calander

January 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031

Goraksha

National Daily

उपभोक्तालाई सहज रूपमा शुद्ध खानेपानी पु¥याउने प्रतिबद्धता पूरा छौ : अध्यक्ष भण्डारी[अन्तर्वार्ता]

तुलसीपुर क्षेत्रलगायत जिल्लामा खानेपानीको सङ्कट बढदै गएको छ । खानेपानीको परम्परागत मुहान सुक्दै गएको अवस्था छ । तुलसीपुरमा खानेपानीको वितरणलाई सहज बनाउनका लागि सञ्चालनमा आउन लागेको बबई लिफ्टिङको काम हुँदैछ । तुलसीपुरमा खानेपानीको माग दिनप्रतिदिन बढ्दै छ । खानेपानीको मागसँगै धाराको माग पनि धेरै छ । संविधानले हरेक नागरिकलाई शुद्ध खानेपानी प्राप्त गर्नु मौलिक अधिकारको रुपमा लिएको छ तर त्यसको प्रत्याभूति भने जनताले गर्न सकेको छैनन् ।

पहिले पनि सबै जनताको पहुँचमा खानेपानी पुग्न सकेको छैन । धेरैले शुद्ध खानेपानी पनि पाउने अवस्था छैन । सरकारले नीति नियम बताउँछ तर प्राप्त बजेट नहुँदा धेरै खानेपानी संस्था अवस्था सोचे जस्तो हुन सकेको छैन । सरकारले एक घर एक धारा अभियान सुरु गरे पनि त्यो भने सफल हुन सकेको छैन । भर्खरै तुलसीपुर खानेपानी उभोक्ता तथा सरसफाई संस्थाको निर्वाचन सम्पन्न भएको छ । यसअघि एक कार्यकाल अध्यक्ष भई पुनः अध्यक्षमा यमकान्त भण्डारी दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । अध्यक्ष निर्वाचितसँगै भण्डारी सामु धेरै चुनौती र अवसर पनि छन् । वर्तमान खानेपानीको अवस्था, भावि योजना र अब शुद्ध खानेपानी तथा निःशुल्क खानेपानीको उपलब्धतालगायतका विषयमा गोरक्षकर्मी बालाराम खड्काले अध्यक्ष यमकान्त भण्डारी सँग गरिएको कुराकानीको सारसंक्षेप ।

 स्वागत छ यहाँलाई सातावार्तामा ?

 धन्यवाद यहाँ अनि यहाँको पत्रिकालाई मेरा कुरा राख्न दिएकोमा ।

 एक कार्यकाल खानेपानीको अध्यक्षमा रही काम गर्नुभयो फेरि पनि अध्यक्षको जिम्मेवारी प्राप्त गर्नु भएको छ कस्तो अनुभूति गर्नुभएको छ ?

 मलाई यस अघि पनि उपभोक्ताज्यूहरूले निर्वाचित गरी अध्यक्ष भई एक कार्यकाल काम गर्ने अवसर दिनुभएको थियो । तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको अध्यक्ष भई खानेपानीका विभिन्न योजना पनि हामीहरूले अघिको कार्यकालमा सुरु गरेको अवस्था छ । मलाई उपभोक्ताज्यूहरूले विश्वास गरेर फेरि पनि अध्यक्षमा निर्वाचित गराउनु भएको छ । फेरि पनि मलाई यो जिम्मेवारी दिई अहिले सञ्चालन भएका योजना पूरा गर्ने र खानेपानीको विकास र विस्तारमा काम गर्नका लागि यो जिम्मेवारी दिनुभएको हो । यो जिम्मेवारीसँगै म माथि अवसर चुनौति दुवै थपिएको छ । पक्कै पनि हामीहरूले सुरु गरेका विभिन्न गौरवका योजना पूरा गर्न र थप योजना ल्याएर खानेपानीको समस्या सामाधानका लागि धेरै कुरा गर्नु पर्ने छ ।

मलाई सबैले विश्वास गरेर एक पटक फेरि काम गर्ने अवसर प्रदान गर्नु भएकोमा सबैलाई धन्यवाद पनि दिन चाहान्छु । मलाई एक पटक फेरि काम गर्ने अवसर प्रदान गर्नुभएको छ । मैले आफ्नो कार्यकालमा खानेपानी संस्थाको दिगो विकास र खानेपानीको समस्या समाधानका लागि पहल गदमी गर्ने छु । निर्वाचन हो निर्वाचनको क्रममा प्रतिप्रर्धा हुनु स्वभाविक हो । यसमा एउटाले जित्ने अर्कोले हार्ने हुन्छ अब निर्वाचन सम्पन्न भइसकेको छ । निर्वाचनमा जे जस्तो भए पनि अब हामीलाई सबैको साथ सहयोग आवश्यक पर्छ म सबैको साथ सहयोग लिएर अगाडि बढ्ने छु । उपभोक्ताज्यूको यो अभिमतलाई मैले शिरोधार्य गरेर अब हामी संस्थाका पदाधिकारी खानेपानीको सहज आपूर्ति र उभोक्ताज्यूको हितमा लाग्ने छौँ ।

 तपाईका भावि योजना के–के छन् त्यसलाई कसरी पूरा गर्ने सोचमा हुनुहुन्छ ?

