calander

January 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031

Goraksha

National Daily

तालिमले बढायो महिलामा आत्मविश्वास

प्रिया स्मृति गजमेर
लमही, ५ चैत । लमही नगरपालिका–४ गुर्जेहवाकी एलिना चौधरीले अचार उत्पादनसम्बन्धी सिपमूलक तालिमबाट आफूमा केही गर्न सकिन्छ भन्ने आत्मविश्वास बढेको बताउँछिन् ।

लमहीमा सञ्चालन भएको अचार बनाउने तालिम लिएकी चौधरी अब घरायासी कामसँगै उद्यमशीलतामा जोडिने बताउँछिन् । तालिमले अचार उत्पादनसम्बन्धी आवश्यक सिप, ज्ञान तथा बजार सम्भावनाबारे स्पष्ट जानकारी दिएको भन्दै भविष्यमा स्वआर्जन तथा उद्यमशीलताका लागि नयाँ ढोका खोलिदिएको विश्वास व्यक्त गरिन् ।

चौधरीले तालिमबाट सिकेको सिपलाई व्यवहारमा उतारेर आफ्नै व्यवसाय सुरु गर्ने लक्ष्य रहेको बताइन् । ‘उद्यमी महिलाहरूको एउटै माग छ, उत्पादन गरेका सबै वस्तु बजार व्यवस्थापन हुँदैनन्, त्यसको जिम्मा राज्यले लिइदिनु पर्छ’, तालिम लिएपछि चौधरीले भनिन् । यसैगरी अचार उत्पादन तालिममा सहभागी आरोही थारूले स्थानीय सरकारले प्रदान गर्ने सिपमूलक तालिम प्राप्त गरेर बेरोजगार बनेका थुप्रै गृहणी स्वरोजगार बन्न इच्छुक भएको बताइन् । तालिममार्फत् आवश्यक दक्षता हासिल गरी आत्मनिर्भर बन्ने चाहना रहेको उनले बताइन् ।

तालिमले महिलामा आर्थिक रूपमा सशक्त बन्ने अवसर प्रदान गरेको महसुस गराउँदै, सिकेको सिपलाई व्यवहारमा उतारी आफ्नै स्वरोजगार वा व्यवसाय सञ्चालन गर्ने लक्ष्य लिएको उनीहरूको भनाइ छ । सहभागी महिलाले तालिमपछि आत्मनिर्भरता हासिल गर्दै आफ्नो परिवार तथा समाजमा आर्थिक योगदान पु¥याउने उनीहरूको विश्वास छ । सात दिनसम्म सञ्चालन भएको अचार उत्पादन गर्ने तालिमको सोमवार समापन गर्दै लमही नगरपालिका उपप्रमुख लक्ष्मी योगीले महिलाले सिपमूलक तालिममार्फत आत्मनिर्भरता हासिल गर्दै आफ्नै परिवार तथा समाजको आर्थिक समृद्धिमा योगदान पु¥याउन सक्ने विश्वास व्यक्त गरिन् । उनले सिप सिकेर महिलाले स्वरोजगार तथा उद्यमशीलताको माध्यमबाट आर्थिक रूपान्तरण सम्भव हुने उल्लेख गर्दै नगरपालिकाले यस्ता खालका तालिमलाई निरन्तर प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरिन् ।

कार्यक्रममा लमही नगरपालिका–४ की वडा सदस्य निमा सुनार, वडा नं. ५ का सदस्य तथा कार्यपालिका सदस्य चन्द्रा वली चौधरी, अनुगमन समिति सदस्य शोभा श्रेष्ठलगायतको उपस्थिति रहेको थियो । सातदिने अचार उत्पादनसम्बन्धी सिप विकास तालिममा १९ जना महिला सहभागी भएका थिए । च्याउ उत्पादन महिला समूहलाई प्रविधि सामग्रीसमेत हस्तान्तरण गरिएको थियो । अचार उत्पादन तालिमको प्रशिक्षकमा आशारामी चौधरी रहेकी थिइन । लमही नगरपालिका उपप्रमुख लक्ष्मी योगीको अध्यक्षतामा भएको समापन कार्यक्रममा पार्वती चौधरीले स्वागत मन्तव्य राखेकी थिइन् भने गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) उद्यम विकास सहजकर्ता प्रमिला योगीले सञ्चालन गरेकी थिइन् ।