बिरामीको रोजाइँमा बहादुरगन्ज आँखा अस्पताल
खेमराज रिजाल
कपिलवस्तु(वहादुरगन्ज) १ चैत । नेपाल नेत्रज्याति संघ दाङको व्यवस्थापनमा कपिलवस्तु जिल्लाको वहादुरगन्जमा एउटा सुविधासम्पन्न आँखा अस्पताल विगत दुईदशकदेखि सञ्चालनमा छ । त्यहाँ अस्पताल सञ्चालनका लागि करोडौँ मूल्य बराबरको जग्गा दान गर्ने दाता पनि दाङमै जन्मिएका छन्दबहादुर शाह हुन् ।
उनले करिब १७ कट्ठा जग्गा दान दिएपछि बहादुरगन्जमा आँखा अस्पताल सञ्चालनमा आयो । अस्पतालको नाम पनि दाताकै नाममा राखियो ‘छन्द (कालेबाबु) नारायणी आँखा अस्पताल, बहादुरगन्ज’ । नारायणी शाह छन्दबहादुर शाहकी धर्मपत्नी हुन् । अर्थात् खिमबहादुर शाहकी भाउजु र रणबहादुर शाहकी बुहारी ।
अस्पताल सञ्चालनमा आएको करिब दुईदशक पार गर्दा यो अस्पतालमा उपचार सेवा लिनेको सङ्ख्या औषत दैनिक पाँच सय जति छ । त्यसमा करिब ७५ जनाको मोतियाबिन्दुको दैनिक शल्यक्रिया हुन्छ । अस्पतालमा उपचार गर्न आउनेमा कम्तिमा ८० प्रतिशत बिरामी भारतीय हुन्छन् । सायद एकआध सेवाबाहेक नेपालले विदेशीलाई उल्लेख्य रूपमा स्वास्थ्योपचार सेवा प्रदान गरेर विदेशी मुद्रा आर्जन गर्ने अस्पताल यही मात्रै हो । एक जना भारतीय नागरिकको मोतियाविन्दुको शल्यक्रिया गर्दा बिरामीसहित कम्तिमा तीन जनाले बहादुरगन्जमा दुई रात बिताउनु पर्छ । अस्पताल प्रशासनका अनुसार अस्पतालमा शल्यक्रिया गर्न आउने बिरामीसहित आफन्त गरी एक रात बिताउने भारतीय करिब दुई सय ५० जना जति हुन सक्छन् ।
‘अस्पताललाई अझै सुधार, विस्तार र थप विशेषज्ञ सेवासहितको स्तरीय बनाउन सके बहादरगन्ज मेडिकल टुरिजमको हब बन्न सक्छ, यसमा हामी थप जागरुक र क्रियाशील बन्नु आवश्यक देखिन्छ’, कपिलवस्तुबाट प्रतिनिधित्व गर्ने संविधान सभा सदस्य अभिषेकप्रताप शाहको तर्क छ । अहिले सिमावर्ती भारतीय गाउँका नागरिक आँखा उपचारका लागि यहाँ आइरहेका छन्, त्यो सङ्ख्या सानो सुधारले मात्रै दाब्बर बनाउन सकिने उनको विश्वास छ । त्यसो त अभिषेकप्रताप शाह छन्द कालेबाबुका नाति हुन् । उनले संविधान सभा सदस्य हुँदा संसद् क्षेत्र विकास कोषको करिब ५० लाख रुपैयाँ, कपिलवस्तुको बहादुरगन्ज वरपरका स्थानीय पालिकालगायतको सहयोगले भर्खरै मात्र सुविधासम्पन्न अस्पताल भवन र कर्मचारी आवास भवन निर्माण सम्पन्न भएर बुधवार विधिवत रूपमा सञ्चालनमा आएको छ । ती भवनमा फर्निचरको आवश्यक व्यवस्थापनमै छन्दकालेबाबुका छोरा सुधीर शाहले नै व्यवस्थापन गरिदिएका छन् । बहादुरगन्ज मधेसको नजिक भएर पनि पहाडिया सहयोगीको उत्तिकै उपस्थिति छ ।
‘छिमेकी भारतका विभिन्न हरहरू मेडिकल टुरिजमले सम्पन्न भएका छन् । भारतको राजधानी नयाँदिल्ली होस् वा दिल्लीकै सीमा हरियाणा प्रदेशको गुडगाउँमा रहेको मेदान्त अस्पतालका कारण गुणगाउँमा मेडिकल टुरिजम फस्टाएका छन् । त्यहाँ नेपालीो अर्थपूर्ण उपस्थिति रहन्छ । भारतको लखनउ पनि मेडिकल टुरिजमकै कारण फस्टाएको छ । भारतीय सहर लखनाउमा रात बिताउने धेरैजसो औषधोपचारमा आउने नै हुन्छन्’, संविधान सभा सदस्य अभिषेक तर्क गर्छन् ।