 हामीहरूले चुनावमा उपभोक्ता माझ गरेका प्रतिबद्धता धेरै छन् । पहिलो कुरा त हामी माँझ धेरै कुरा गर्न बाँकी छन् । यस अघि सुरु भएका महत्वपूर्ण योजना हामीले पूरा गर्नु पर्ने छ । एक वर्षभित्र बबईको पानी तुलसीपुरमा ल्याउनु छ । तुलसीपुरमा खानेपानीको वितरणलाई सहज बनाउनका लागि सञ्चालनमा आउन लागेको बबई लिफ्टिङको काम अहिलेसम्म करिब ७० प्रतिशत पूरा भएको छ । यसलाई कसरी समयमै सम्पन्न गर्ने भन्नेमा हामी लाग्ने छौँ ।

हामीले आगामी वर्ष २०८२ असार मसान्तभित्र सक्ने गरी सहलगानी आयोजनाको काम तिब्र पारिएको अवस्था छ । सहलगानी आयोजनाअन्तर्गत बबई लिफ्टिङको काम अहिलेसम्म विशेषगरी मुख्य पाइपलाई विस्तारको काम, वितरण पाइपलाइन विस्तारको काम, आकाशे ट्याङ्की निर्माणको काम सकिने अवस्थामा छ । यसलाई पूरा गर्नु छ ।

त्यस्तै तुलसीपुर–३ को रानागाउँमा र तुलसीपुर–९ को बेलुवामा खानेपानीको उपलब्ध गराउन ट्याङ्की निर्माण गर्नु छ । त्यस्तै मुलकोटदेखि रक्षाचौरसम्मको पाइप पुरानो भएको अवस्था छ । त्यसलाई फेर्नु पर्ने छ । साथै पाइप लाइन विस्तारका क्रममा भएको क्षतिलाई मर्मत गर्नु पर्ने छ । त्यसका लागि प्राप्त बजेटको माग गर्नु पर्ने अवस्था छ । बजेटको लागि सरकार स्थानीय निकायसँग पहल कदमी गर्ने छौँ । साथै योजनाकोसँगै पछि खानेपानी र सिँचाइका लागि मिनि हाइड्याम निर्माणको काम पनि अगाडि बढाउने योजना छन् । अर्को कुरा उपोक्तालाई हालको मिटरले समस्या भइरहेको छ । स्मार्टमिटर गराउन सकियो भने धेरै राम्रो हुने थियो । त्यसका लागि म कोसिस गरिरहेको छु ।

 खानेपानी सिँचाइका लागि मिनी हाइड्याम निर्माणको काम भन्नु भयो यो कहिले र कहाँ गराउने योजना छ ?

 अहिले खानेपानीका परम्परागत मुहानमा पानी सुक्दै गएको छ । हामीले पानीको आपूर्तिका लागि विभिन्न मुहानबाट पानी संरक्षण गरेर ल्याएको अवस्था छ तर यो बबईको पानीसँगै उत्तरमा रहेको पातुखोलाको सिरान साततले आसपासमा मिनी हाइड्याप निर्माण गर्नसके त्यो पानी र सिँचाइको र खानेपानी सबैको लागि प्रयोग गर्न सकिन्छ भन्ने हो । त्यो योजना पनि हामीले पहल गर्नुपर्छ । त्यसका लागि लगानी धेरै लाग्ने हुन्छ । त्यसैले भविष्यमा माथिल्लो भेगकामा पानी आपूर्तिका लागि त्यो पनि महत्वपूर्ण योजना हो । यसमा अस्टे«लिया सरकारले मिनी हाइड्यापको लागि सहयोग गर्ने वातावरण मिलाउने कोसिस गरि रहेको छु । त्यसका लागि हामी लाग्ने छाँै ।

 खानेपानीको मुहान संरक्षणमा के के गर्न आवश्यक छ ?

