पिएम कपमा आज एपिएफ र मधेस प्रदेश भिड्दै

गोरक्ष समाचारदाता
दाङ, २९ फागुन । नेपाल टेलिकम प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत विहीवार लमही स्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा विभागीय टिम एपिएफ र मधेस प्रदेश आमने–सामने हुँदैछन् । एपिएफ र मधेस प्रदेश बिचको खेल निकै रोमाञ्चक तथा प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ । एपिएफका कप्तान तथा राष्ट्रिय पुरुष टोलीका कप्तानसमेत रहेका रोहितकुमार पौडेलले आफू लमहीको देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा पहिलो पटक खेल्न लागेकाले उत्साहित भएको बताएका छन् ।
रङ्गशालामा बुधवार आयोजना गरिएको पत्रकार सम्मेलनमा एपिएफका कप्तान पौडेलले नयाँ खेल मैदानमा खेल्न थालेकाले आफूहरूले सकेसम्म राम्रो खेलेर जित निकाल्ने गरी तयारीमा रहेको बताए । ‘विकेट कस्तो खेल्छ, पिचमा पुगेपछि थाहा होला तर हामी राम्रो क्रिकेट खेल्नेछौँ, एपिएफ सन्तुलित टिम बनेको छ’, कप्तान पौडेलले भने । लमहीमा बनेको क्रिकेट रङ्गशालाको मैदान र पूर्वाधारले आफूलाई उत्साहित बनाएको बताए । ‘फिल्ड हेर्दा, प्यारापिट, पूर्वाधार हेर्दा म खुसी छु ।
नेपालमा यति पूर्वाधार सम्पन्न खेल मैदानमा अझै बनेका छैनन् । यसले घरेलु क्रिकेट प्रतियोगिताका लागि यो निकै राम्रो मैदान बनेको पाएको छु । यसले भोलिका दिनमा खेल आयोजनासँगै खेलाडी उत्पादनमा भूमिका खेल्नेछ’, कप्तान पौडेलले भने, ‘हामीले पिएम कपबाट नयाँ खेलाडी उत्पादन हुने आशा गरेका छौँ ।’ मधेस प्रदेशका कप्तान अनिलकुमार शाहले यस अघि देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा आइसके पनि खेल नखेलेको हुँदा विहीवार एपिएफसँग हुने खेललाई महत्वका साथ लिएको बताए । विगतदेखि विभागीय टिमले घरेलु प्रतियोगितामा प्रभाव देखाउँदै आएको हुँदा यो पटकको पिएम कपमा मधेस प्रदेशले आफ्नो खेल प्रस्तुत गर्ने बताए ।
‘विभागीय टिमसँग खेल्दा प्रदेश टिमको एक खालको प्रेसर त हुन्छ तर हामी सामान्य रूपमा मैदानमा उत्रिएर खेल्नेछौँँ, कप्तान शाहले भने, ‘भोलि जसले राम्रो क्रिकेट खेल्नेछ उसैले जित्नेछ ।’ लुम्बिनी प्रदेशमा क्रिकेट पूर्वाधारसँगै प्रतियोगिता हुने क्रम बढेको हुँदा लमहीको देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला भोलिका दिनमा थुप्रै प्रतियोगिताका लागि अवसर सिर्जना गर्ने बताए । गत संस्करणको पिएम कपबाट उत्कृष्ट प्रदर्शन गर्दै राष्ट्रिय टिममा सहभागी भएका मधेस प्रदेशका कप्तान शाहले पिएम कपलाई आफ्नो जीवनको महत्वपूर्ण अवसरका रूपमा लिएको बताउँछन् । पिएम कपले आफूलाई राष्ट्रिय टिमको ढोका खोलेका हुँदा नयाँ खेलाडी उत्पादनमा सहयोग पुग्ने बताए ।
नेपाल क्रिकेट संघ क्यानको आयोजना, प्रदेश क्रिकेट संघको समन्वय तथा दाङ क्रिकेट संघको व्यवस्थापनमा जारी प्रतियोगितामा यी दुई टिमको खेल निकै प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ । जारी प्रतियोगितामा एपिएफले बाग्मतीलाई हराउँदै दुई अङ्क जोड्दै अङ्क तालिकाको तेस्रो स्थानमा छ भने मधेस प्रदेशले पनि कोशी प्रदेशलाई हराउँदै दुई अङ्कका साथ तालिकाको चौथो स्थानमा छ । फागुन २५ गतेबाट सुरु भएको पिएम कपमा तीन विभागीयसहित सात प्रदेशका टिम सहभागी छन् । विभागीय त्रिभुवन आर्मी क्लब दुई खेलमा दुई जितसहित चार अङ्कका साथ अङ्क तालिकाको शीर्ष स्थानमा छ ।