Goraksha

National Daily

पिएम कपमा आज एपीएफ क्लब र नेपाल पुलिस क्लब भिड्दै

घोराही, १ चैत । दाङमा जारी नेपाल टेलिकम प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता २०८१ अन्तरगत आज दुई विभागीय टीम एपीएफ क्लब र नेपाल पुलिस क्लब भिड्दैछन् ।

लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा एपीएफ क्लब र नेपाल पुलिस क्लबबीच बिहान ९ बजेपछि खेल शुरु हुनेछ ।
दाङमा पहिलो पटक आयोजना गरिएको पिएम पुरुष क्रिकेट प्रतियोगितामा दुई बलिया टिम बिचको खेल निकै प्रतिष्पर्धात्मक तथा रोमाञ्चक हुने अनुमान गरिएको छ ।
आजको खेलमा नेपालको राष्ट्रिय टोलीका अधिकांश सदस्य सम्मिलित दुई टीमबाट मैदानमा उत्रिने हुँदा प्रतिष्पर्धा भव्य हुने देखिएको छ । एपीएफको टिम कप्तमनी नेपालका राष्ट्रिय टिम कप्तानसमेत रहेका रोहितकुमार पौडेलले सम्हालेका छन् भने नेपाल पुलिस क्लबको कप्तानी कप्तान दिपेन्द्र सिंह ऐरीले सम्हालेका छन् ।

जारी प्रतियोगिता दुई टीम अपराजित छन् ।
एपीएफले दुई खेल मध्ये पहिलो खेलमा वाग्मती प्रदेशलाई १०० रन र दोस्रो खेलमा मधेश प्रदेशलाई २ विकेटले हराउँदै अंक तालिकाको दोस्रो स्थानमा छ । नेपाल पुलिस क्लब पनि दुई खेल मध्ये पहिलो खेलमा लुम्बिनी प्रदेशलाई ८७ रनले र दोस्रो खेलमा कोशी प्रदेशलाई १५४ रनले हराउँदै अंक तालिकाको तेस्रो स्थानमा छ । यी दुई टिमको खेल विगतदेखि नै प्रतिष्पर्धात्मक हुने गरेको छ । २०२२ को फाईनल खेलमा एपीएफले पुलिस क्लबलाई २१ रनले हराएको थियो ।

आजको खेललाई मध्य नजर गर्दै लमहीमा भईरहेको पिएम कपको व्यवस्थापन हेरिरहेकोे दाङ जिल्ला क्रिकेट संघले दर्शकहरुक लागि भिआईपी टिकट बाहेक अरु टिकट निशुल्क गरेको छ ।

नेपाल क्रिकेट संघ क्यानको आयोजना, प्रदेश क्रिकेट संघको समन्वय तथा दाङ क्रिकेट संघको व्यवस्थापनमा जारी प्रतियोगिता अन्तरगत आज हुने एपीएफ क्लब र नेपाल पुलिस क्लब बिचको खेलका लागि भिआईपी टिकट शुल्क २ सय रुपैयाँ रहेको र अरु टिकटको हकमा निशुल्क प्रवेश गरिएको दाङ जिल्ला क्रिकेट संघका अध्यक्ष तथा क्यान केन्द्रीय सदस्य प्रदीप मजगैँयाले जानकारी दिए ।
३ विभागीय टीम आर्मी क्लब एपीएफ क्लब र नेपाल पुलिस क्लबसहित सात प्रदेश टीमले फागुन २५ गतेबाट लुम्बिनी प्रदेशको रुपन्देही र दाङमा प्रतियोगिता खेलीरहेका छन् ।

दाङसहितमा रुपन्देहीको सिद्धार्थ क्रिकेट रंगशाला र एक्स्ट्राटेक ओभल मैदानमा एकैसाथ शुरु भएको प्रतियोगिताका खेलहरु राउण्ड रोविनका आधारमा भईरहेका छन् । हरेक टीमले एक अर्को टीमसँग खेल्नेछन् । आगामी चैत १६ गतेसम्म चल्ने प्रतियोगिता अन्तरगत दाङमा १४ वटा खेल हुने तालिका रहेको छ ।