calander

December 2025
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031  

Goraksha

National Daily

घोराहीमा अदालती पत्रकारिता तालिम सुरु

गोरक्ष समाचारदाता
दाङ, २९ फागुन । घोराहीमा तीनदिने अदालती रिर्पोटिङसम्बन्धी पत्रकारिता तालिम सुरु भएको छ । नेपाल पत्रकार महासंघ दाङ शाखाको आयोजना तथा घोराही उपमहानगरपालिकाको सहयोगमा अदालती पत्रकारिता तालिम सुरु भएको छ ।

नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष सन्तोष सुवेदीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै घोराही उपमहानगरपालिका प्रमुख नरूलाल चौधरीले तालिमले अदालत, कानून र न्यायसम्बन्धी जानकारीसँगै समाचार लेख्ने, खोज अनुसन्धानमा सहयोग गर्ने बताए । अदालतमा हुने प्रक्रिया, कानूनी व्यवस्थासँगै प्राविधिक कुराको ज्ञान गराउने र यसले समाचार लेखनमा सहयोग गर्ने बताए ।

आम जनताले न्यायसम्बन्धी विषयलाई सही तरिकाले बुझन सक्ने गरी समाचार लेखिनुपर्ने भन्दै नगर प्रमुख चौधरीले तालिमले कानूनी प्रक्रिया र न्यायसम्बन्धी विषयहरू स्पष्ट गराउन पत्रकारलाई सहयोग गर्ने बताए । नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले दीर्घकालीन रूपमा पत्रकारिता गर्नेका लागि पत्रकारले विषय केन्द्रित हुनुपर्ने बताए । पत्रकारमा बिट केन्द्रित पत्रकारिता महत्वपूर्ण हुने बताउँदै हरेक पत्रकारले आफ्नो दक्षता कुन विषयमा हो त्यो स्पष्ट भएर अघि बढ्नुपर्ने बताए ।

यसैगरी उनले पत्रकारितामा माध्यमभन्दा सामग्रीको गुणस्तर प्राथमिकतामा हुनुपर्ने भन्दै राम्रो विषय छनोट र प्रस्तुत गर्नसक्ने क्षमता भए माध्यमले फरक नपार्ने बताए । ‘रेडियो, टिभी, पत्रिका वा सामाजिक सञ्जाल जहाँ पत्रकारिता गरे पनि विषय छनोट र प्रस्तुति महत्वपूर्ण हुन्छ’, निवर्तमान केन्द्रीय अध्यक्ष पोख्रेलले भने, ‘त्यसका लागि पत्रकारले गहन रूपमा अध्ययन, अनुसन्धान गरी विश्लेषण गर्न सक्ने गरी क्षमता विकासमा ध्यान दिनुपर्छ ।’

नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले अदालती पत्रकारिता तालिम नयाँ विषय भएकाले यसले न्याय प्रणालीसम्बन्धी रिपोर्टिङमा पत्रकारलाई सहयोग गर्ने बताए । उनले जिल्लामा नयाँ खालको तालिम भएको भन्दै उनले सक्रियतापूर्वक सहभागी भएर तालिमबाट ज्ञान सिक्न र त्यसलाई व्यवहारमा लागु गर्नुपर्ने बताएका थिए । कार्यक्रममा बोल्ने अन्य वक्ताले नयाँ विषयमा पत्रकारिता तालिम भएको र यसबाट पत्रकारले धेरै कानून तथा प्राविधिक विषयमा ज्ञान हासिल गर्नसक्ने बताएका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका पूर्वअध्यक्ष एवम् प्रेस स्वतन्त्रता सेनानी सुशील गौतम, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव पाण्डव शर्मा, नेपाल पत्रकार महासंघ दाङ शाखाका पूर्व अध्यक्षहरू दुर्गालाल केसी, सुदीप गौतम, केबी मसाललगायतले मन्तव्य व्यक्त गरेका थिए । तालिमको पहिलो दिन तालिममा जिल्ला न्यायाधिवक्ता योगेन्द्रप्रसाद ढुङ्गेलले अदालती फैसला, आदेश, थुनछेक बहस, मुद्दाको प्रकृतिलगायतका विषयमा जानकारी गराएका थिए ।

नेपाल पत्रकार महासंघका केन्द्रीय पूर्वअध्यक्ष पोख्रेलले अदालती पत्रकारिताको परिचय, रिपोर्टिङ गर्दा ध्यान दिनुपर्ने कुरा र जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक कविराज रोकायाले प्रहरीमा दिइने जाहेरी, ठाडो उजुरी, थुनुवा कक्ष, गोपनीयतालगायतका विषयमा प्रशिक्षण दिएका थिए । नेपाल पत्रकार महासंघ दाङ शाखाका उपाध्यक्ष ओपेन्द्र बस्नेतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण महासंघका सचिव जेएन सागरले गरेका थिए ।