calander

March 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  

Goraksha

National Daily

मेरो खुशी : २० वर्षे उमेरमै शिक्षालयको प्रिन्सिपल …

महिना गते मलाई याद भएन । वर्ष भने २०६७ सालको हो । एचए पास गरेर मैले प्राइभेट जागिर खाएको एक वर्ष मात्रै पुगेको थियो । दाङ टेक्निकल कलेजमा कर्मचारी भर्ना भएको एक वर्षपछि सोही कलेजमा प्रिन्सिपलको भ्याकेन्सी खुल्यो । मैले पनि एप्लाइ गरेँ । लिखित र मौखिक जाँच भएको थियो । हामी प्रिन्सिपलका लागि ७ जनाले प्रतिस्पर्धा गरेका थियौँ । अन्तर्वार्तामा म प्रिन्सिपलमा छनोट भएँ । त्यो बेला म भर्खर २० वर्ष मात्र पुगेको थिएँ ।

‘लेखिदिनु होला मेरो खुसी २० वर्षकै उमेरमा टेक्निकल कलेजको प्रिन्सिपल’, आफ्नो खुसीलाई व्यक्त गर्दै हाल तुलसीपुर कारागारमा जनस्वास्थ्य निरीक्षकको रूपमा कार्यरत द्रोणबहादुर वलीले भने । वलीकै भाषामा उनी कलेजमा प्रिन्सिपल भएको खुसी सबैभन्दा पहिले घरमा पुगेर बुवाआमालाई साटे । उहाँहरूले मलाई ‘मुरीमुरी बधाई, यस्तै अरू थुप्रै ठाउँमा सफल हुँदै गएस् वावु !’ भनेर बुवाले भनेको मैले अहिले पनि झल्झल्ती सम्झन्छु । त्यो दिन मैले साथीभाइलाई मिठाइ बाँडेर आफ्नो खुसी बाँडेको थिएँ । त्यो दिनको साँझ घरमा पनि बेग्लै मिठोमसिनो पाकेको थियो, प्रिन्सिपल भएको खुसियालीमा । यसले मलाई सानै उमेरमा नेतृत्वको जिम्मा सुम्पियो । त्यसपछि म जहाँ हुन्छु, सायद नेतृत्वमै पुग्न लालायित हुन्छु अर्थात् जुनसुकै क्षेत्रमा पनि नेतृत्वका लागि तयार हुनु मेरो आदत बनेको छ । आफ्नो खुसीलाई यसरी स्मरण गर्छन्, वली ।

त्यसरी नै उनले खुसीको क्षणलाई निजामती प्रवेशको चौतारोतर्फ लगे । ‘हाम्रो पुस्तामा कसैले सरकारी जागिर खाएका थिएनन् । मैले विसं २०७० मा अहेवको पदमा लोक सेवा परीक्षा दिएको थिएँ । लिखित र मौखिक परीक्षा पास गरिसकेपछि जब म रोल्पाको करेटी स्वास्थ्यचौकीमा पोस्टिङ भएँ । त्यो मेरो अर्को अविस्मरणीय खुसीको क्षण थियो । बुवाआमाको सानैदेखि मलाई निजामती जागिरे बनाउने चाहना थियो तर म निजामती सेवामा प्रवेश गरिरहँदा बुवा चित्रबहादुर वली र आमा गोमा वलीको असामयिक निधन भइसकेको थियो ।

हाराहारी पचास वर्षकै उमेरमा बुवा र आमाको निधन भयो । यो खुसीमा मेरो दुःख पनि मिसिएको छ, किनकि मैले खुसी साट्ने मेरा भगवानहरूको निधन भइसकेको थियो । तैपनि उहाँहरूको प्रेरणालाई मैले कहिलै भुल्ने छैन । निजामती सेवाको प्रवेशले मलाई अहिलेसम्म निरन्तर यही सेवामा डो¥याइरहेको छ । खरिदार सरहको पदमा निजामती सेवामा झुन्डिएको म अहिले अधिकृत तहसम्म स्वास्थ्य सेवामै छु । त्यसो त द्रोणको खुसी विश्वव्याधिका रूपमा फैलिएको कोरोनाका सङ्क्रमितहरूको स्वास्थ्योपचारसँग पनि जोडिएको छ । मुलुकमा कोभिड–१९ को सङ्क्रमण व्यापक बन्दै गएको थियो ।

मुलुक लकडाउनको अन्तिम तयारीमा थियो । भारतलगायत विदेशबाट आउने हरेक नागरिकलाई क्वारेन्टाइनमा राख्नुपर्ने अवस्था थियो । निजी तथा सरकारी अस्पताल समेतले कोरोनाका बिरामीलाई सकेसम्म भर्ना गर्न मान्ने अवस्था थिएन । त्यसैबेला लुम्बिनी प्रदेश सरकारले नेपाल संस्कृत विश्वविद्यालयको आयुर्वेद स्नातक तह बिएएमएस अध्ययन भवनलाई कोरोना विशेष अस्पताल बनाउने निर्णय ग¥यो । विसं २०७६ चैत ११ गतेको दिन द्रोणलाई सोही अस्पतालको व्यवस्थापक बनाउने निर्णय लुम्बिनी प्रदेश सरकारले ग¥यो । त्यो कहालीलाग्दो क्षणलाई पनि अहिले द्रोणले अविस्मरणीय खुसीका रूपमा लिन्छन् ।

