कांग्रेस दाङको बैठक, लेखासमिति गठन

गोरक्ष समाचारदाता
दाङ, ५ चैत्र । नेपाली कांंग्रेस दाङको नियमित बैठक घोराहीमा सम्पन्न भएको छ ।

नेपाली कांग्रेस दाङका सभापति शंकरप्रसाद डाँगीको अध्यक्षतामा सोमवार घोराही स्थित पार्टी कार्यालयमा बसेको बैठकले नेपाली कांग्रेस दाङका सचिव अर्जुनकुमार योगीले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष प्रकाश सुवेदीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनलाई प्रस्तावका रूपमा तेस्रो जिल्ला सम्मेलनमा लैजाने निर्णय गरेको हो ।

बैठकमा नेपाली कांग्रेस दाङका जिल्ला सचिव योगीले प्रोजेक्टरको माध्यमबाट सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष सुवेदीले आर्थिक प्रतिवेदन पेस गरेका थिए । बैठकमा दुवै प्रतिवेदनमाथि बृहत छलफल गरी संशोधनसहित आगामी तेस्रो जिल्ला सम्मेलनमा प्रस्तावको रूपमा लैजाने निर्णय गरिएको छ ।

बैठकले वीपी पुस्तकालय तथा वाचनालय कार्यविधि र नेपाली कांग्रेसको विधान तथा नियमावलीमा व्यवस्था भए अनुसार नेपाली कांग्रेस दाङका जिल्ला सदस्य किरणकुमार रेग्मीको संयोजकत्वमा लेखासमिति गठन गर्ने निर्णय गरेको छ । समितिमा जिल्ला सदस्यहरू नारायणप्रसाद अधिकारी र प्रदीप मज्गैयाँ सदस्य रहेको नेपाली कांग्रेस दाङका सचिव अर्जुनकुमार योगीले जानकारी दिएका छन् ।

नेपाली कांग्रेस दाङले तेस्रो जिल्ला सम्मेलन चैत महिनामा गर्न थालेको छ । नेपाली कांग्रेस दाङले जिल्ला सम्मेलन गरी पालिका र क्षेत्रीय कार्यसमितिलाई सम्मेलन गरिसक्न आग्रह गरेको छ । बैठकमा जिल्ला पदाधिकारी, सदस्य एवम् प्रतिनिधि सभा क्षेत्रीय सभापतिहरूको उपस्थिति रहेको थियो ।