calander

March 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  

Goraksha

National Daily

होटल व्यवसायीको हकहित र पर्यटन प्रवर्धनका लागि काम गर्ने छौँ : अध्यक्ष बुढा[अन्तर्वार्ता]

दाङ देउखुरी होटल व्यवसायी समिति दुई दशक अघि स्थापना भएको समिति हो । व्यावसायिक हकहितसँगै जिल्लामा पर्यटन क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेल्दै आएको समितिको भर्खरै सम्पन्न १२औँ अधिवेशनबाट सर्वसम्मत अध्यक्षमा इश्वर बुढा निर्वाचित भएका छन् ।

कोरोना सङ्क्रमणसँगै आर्थिक मन्दीका कारण समस्यामा परेको होटल व्यवसायलाई चलायमान बनाउनका लागि विगत एक दशकदेखि समितिको विभिन्न पदमा रहेर काम गरेका नवनिर्वाचित अध्यक्ष ईश्वर बुढासँग होटल व्यवसायीको वर्तमान अवस्था, व्यवसायमा देखिएका चुनौती र आगामी योजनाबारे गोरक्ष दैनिकको सातावार्ताका लागि गोरक्षकर्मी लीलाधर वलीले गरेको कुराकानीको सार सङ्क्षेप ।

 दाङ देउखुरी होटल व्यवसायी समितिको अध्यक्षमा निर्वाचित हुनुभएको छ, होटल व्यवसायको प्रवर्धनका लागि के योजना बनाउनुभएको छ ?

 दाङ लुम्बिनी प्रदेशको राजधानी भएको जिल्ला हो । जिल्लामा करिब दुई हजारको हाराहारीमा होटल व्यवसाय रहेका छन् । दाङ देउखुरी होटल व्यवसाय समितिमा पहिले दर्ता भएको तथ्याङ्कलाई मात्र हेर्ने हो भने एक हजार पाँच सय ८७ वटा होटल सङ्ख्या देखिन्छ । अहिले नविकरण भएका होटल करिब एक सय ८४ मात्र छन्, यो अवस्था किन आयो ? यसको मुख्य समस्या पहिचान गरेर समाधान गर्न आवश्यक छ । पछिल्लो समय दाङ देउखुरी होटल व्यवसायी समितिसँगै तुलसीपुर र देउखुरी क्षेत्रमा पनि छुट्टै समिति गठन भएका छन् । ती समितिलाई मूलघरसँगै सहकार्य गरेर अघि बढ्ने वातावरण निर्माण गर्नुछ ।

त्यसका लागि राम्रो काम गरेर व्यवासयीको मन जित्न आवश्यक छ । देउखुरीको भालुबाङमा प्रादेशिक राजधानी स्थापनासँगै साना ठुला होटेल थपिने क्रम बढेको छ । यो आवश्यकता पनि हो । जिल्लामा होटल व्यवसायका क्षेत्रको प्रवर्धनका लागि धेरै काम गनुपर्ने आवश्यकता देखिएका छन् । व्यावसायिक हकहितसँगै परम्परागत रूपमा चलेका होटल व्यवसायलाई व्यवस्थित गर्नुपर्ने आवश्यक छ । त्यसका लागि होटल तथा रेस्टुरेन्टको सरसफाइ, गुणस्तर सुधारका लागि तालिम, सरसफाइमा ध्यान दिनुपर्छ । सञ्चालकले सरसफाइमैत्री वातावरण, पर्याप्त जनशक्ति व्यवस्थापनमा ध्यान दिनुपर्छ ।

 हाल होटल व्यवसायीका लागि देखिएका चुनौतीहरू केकस्ता छन्, समाधानका लागि के योजना बनाउनुभएको छ ?

