकाबाट गाडी निकालेर नगरका विभिन्न टोल–टोल पुग्ने गरेका छन् । त्यही फोहर संकलन गरेर घोराही उपमहानगरपालिका–१६ को करौँतीडाँडामा रहेको डम्पिङ साइटमा फोहर पु¥याएर घर फर्कन्छन् । उनी घर फर्कंदा विहानको १० देखि कहिले ११ सम्म बजेको हुन्छ । त्यो बेलासम्म उनको धेरै जनासँग भेट भइसकेको हुन्छ ।
घर पुगेपछि उनले साबुनपानीले हात धुन्छन र सेनिटाइजर प्रयोग गर्छन् । घोराहीमा फोहर बोक्ने गाडी चलाउने गरेका शर्माले कोरोनाबाट बच्नका लागि आफैले आफ्नो सावधानी अपनाए पनि उपमहानगरपालिकाले सरसफाई मजदुरहरुलाई थप कुनै सुविधा भने दिएको छैन । ‘अहिले कोरोना भाइरसको जोखिम रहेको छ, कोरोना भाइरसको जोखिमबाट बच्नका लागि फोहर संकलनमा जाँदा व्यक्तिगत सावधानी अपनाएर गाडी चलाउने गरेका छौँ’–चालक शर्माले भने–‘फोहर संकलनमा जाँदा धेरैसँग भेट हुने गर्दछ, त्यसैले अनिवार्य रुपमा मास्क र पञ्जाको प्रयोग गर्ने गरेको छु ।’ उनले कोरोनाको जोखिमका कारण फोहर संकलनमा जाँदा दुई जना मात्र भएर जाने गरेको बताए । संकलनमा जाने दुई जनाले अनिवार्य रुपमा मास्क, पञ्जा र सेनिटाइजरको प्रयोग गर्ने गरेको उनले बताए । ‘केही काम परेमा साथीहरुसँग फोनमा कुरा गर्ने गरेका छौँ’–उनले भने–‘पहिले जस्तो भेट्ने गरेका छैनौँ ।’ घोराही उपमहानगरपालिकाभित्र फोहर संकलन गर्ने उनी जस्तै २८ जना कर्मचारीहरु रहेको घोराही उपमहानगरपालिका सरसफाई शाखाका प्रमुख प्रेम केसीले बताए । फोहर संकलनमा काम गर्ने कर्मचारीहरुलाई अनिवार्य रुपमा मास्क, पञ्जा र पिपिई प्रयोग गर्ने गरेको बताए । ‘सरसफाई अनिवार्य रुपमा गर्नुपर्ने काम भएकाले जोखिमबाट बच्न सावधानी अपनाउँदै कर्मचारीहरु काममा लाग्ने गरेका छन्’–शाखा प्रमुख केसीले भने–‘त्यस क्रममा भीडभाड हुन नदिने, पञ्जा, मास्कलगायतका सुरक्षा सतर्कता अपनाउने गरेका छन् ।’
तुलसीपुर उपमहानगरपालिकाले भने जोखिमको समयमा काम गर्ने मजदुरहरुलाई ३० प्रतिशत प्रोत्साहन रकम उपलब्ध गराएको छ । कोरोना भाइरसको त्रासको समयमा पनि नगरको सरसफाईका लागि दैनिक फिल्डमा खट्ने मजदुर कर्मचारीहरुलाई ३० प्रतिशत प्रोत्साहन रकम उपलब्ध गराउने निर्णय गरेको तुलसीपुर उपमहानगरपालिका सूचना अधिकारी बाबुराम न्यौपानेले बताए । ‘नगरको सरसफाईमा जाँदा ग्लोवस्, मास्क, पिपिई, सेनेटाइजरलगायतका सुरक्षाका सावधानी अपनाउने गर्नुभएको छ’–सूचना अधिकारी न्यौपानेले भने–‘त्यससँगै टोल–टोलमा जाँदा सामाजिक दूरी कायम राखेर सरसफाईको काम गरिरहुनभएको छ ।’
लमही नगरपालिकाले भने सरसफाईलगायतका स्वास्थ्यका क्षेत्रमा काम गर्ने कर्मचारीको स्वास्थ्यमा ध्यान नदिएको कर्मचारीहरुले गुनासो गरेका छन् । स्वास्थ्य शाखामा काम गर्ने एक कर्मचारीका अनुसार कोरोना भाइरसको जोखिमको समयमा सरसफाईलगायत स्वास्थ्यका क्षेत्रमा खटिने कर्मचारीहरुलाई उपमहानगरपालिकाले प्राप्त मास्क, पञ्जा, सेनिटाइजर र पिपिई उपलब्ध गराएको छैन । नाम नबताउने शर्तमा ती कर्मचारीले भने–‘कोरोनोको जोखिमको समयमा सबैभन्दा अग्रस्थानमा हामी खटिने गरेका छौँ, तर हामीलाई प्राप्त पञ्जा, मास्क नै छैन ।’ उनले केही समय पहिले नगरपालिकाले पञ्जा, मास्कलगायतका सामग्री उपलब्ध गराए पनि ती सामग्री सकिएपछि पुनः उपलब्ध नगराएको बताए । तर लमही नगरपालिकाले भने जोखिमको समयमा काममा खट्ने सम्पूर्ण कर्मचारीहरुलाई पञ्जा, मास्क, पिपिई, सेनिटाइजरलगायतका सामग्री उपलब्ध गराएको दाबी गरेको छ ।