calander

March 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  

Goraksha

National Daily

साइकल दौडमा सागर र एन्जिला प्रथम

गोरक्ष समाचारदाता
देउखुरी, २९ फागुन । राप्ती गाउँपालिकाले आफ्नो नवौं स्थापना दिवसको अवसरमा बुधवार साइकल दौड प्रतियोगिता आयोजना गरेको छ । साइकल दौड प्रतियोगितामा पुरुषतर्फ राप्ती गाउँपालिका वडा नम्बर ३ का सागर चौधरी र महिलातर्फ वडा नं. ५ निवासी एन्जिला चौधरीले प्रथम स्थान हासिल गरेका छन् ।

प्रतियोगितामा पुरुषतर्फ वडा नं. ३ कै विक्रम चौधरी द्वितीय र वडा नंं. २ का वीरबहादुर कुमाल तृतीय, महिलातर्फ वडा नं. ७ निवासी पुष्पा चौधरी द्वितीय र वडा नं. ६ निवासी प्रमिला चौधरीले तृतीय स्थान प्राप्त गरेका छन् । विजेतालाई क्रमशः सात हजार, पाँच हजार र तीन हजार पाँच सय रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगितामा राप्ती गाउँपालिका भित्रका १६ महिलासहित ७२ जनाको सहभागिता रहेको थियो ।

‘प्रकृतिसँगै दौडौँ, पर्यापर्यटन बढाएर विकासमा जुटौँ’ भन्ने नाराका साथ भएको प्रतियोगितामा राप्ती पालिका वडा नं. ३ को बसन्तापुरदेखि वडा नं. ६ को मझेरियासम्म आठ किलोमिटर दुरीमा दौड प्रतियोगिता सञ्चालन गरिएको थियो । राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले स्थानीयस्तरमा खेलकुदका गतिविधिलाई प्रवर्धन गर्दै पर्यटन क्षेत्रको विकास गर्ने उद्देश्य अनुसार साइकल दौड प्रतियोगिता सुरु गरेको बताए ।

साइकल प्रयोगले व्यक्तिगत स्वास्थ्यसँगै वातावरण संरक्षणमा मद्दत गर्ने भएकाले प्रतियोगिता आयोजना गरिएको भन्दै अध्यक्ष विष्टले भने, ‘पहिलो पटक आयोजना गरिएको प्रतियोगितामा उत्साहजनक सहभागिता रहेको छ । साइकल दौडालाई आगामी दिनमा थप व्यवस्थित गर्दै अघि बढाउने छौँ ।’ गाउँपालिका उपाध्यक्ष कमलापती चौधरीले साइकल यात्रा शारीरिक र आर्थिक रूपमा लाभदायक हुने बताइन् । प्रमुख प्रशासकीय अधिकृत देवीराम पाठकले पछिल्लो समय विलासीपन बढ्दै गएकाले यस्ता प्रतियोगिताले त्यसलाई न्यूनीकरण गर्न मद्दत गर्ने बताएका थिए ।