 दाङमा साना ठुला गरेर दुई हजार बढी होटेल व्यवसाय रहेका छन् । त्यसमा साना खाजा पसलदेखि रेस्टुरेन्ट, लज र ठुला प्रकृतिका होटेल रहेका छन् । चार प्रकारका होटलहरूका आ–आफ्नै समस्या रहेका छन् । समग्र रूपमा साझा समस्या भनेको रात्रिकालीन समयमा चल्न नपाउनु हो । होटल व्यवसाय चल्ने समय भनेको खास गरी रातकै समयमा हो तर जिल्लामा अहिले पनि होटेल व्यवसाय १० बजेसम्म निर्धक्क रूपमा चलाउन सक्ने अवस्था छैन । यसको अन्त्य हुनुपर्छ ।

घोराही जिल्लाको प्रमुख सहर हो, यहाँ होटेल व्यवसाय कम्तिमा ११ बजेसम्म निर्धक्क रूपमा सञ्चालन गर्न पाउनुपर्छ भन्ने व्यवसायीको माग छ । त्यसका लागि व्यवसायीले ध्यान दिनुपर्छ, व्यवसायीलाई सुरक्षा दिने राज्यको जिम्मेवारी हो । समितिले कम्तिमा ११ बजेसम्म होटेल चल्न पाउनुपर्ने माग गर्दै आएको छ । यस बारेमा जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालयमा कुरा राखेर देशका अन्य सहरजस्तै घोराहीमा पनि रारातको ११ बजेसम्म व्यवसाय सञ्चालन गर्नसक्ने वातावरण गरी त्यो व्यवस्थाका लागि पहल गर्ने छौँ । व्यवसायीले भोग्नुपर्ने अर्को समस्या बत्तीको समस्या हो ।

लोडसेडिङ छैन भन्ने तर दैनिक रूपमा झ्याप्प–झ्याप्प विद्युत जाने समस्याले फ्रिजलगायतका सामग्रीमा बिग्रिदा व्यवसायी मारमा परेकाले त्यो गर्मी समयमा झन बढ्ने भएकाले त्यसको अन्त्यका लागि समेत सम्वन्धीतनिकायलाई ध्यानाकर्षण गराउन चाहन्छौँ । त्योसँगै होटेल व्यवसायलाई गुणस्तरीय बनाउन ध्यान दिनुपर्ने छ । कतिपय होटेलमा सरसफाइमा ध्यान नदिनेगरेको, खाना र नास्तामा प्रश्न उठ्ने गरेकाले त्यसको अन्त्य गर्नुपर्छ । त्यससँगै होटेल व्यवसायमा खाजा, नास्तालगायतका सामग्रीमा एकरुपता ल्याउन आवश्यक छ । सस्तो नाममा प्रचारप्रसारभन्दा स्वच्छ, सफा र गुणस्तरीय सेवामा ध्यान दिनु पर्छ ।

 दाङ देउखरीलाई पर्यटकीय गन्तव्यका रूपमा अघि बढाउनका लागि होटल व्यवसायीले कसरी भूमिका खेल्न सक्छन् ?

 पर्यटन व्यवसायको आधारशीलाका रूपमा होटेल व्यवसाय रहेको छ । होटल व्यवसायबिना पर्यटन क्षेत्रको विकास हुन सक्दैन । दाङलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नसक्ने प्रशस्त सम्भावना छन् । जिल्लामा भएका धार्मिक एवम् ऐतिहासिक क्षेत्रसँगै साहसिक पर्यटन, थारू, मगर संस्कृति र परम्परामा आधारित होटल तथा होमस्टेहरू निर्माण गरेर पर्यटकहरूलाई स्थानीय जीवनशैलीको अनुभव प्रदान गरेर भूमिका खेल्न सकिन्छ । त्यसका लागि गुणस्तरीय सेवासँगै प्रचारप्रसार आवश्यक छ । त्यसैलाई महसुस गरेर हामीले जिल्लामा पहिलो पटक डिजिटल प्रविधिका माध्यमबाट प्रचारप्रसार गर्ने योजना बनाएका छौँ ।