बहादुरगन्जलाई मेडिकल टुरिजमका रूपमा विकास गर्न नेत्रज्याति संघ दाङले नेतृत्व लिने र कपिलवस्तुबासी होस्टेमा हैसे मिलाएर सहयोग गर्ने तर्क कपिलवस्तुका जनता समाजवादी पार्टीका नेता अजित सिंह बताउँछन् । यसका लागि नेपाल–भारत सीमामा स्वास्थ्योपचार गर्न आउने बिरामीलाई अनावश्यक खानतलासी नगर्ने व्यवस्थापन दुवै देशका सीमा प्रशासन सचेत हुनुपर्ने उनले बताए । यसको अगुवाइ स्थानीय सीमा पालिकाले गर्न जरुरी रहेको उनले सुझाए । नेपाल–भारत एक असल छिमेकी मित्र रहेको र यी दुई देशबिच रोटीवेटीको सम्बन्धसमेत रहेकाले बहादुरगन्जलाई मेडिकल टुरिजमका रूपमा विकास गर्न सम्भव हुने उनको तर्क थियो । यसका लागि स्वास्थ्योपचारमा दक्षता एवम् सहजता अपरिहार्य रहेको उनको भनाइ थियो ।
स्थानीय पालिकाले यो अस्पताललाई अपनत्व ग्रहण गर्नेतर्फ उनले ध्यानाकर्षण गराए । नेपाल–भारत सीमावर्ती बजारका स्थानीयबासी बहादुरगन्जलाई मेडिकल टुरिजम हब बनाउन सकिनेमा आशावादी छन् । ‘भारतमा भन्दा नेपालको बहादुरगन्जमा आँखाको उपचार धेरै राम्रो र सस्तो पनि छ, यसलाई अझै सुविधासम्पन्न बनाउनु आवश्यक छ’, बहादुरगन्ज आँखा अस्पतालमा मोतियाविन्दुको उपचार गर्न आएका अमित गुप्ता भन्छन् । त्यसो त भारतको सीमा जोडिएको उत्तर प्रदेशका मात्र नभएर बिहार प्रदेशबाट बहादुरगन्जमा आँखाको उपचार सेवा लिन आउने गरेको अस्पताल प्रशासनका प्रमुख जसराज विकले बताए । सिजनमा यो अस्पतालमा दैनिक एक सय जनासम्मको मोतियाविन्दुको शल्यक्रिया हुने गरेको जसराजको भनाइ थियो ।
यो अस्पताललाई थप स्तरीय बनाएर बहादुरगन्ज क्षेत्रलाई मेडिकल टुरिजमका रूपमा विकास गर्न आफू पनि प्रतिबद्ध रहेको नेपाल नेत्रज्याति संघका केन्द्रीय सदस्य तथा नेत्रज्याति संघ दाङका सभापति कृष्णकुमार गिरीले बताए । यसका लागि प्रदेश सरकार तथा कपिलवस्तुका स्थानीय सरकारसँग आफूले सहकार्य गर्ने गिरीको भनाइ थियो । यसका लागि नेत्रज्याति संघ कपिलवस्तुसँग सहकार्य र समन्वय गर्ने उनले बताए ।
नयाँ सुविधा–सम्पन्न भवनबाट सेवा
यसैबिच नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज अन्तर्गत सञ्चालित (कालेबाबु) नारायणी आँखा अस्पताल बहादुरगन्जमा आँखा उपचार सेवा सुरु भएको छ । सो अस्पताल भवन एवम् कर्मचारी आवास भवनको बुधवार विधिवत रूपमा उद्घाटन गरिएको छ ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा नेत्रज्योति संघ दाङका सभापति कृष्णकुमार गिरीको अध्यक्षता तथा नेपाल नेत्रज्योति संघका केन्द्रीय अध्यक्ष प्राडा चेतराज पन्तको प्रमुख आतिथ्यता एवम् संविधान सभा सदस्य अभिषेकप्रताप शाह, प्रदेश सभा सदस्य अर्जुनकुमार केसी, जानकीप्रसाद यादव, संघका बरिष्ठ उपाध्यक्ष श्यामकुमार पोखरेल, जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यान्नद शर्मा, जग्गादाता नारायणी शाह, कृष्णनगर नगरपालिका नगर प्रमुख रजतप्रताप शाह, एकएबिपी.नेपालका प्रोजेक्ट म्यानेजर सुरेखा गुरुङको विशिष्ट अतिथ्यतामा भएको कार्यक्रममा अस्पताल भवनको उद्घाटन तथा शिलालेखको केन्द्रीय अध्यक्ष प्राडा पन्त र कर्मचारी आवास भवनको संविधान सभा सदस्य शाहले गरेका थिए ।