लेखिदिनुहोला, ‘कोरोना सङ्क्रमितको उपचारको अवसर पनि मेरो अविस्मरणीय खुसी हो । करिब दुइ÷तीन वर्षबिचको कोरोना सङ्क्रमणमा बेलझुण्डी कोरोना विशेष अस्पतालले कम्तिमा एक हजार चार सय ९६ जनाको उपचार गरेको थियो । ‘ती बिरामीमा एकजना मै पनि हुँ, सङ्क्रमित भएकै कारण त्यो सालको दसैँ पनि मैले त्यही अस्पतालमा मनाएको थिएँ’, द्रोण स्मरण गर्छन् ।

कोरोना कालमा बेलझुण्डी अस्पतालमै करिब ९२ जनाले ज्यान गुमाएका थिए । त्यो त्रासादीपूर्ण क्षणलाई उनी खुसीकै क्षणका रूपमा लिन्छन्, किनकि त्यहां स्वास्थ्यकर्मीहरूले एक हजार बढीलाई मृत्युको मुखबाट जोगाउन सफल भएका थिए । अर्को संयोग उनी कोरोना अस्पतालमा स्वास्थ्य सेवामा जोडिएकै बेला घरमा श्रीमती सुत्केरी भएकी थिइन् । उनले सुत्केरी र नवजात शिशुको स्याहार गर्न समेत पाएका थिएनन् ।

यही सङ्क्रमणकालमा स्वास्थ्य सेवामा गरेको उनको योगदानले नै उनलाई तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रवल जनसेवाश्री पुरस्कार दिलाउन सफल भएको थियो । यसलाई पनि उनले अविस्मरणीय खुसीका रूपमा स्मरण गर्छन् । त्यसो त उनले जिल्ला प्रशासन कार्यालय दाङ र स्वास्थ्य कार्यालय दाङबाट पनि सम्मान पाएका छन् । सरल स्वभाव र मिहिनेतका प्रर्याय द्रोण यसै साता स्वास्थ्य क्षेत्रमा क्रियाशील निजामती कर्मचारीहरूको संस्था राष्ट्रिय कर्मचारी महासंघ लुम्बिनी प्रदेशको अध्यक्षमा सर्वसम्मत रूपमा निर्वाचित भएका छन् ।

पाँच जना प्रत्यासीबिचको सहमतिमा उनी सर्वसम्मत रूपमा नेतृत्वमा चुनिनुलाई पनि उनले खुसीकै रूपमा सम्झन्छन् । जहाँ पुग्छन् उहीँ द्रोणको नेतृत्व स्थापित हुन्छ । उनी गएको २४ गते मात्र स्वास्थ्यकर्मी संघ लुम्बिनी प्रदेशको अधिवेशनमा अध्यक्ष निर्वाचित भएका थिए । यो दिनलाई पनि उनले आफ्नो खुसीको दिनका रूपमा स्मरण गर्छन् । विसं २०४६ असार ३ गते तुलसीपुर उपमहानगरपालिका—२ तकियापुरमा जन्मिएका द्रोणबहादुर वलीले प्राथमिक तहसम्मको शिक्षा बालापुरको जनप्रिय बोर्डिङ स्कुलबाट सकाए ।

त्यसपछि तुलसीपुर उपमहानगरपालिका—७ बम्नैको पब्लिक ज्ञानज्योति माविबाट हाइस्कुल उत्तीर्ण गरे । त्यसपछि उनी प्राविधिक शिक्षामा जोडिए । बुटवलमा रहेको रम्वादेवी कलेज अफ मेडिकल साइन्सेजबाट हेल्थ असिस्टेन्ट उत्तीर्ण गरेपछि उनी तुलसीपुरको राप्ती बबई क्याम्पसमा बिएड र एमएड स्वास्थ्य शिक्षा विषयमा उत्तीर्ण गरे ।

एचए उत्तीर्ण गर्दै उनी तुलसीपुरको राप्ती लाइफ केयर अस्पताल जागिरे पनि बने । त्यसपछि उनी दाङ टेक्निकल कलेजमा पनि केही वर्ष अस्थायी जागिरे बने । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उनले केही समय अस्थायी जागिर खाएपछि मात्रै लोक सेवा उत्तीर्ण गरेर विसं २०७० मा रोल्पाको करेटी स्वास्थ्यचौकीमा पोस्टिङ भए ।

अहिले उनी तुलसीपुर कारागारमा जनस्वास्थ्य निरीक्षक पदमा कार्यरत रहिरहँदा तुलसीपुरमै स्थापना भएको दाङ टेक्निकल कलेज, राप्ती लाइफ केयर, तुलसीपुर सर्जिकल हाउस, मालिका मेडिकल तुलसीपुरका सञ्चालक सदस्यको भूमिकामा समेत रहेका छन् । भन्छन्, खुसी मिहिनेत पछिको सन्तुष्टि हो ।

प्रस्तुति : खेमराज रिजाल