गोरक्ष समाचारदाता
रोल्पा, १९ बैशाख । बम विष्फोर्टमा परी ज्यान गुमाएका रोल्पाको त्रिवेणी गाउँपालिकाका ४ जना बालबालिकाहरुको शव पोष्टमार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ ।
स्थानीय जनप्रतिनिधि, प्रहरी र पीडित परिवारहरुको सहभागितामा मुचुल्का बनाएर शवलाई पोष्टमार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही पठाइएको त्रिवेणी गाउँपालिका–२ का वडा सदस्य धनबहादुर बस्नेतले बताए ।
मृत्यु हुनेमा त्रिवेणी गाउँपालिका–७ का लालबहादुर केसीका ११ वर्षीया छोरी बिमला केसी र ५ वर्षका विजय केसी छन् । त्यस्तै ओजबहादुर डाँगीका १४ वर्षका छोरा नोखिराम डाँगी र लक्ष्मण नेपालीका १३ वर्षका छोरा गौरव नेपाली छन् । यसैबीच बाख्रा चराउन गएका बालबालिकाहरुले भेटेको अर्को बम डिष्पोज गरिएको छ । एउटा बम विष्फोर्ट भएको र अर्काे एउटा विष्फोर्ट नभएकाले दहवनबाट गएको सेनाको बम डिस्पोजल टोलीले शुक्रवार बम डिष्पोज गरेको हो ।
यसैबीच प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोख्रेलले विज्ञप्ति जारी गर्दै घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले पीडित परिवारलाई राहतका लागि संघीय सरकारलाई सिफारिस गर्ने बताएका छन् । त्रिवेणी गाउँपालिका–७ गैरीगाउँको वनमा बाख्रा चराउन जाँदा भेटिएको बम विष्फोर्टमा उनीहरुको ज्यान गएको बारेमा थप बुझ्न प्रदेश नं. ५ सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसी घटनास्थल गएको समेत विज्ञप्तिमा उल्लेख छ ।
यसैबीच नागरिक समाज दाङले रोल्पा त्रिवेणी गाउँपालिका वडा नं. ७ गैरीगाउँमा बम विष्फोर्टमा परी चार जना बालबालिकाको ज्यान गएको घटनाप्रति दुःख व्यक्त गरेको छ । घटनाको सत्य–तथ्य छानवीन गरी सार्वजनिक गर्न र पीडित परिवारलाई राहत उपलब्ध गराउन सम्बद्ध पक्षसँग आग्रह गरेको छ ।