सो अवसरमा विभिन्न पालिकाका प्रमुख, प्रतिनिधि, राजनीतिक दलका प्रमुख प्रतिनिधि संघसंस्था, प्रशासन समाजसेवी संघका पदाधिकारीको सहभागिता रहेको थियो । कार्यक्रममा आँखा स्वास्थ्य कार्यक्रमका प्रमुख प्रशासक तथा भवन निर्माण समितिका सदस्य सचिव डा. सम्शेर थापाले नेपाल नेत्रज्योति संघ आँखा स्वास्थ्य कार्यक्रमले गरेका कार्य लुम्बिनी प्रदेश तथा कपिलवस्तुमा दृष्टिविहीनताको अवस्था, भवन निर्माणको प्रक्रिया र निर्माण कार्यको विषयमा जानकारी र अस्पतालका प्रशासकीय अधिकृत जसराज विश्वकर्माले अस्पतालले दिएको सेवा तथा भवन निर्माणको विषयमा जानकारी गराएका थिए ।
नेपाल नेत्रज्योति संघ दाङका उपसभापति रेशमबहादुर खड्काको स्वागतबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव घनश्याम सुवेदीले गरेका थिए । दातृ निकाय एनएबिपी नर्वे, लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालय र आर्थिक मन्त्रालय तथा अस्पतालको आन्तरिक स्रोतमा निर्माण भएको अस्पताल भवनको कुल सात करोड १६ लाख ३९ हजार लागत स्टिमेट रहेकोमा वार्ड भवनको चार करोड ३९ लाख ८० हजार र्दुई सय ७६ रुपैयाँ २१ पैसामा वार्ड भवनको निर्माण कार्य सम्पन्न भएको छ । लागत स्टिमेटभन्दा दुई करोड ७६ लाख ५९ हजार एक सय रुपैयाँ २१ पैसा कम लागतमा निर्माण भएको बताइएको छ । बहादुरगन्जमा दाता स्व.छन्दबहादुर शाह र नारायणी शाहले उपलब्ध गराएको १७ कट्ठा जग्गामा एक सय बेडको चारतले वार्ड भवन निर्माण भएको हो ।
यसैगरी अस्पताल परिसरभित्र दुईतलाको १४ कोठा रहेको कर्मचारी आवास भवनको निर्माणसमेत सम्पन्न भएको छ । संविधान सभा सदस्य अभिषेक प्रताप शाहको क्षेत्र विकास कोषबाट प्राप्त ५० लाख, कृष्णनगर नगरपालिकाको १५ लाख, विजयनगर गाउँपालिकाको पाँच लाख, बुद्धभूमि नगरपालिकाको पाँच लाख, एकएबिपी नर्वेको आठ लाख ८१ हजार आठ सय ८६ रुपैयाँ ९७ पैसा र अस्पतालको आन्तरिक स्रोतसमेत गरी १ करोड ३० लाख ७८ हजार लागत स्टिमेट रहेको कर्मचारी आवास भवनको एक करोड २८ लाख २९ हजारमा निर्माण भएको प्रशासकीय अधिकृत जसराज विश्वकर्माले जानकारी दिए ।
हाल कर्मचारी आवास भवनमा नेत्र विशेषज्ञसहित १३ जना कर्मचारी बस्दै आएका छन् । कार्यक्रममा प्रदेश सभा सदस्य अर्जुनकुमार केसी, जानकीप्रसाद यादव, कृष्णनगर नपाका प्रमुख रजतप्रताप शाह, जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्मा, एनएबिपी नेपालका प्रोजेक्ट म्यानेजर सुरेखा गुरुङ, नेपाली कांग्रेस कपिलवस्तुका उपसभापति हुमकान्त खनाल, राप्रपाका डा अखिलेश्वर पाण्डे, नेपाल समाजवादी पार्टीका रहिस शाह, जनमत पार्टीका बाल्जीप्रसाद यादव र जनता समाजवादी पार्टीका अजित सिंहले शुभकामना मन्तव्य गरेका थिए । नेपाल नेत्रज्योति संघ दाङका उपसभापति रेशमबहादुर खड्काको स्वागतबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव घनश्याम सुवेदीले गरेका थिए ।