 हाम्रो मानव जीवनमा मुख्य कुरा पानी नै हो । पानीका स्रोत बर्सेनि घटिरहेको विषयमा सबै पक्ष गम्भीर हुनुपर्छ । पानीका मुहान संरक्षणमा हामीले केही योजना बनाएर काम गरिरहेका छौँ । पानीका मूल संरक्षणका लागि वृक्षारोपनदेखि विकास निर्माणका क्रममा ध्यान दिनु पर्ने हुन्छ । जथाभावि उत्खन्नदेखि बोटबिरुवा जोगाएर कसरी विकाससँगै विनास कम गर्ने कसरी जोगाउने पूर्वाधार निर्माण गर्दा पानीको प्राकृतिक मार्ग विनाश गर्नु हुँदैन भन्ने सबैले सोच्नु पर्छ ।

त्यसका लागि हामीले खबरदारी गर्दै आएका छौँ । अब यसमा उपभोक्ता पनि सचेत बन्नु पर्छ । सबै क्षेत्रका बासिन्दा पानी सञ्चय र पुनर्भरणमा सचेत रहनुपर्छ । पानी संरक्षणका ठाउँ–ठाउँमा साना–ठूला पानी सञ्चय गर्ने भण्डार बनाउनेलगायतका योजना भएमा धेरै राहत हुन्छ, यसमा स्थानीय सरकारले विशेष रूपमा काम गर्नु पर्ने हुन्छ । जल आपूर्ति प्रणालीलाई अक्षुण्न राख्न पानीका स्रोत संरक्षण गर्नुपर्छ । यसो गरेमा मात्र मानिसलाई पिउन तथा सिँचाइका लागि पानीको आपूर्ति हुन्छ । खानेपानीका परम्परागत मुहान बचाई राख्न सबै लाग्नु पर्छ ।

 अहिले कति धारा वितरण भएका छन् कति धाराको माग छ ?

 अहिले तुलसीपुरमा करिब ११ हजार एक सय ७० जति धारा वितरण भएका छन् । त्यसमा नयाँ करिब पाँच हजार माग छ । बबई लिफ्टिङको काम एक वर्षमा पूरा भयो भने यो माग पूरा हुन्छ भन्ने छ तर दिन प्रतिदिन बढ्दो जनघनत्व र पानीको माग अनुसार हामीले नयाँ–नयाँ योजना खानेपानीको वैकल्पिक व्यवस्थापन गर्न आवश्यक छ । सरकारको एक घर एक धारा नीतिलाई पनि हामीले पूरा गर्नु छ । संविधानले हरेक नागरिकलाई शुद्ध खानेपानी प्राप्त गर्नु मौलिक अधिकारको रूपमा लिएको छ त्यसलाई पूरा गर्नु पर्ने छ । अहिले सरकारले खानेपानीमा कर लगाउने नीति पनि ल्याएको छ । त्यो हामीले विरोध गरेका छौँ ।

 खानेपानी मुनाफा रहित संस्था हो तर यसैलाई राज्यले कर लगाउने नीति लिएकोे छ कुन–कुन कुरामा कर छुट हुनुपर्छ ?

 खानेपानी सेवामुलक संस्था हो मुनाफा रहित संस्था हो । जति राज्यले कर लगाउँछ त्यो भार उपभोक्ताज्यूलाई पर्ने हो । नेपाल सरकारले मौलिक अधिकारभित्र पर्ने पानी जस्तो सम्वेदनाशील कुरा निःशुल्क खुवाउनु पर्ने ठाउँमा विद्युत महशुल्कदेखि अन्य कर लगानु राम्रो होइन । यदि विद्युत र करमा छुट भयो भने उपभोक्ताज्यूलाई महसुल पनि हामीले कम गर्न सक्छौ ।

 अन्तमा केही भन्नु छ ?

 अन्तमा खानेपानी तथा मेरा कुरा राख्ने अवसर दिएकोमा धन्यवाद । भर्खरै खानेपानीको निर्वाचन सम्पन्न भएको छ । मलाई अध्यक्षमा उपभोक्ताज्यूले विश्वास गरेर दोस्रो कार्यकाल नेतृत्व गर्ने अवसर दिनुभएको छ । सम्पूर्ण उपभोक्ता तथा निर्वाचनमा सहयोग गर्ने राजनीतिक दल, संघ संस्था व्यक्ति, सुवेच्छुकलगायत प्रत्यक्ष रूपमा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैलाई यसै पत्रिकामार्फत् धन्यवाद दिन चाहान्छु । मैले पहिले पनि भने हामीलाई सबैको साथ सहयोग आवश्यक रहन्छ सबैको साथ सहयोग लिएर म अगाडि बढ्ने छु । चुनावमा मैले गरेका प्रतिबद्धता पूरा गर्नेमा हामी सबै पदाधिकारी लाग्ने छौँ । यसमा सबैले साथ सहयोग गर्नु हु्नेछ भन्नेमा पनि म आशावादी छु । सबैलाई फेरि पनि धन्यवाद कृतज्ञता ज्ञापन गर्न चाहान्छु् ।