Goraksha

National Daily

‘अनुभवको संगालो’ कवितासङ्ग्रहको विमोचन

गोरक्ष समाचारदाता
दाङ ३ चैत्र । अनुभवको सङ्गालो कवितासङ्ग्रह विमोचन गरिएको छ । पूर्वशिक्षक तथा साहित्यकार पौडेलले जीवन भोगाइमा आधारित कवितसङ्ग्रह प्रकाशनमा ल्याएका हुन् ।

कवितासङ्ग्रहको शनिवार एक कार्यक्रमका बिच तुलसीपुरमा विमोचन गरिएको थियो । दाङ साहित्य तथा संस्कृति प्रतिष्ठानको आयोजनामा कवितासङ्ग्रह विमोचन कार्यक्रम गरिएको हो । बरिष्ठ साहित्यकार गणेश विषमले कवितासङ्ग्रहको विमोचन गरेका हुन् । कवि सूर्यप्रसाद पौडेलले आफ्नो जीवनमा भएका अनुभवलाई कवितामा रूपान्तरण गरेर कृति प्रकाशन गरेको बताए । उनले यो सङ्ग्रहभित्र जीवन भोकाइएका कथा रहेको र २०५० सालदेखि अहिलेसम्मका विभिन्न समयमा लेखिएका कविता समावेश गरिएको बताएका छन् ।

प्रतिष्ठानका अध्यक्ष डिल्लीराज श्रीधरको अध्यक्षतामा भएको कार्यक्रममा कृति समीक्षक दीपककुमार आचार्यले कवितासङ्ग्रहले यस क्षेत्रको साहित्य क्षेत्रलाई थप मद्दत पु¥याएको बताए । उनले जीवन भोगाइ र समग्र अवस्थाको विषयमा कवितासङ्ग्रहले चित्रण गरेको बताए ।

कार्यक्रममा मावि तुलसीपुर सेन्टरका प्रधानाध्यापक भागवत पौडेललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कवितासङ्ग्रह प्रकाशक धर्मराज पौडेलको स्वागतबाट सुरु भएको कार्यक्रममा सङ्ग्रहको विषयमा कवि सूर्यप्रसाद पौडेलले प्रकाश पारेका थिए भने कार्यक्रमको सहजीकरण दाङ साहित्य तथा संस्कृति प्रतिष्ठानका सचिवले गरेका थिए ।