नियन्त्रणमा लिइएका सवारी खुल्ला क्षेत्रमा

अमरराज आचार्य

दाङ, १९ बैशाख । लकडाउन उल्लङ्घन गरेको आरोपमा प्रहरीले घोराहीबाट एक जनाको मोटरसाइकल नियन्त्रणमा लियो । नियन्त्रणमा लिएको एक महिना भइसकेको छ । तर अझै पनि प्रहरीले सवारीधनीलाई मोटरसाइकल फिर्ता गरेको छैन । ‘प्रहरीसँग कुरा गर्दा लकडाउन खुलेपछि मात्र मोटरसाइकल फिर्ता दिने जवाफ पाएँ’–नाम उल्लेख नगर्न आग्रह गर्दै उनले भने ।

प्रहरीले लकडाउनमा सवारी साधन सञ्चालनको लागि सवारी पासको व्यवस्था गरेको छ । तर उनले पास नलिएर नै मोटरसाइकल चलाएका थिए । ‘धेरै पटक लिन गएँ, तर दिन मानेको छैन’–उनले भने । धेरै दिन स्टार्ट पनि नगरेर राख्दा मोटरसाइकल बिग्रने चिन्ता अहिले उनलाई छ ।
उनी सहित थुप्रैको मोटरसाइकललगायतका सवारी साधनहरु यतिबेला जिल्ला प्रहरी कार्यालयको परिसरको खुल्ला भागमा राखिएको छ ।

लकडाउनको अवधिमामा प्रहरीले मोटर साइकल, अटो, टेक्टर र टिप्पर गरेर ३ सय ५० सवारी साधनलाई नियन्त्रणमा लिएको छ । चलाउने अनुमति पास नलिएको कारण नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । नियन्त्रणमा लिएर राखिएका सवारी साधनहरु खुला चौरमा राखिँदा घाम पानीका कारण खिया लाग्ने र धेरै दिन नचलाउँदा इञ्जिनमा समेत असर पर्ने चिन्ताले यतिबेला सवारीधनीहरुलाई सताएको छ ।

जिल्लामा प्रहरीले ३ सय ५० वटा सवारी साधनहरु नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएस्पी सुमित खड्काले बताए । धेरै सवारीका साधन नियन्त्रणमा लिए पनि केहीलाई छोडिदिएको उनले बताए । लकडाउनको अवधिमा नियम उल्लङ्घन गरेर सवारीका साधन सञ्चालन गरेपछि नियन्त्रणमा लिएको उनले बताए । ‘नियन्त्रणमा लिइएका केही सवारी साधनको अवस्था हेरेर छोडिदिएका छौँ’ उनले भने । प्रहरी प्रवक्ता खड्काका अुनसार नियन्त्रणमा लिइएका सवारीका साधनमध्ये सबैभन्दा बढी मोटरसाइकल नै छन् ।

नियन्त्रणमा रहेका सवारी साधनहरुलाई लकडाउनपछि छोडिने उनले बताए । नियन्त्रणमा लिइएका सवारीका साधन राख्नका लागि समेत समस्या भएको प्रवक्ता खड्काले बताए । नियन्त्रणमा लिइएका सवारी साधन सुरक्षाको दुष्टिकोणले सुरक्षित नै छन्’ प्रहरी प्रवक्ता खड्काले भने– ‘तर प्राविधिक दृष्टिले भने भन्न सकिँदैन ।’

लकडाउनमा राजश्व शून्य
सरकारले लकडाउन घोषणा गरेको शुक्रवार ३८ दिन भएको छ । यो समयमा जिल्ला ट्राफिक कार्यालयमा राजश्व जम्मा भएको छैन । प्रहरीले सवारीसाधन नियन्त्रणमा भने लिने गरेको छ । पासबिना सञ्चालन भएका ३ सय ५० सवारी साधन प्रहरीको नियन्त्रणमा छन् । ती सवारीसाधनबाट राजश्व लिने वा नलिने त्यो निर्णय भई नसकेको प्रहरीले जनाएको छ । लडकाउनको समयमा प्रहरीले सवारीधनीले पास लिएर चलाएको छ वा छैन त्यसमा नै बढी जाँच गर्ने गरेको जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रेम रेग्मीले बताए । ‘प्रहरीले अहिले मापसे जाँच बन्द गरेको छ’–रेग्मीले भने–‘लकडाउन उल्लङघन गरेकालाई कसरी के कति जरिवाना गर्ने भन्ने कुरामा माथिबाट अझै केही आदेश आएको छैन ।’ चालु आर्थिक वर्षको ८ महिनामा नियम विपरित गुडेका सवारी साधनबाट २ करोड ८ लाख रुपैयाँ राजश्व सकंलन गरेको उनले बताए । यो अवधि भनेको लकडाउन पूर्वको अवधि हो । अघिल्लो आर्थिक वर्षमा जिल्ला ट्राफिक प्रहरी दाङले २ करोड १२ लाख रुपैयाँ संकलन गरेको थियो ।