कुखुरा पालनबाट मनग्य आम्दानी

टेकबहादुर पुन
देउखुरी, ३ चैत । गढवा गाउँपालिका–४ पर्सेनी निवासी उर्मिला चौधरी व्यावसायिक कुखुरापालनमा लागेको १३ वर्ष भयो । कृषि पशुपन्छी फर्म सञ्चालन गर्दै आएकी चौधरीले व्यावसायिक कुखुरापालनबाट मासिक एक लाख बचत गर्छिन् । व्यावसायिक खुकरापालनममा लागेकी २७ वर्षीया चौधरीले व्यवसाय सुरु गरेको १३ वर्षमा अनेक समस्याका बावजुद अहिले सफलतामा पुगेको बताउँछिन् ।

विगत १० वर्षयता पूर्णरूपमा कुखुरापालन गर्दै आएकी चौधरीले २०६९ सालमा ग्रामीण महिला उत्थान केन्द्रद्वारा प्रवर्धक आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड गढवा शाखाबाट कर्जा लिएर कुखुरापालन व्यवसायी सुरु गरेको बताइन् । त्यही व्यवसायबाट आम्दानी गर्दै आएकी चौधरी अहिले समाजका लागि उदाहरणीय बनेकी छिन् । बेरोजगारीका कारण मानिस बिदेसिइरहेको समयमा आफ्नै देशमा केही गर्नुपर्छ भनेर लागेको भन्दै उनले भनिन्, ‘गढवा गाउँपालिकामा कृषि क्षेत्रमा गर्न सक्नेका लागि राम्रो सम्भावना छ, त्यही सम्भावना अन्तर्गत् मैले कुखुरापालन रोजेको हुँ ।’

आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड गढवाको सहयोगमा स्थानीय जातका (लोकल) तथा लेस कुखुरा पाल्दै गाउँमै सम्भावना भएको बताइन् । चौधरीले बिहान उठेदेखि रातिसम्म कुखुराकै खोरमा समय बिताउँछिन् । ‘परिवारसँगै रमाएर आफ्नै गाउँमा बसेर काम गर्नुको मजा नै बेग्लै छ’, चौधरीले भनिन्, ‘बिदेसिनेहरू सबैको राम्रो मात्रै कहाँ भएको छ र ? तर म यहीँ खुसी छु, रमाएर काम गरिरहेको छु ।’ कुखुराका लागि आवश्यक पर्ने दाना आफैँ उत्पादन गर्ने चौधरीलाई कुखुरापालनमा उनका श्रीमान् र परिवारको साथ मिलेको छ । कुखुरापालनमा लागेर चार जनाको परिवार सहजै पालिएको चौधरीले बताइन् । ‘कुखुरापालन सुरु गर्दा पहिले केही समय गाह्रो भएको थियो तर अहिले सहज बन्दै गएको छ । आम्दानी पनि भएको छ’, चौधरीले भनिन्, ‘कुनै पनि काममा निरन्तरता र मिहिनेत गरे सफलता मिल्ने रहेछ ।’

पशुपन्छी पालनका लागि आफ्नै जग्गा प्रशस्त भएकाले उनलाई अन्य पेसामा संलग्न हुन मन नलाग्ने उनी बताउँछिन् । अर्काको काम गरेर लाख कमाउनुभन्दा आफ्नै घरमा परिवारसँग बसेर स्वरोजगार बन्नु ठुलो भएको भन्दै उनले मिहिनेत गर्न आफ्नै ठाउँ राम्रो भएको बताउँछिन् । एउटा खोर बनाएर तीन सय लेस जातको कुखुराबाट व्यवसाय सुरु गरेको बताउँछिन् । कुखुरासँगै उनले हासँ, लोकल कुखुरापालन गरेकी छन् । व्यवसायमा श्रीमान्को साथ र सहयोग भएको बताउँछिन् । कुखुरापालन व्यवसायमा जोखिम भए पनि आम्दानी राम्रै हुने उनी बताउँछिन् ।
गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम

ग्रामीण महिला उत्थान केन्द्रद्वारा प्रवर्धक आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड गढवा शाखा दाङको आयोजनामा केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । शाखा प्रबन्धक सुशीला भण्डारीको अध्यक्षता तथा गढवा गाउँपालिका प्रमुख यमनारायण शर्मा पोख्रेलको प्रमुख अतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा संस्थाको प्रमुख कार्यकारी अधिकृत सौगतवीर चौधरी, ग्रामीण महिला उत्थान केन्द्रको प्रतिनिधि कार्यक्रम अधिकृत हितबहादुर थापा, उत्कृष्ट केन्द्रका प्रतिनिधि, उत्कृष्ट उद्यमीका प्रतिनिधिलगायतले मन्तव्य राखेका थिए ।

गोष्ठीमा चार उत्कृष्ट केन्द्र, तीन उत्कृष्ट उद्यमी, एक उत्कृष्ट बचतकर्ता र १० अनुशासित केन्द्रलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो । आन्तरिक लेखापरीक्षण विभाग प्रमुख नेपबहादुर चौधरीले वित्तीय साक्षरत अभिमुखीकरण गरेका थिए । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड गढवा शाखा अधिकृत रञ्जना चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण जनशक्ति व्यवस्थापन विभाग प्रमुख कालीदास चौधरीले गरेका थिए ।