होटेल व्यवसायी समितिले वेवसाइट निर्माण गरेर दाङको होेटेल व्यवसायको प्रचारप्रसारसँगै घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई जानकारी दिने गरी काम गर्ने योजनामा छौँ । दाङ देउखुरी लुम्बिनी प्रदेशको राजधानी भएकाले तीन तहका सरकारसँगै निजी क्षेत्रसँग सहकार्य गरेर पर्यटन क्षेत्रको विकासका लागि काम गर्ने पनि योजना छ । खास गरी हामीले अतिथि सत्कार, खानपान, सुरक्षा र स्वच्छतामा उच्च मापदण्ड कायम राखेर गुणस्तरीय सेवा सुनिश्चितता गर्नेमा ध्यान दिने छौँ । होटलहरूमा स्थानीय खाद्य पदार्थ, हस्तकला सामग्री र सांस्कृतिक प्रदर्शनहरू प्रस्तुत गरेर स्थानीय उत्पादनको प्रवर्धन गर्न सक्छन् ।

 होटल तथा रेस्टुरेन्टहरूको सरसफाइ र गुणस्तर सुधार गर्न केकस्ता कदम चाल्नुहुन्छ ?

 होटल तथा रेस्टुरेन्टको सरसफाइ र गुणस्तर सुधार गर्न विभिन्न उपायहरू अपनाउन सकिन्छ । खास गरी सरसफाइको सवालमा सञ्चालकले ध्यान दिन सके धेरै कुरा सुधार गर्न सकिन्छ । कतिपय अवस्थामा चाहँदा नचाहँदै पनि कतिपय काम गर्न नसकिने अवस्था हुनसक्छ । त्यस्तो अवस्थामा सञ्चालक, कामदारलाई तालिमको आवश्यकता पर्न सक्छ । तालिमका माध्यमबाट कर्मचारीलाई खाद्य सुरक्षा, सरसफाइ, व्यक्तिगत स्वच्छता र अतिथि सत्कारसम्बन्धी ज्ञान दिनु आवश्यक छ । तालिमसँगै व्यवहारमा लागु भए नभएको अवस्था पहिचानका लागि नियमित रूपमा अनुगमनको व्यवस्था गर्नुपर्छ ।

 स्थानीय सरकार र अन्य व्यावसायिक संस्थाहरूसँग सहकार्य गरेर होटल व्यवसायलाई अगाडि बढाउनेबारे के योजना बनाउनुभएको छ ?

 हो, स्थानीय सरकार तथा अन्य व्यावसायिक संस्थाहरूसँग सहकार्य गरेर होटल व्यवसायलाई व्यवस्थित गर्दै अघि बढ्ने योजनामा छौँ । भर्खरै संस्थाको नेतृत्वमा आएकाले पहिले समस्या र चुनौती केकस्ता छन् त्यो बुझ्न आवश्यक छ । होटल व्यवसायी समितिलाई आगामी दिनमा कसरी अघि बढाउन सकिन्छ भनेर सुझाव सङ्कलनका लागि आजै हामीले संघको कार्यालयमा सुझाव सङ्कलनका लागि कार्यक्रम आयोजना गरेका छौँ ।

कार्यक्रममा सहभागीबाट आएका सकारात्मक कुराहरूलाई ग्रहण गरेर आगामी दिनमा स्थानीय सरकारसँगको सहकार्यबाट सरसफाइ, पूर्वाधार सुधार, पर्यटन प्रवर्धन तथा आवश्यक नीति निर्माणमा ध्यान दिने छौँ । त्यससँगै अन्य व्यावसायिक संघसंस्थासँग मिलेर होटेलमा कार्यरत कर्मचारीलार्ई तालिम, गुणस्तर सुधार, ग्राहक सेवा अभिवृद्धि तथा नवीनतम प्रविधिको प्रयोगलाई प्रोत्साहित गर्ने गरी योजना बनाउने तयारीमा छौँ । साथै स्थानीय उत्पादन तथा स्रोतहरूको उपयोग गर्दै दिगो तथा वातावरणमैत्री पर्यटनलाई प्रवर्धन पर्यटन महोत्स तथा प्रचारप्रसारलगायतका अभियान सञ्चालन गरी होटल व्यवसायको विस्तार गर्न पहल गर्ने छौँ ।

 अन्त्यमा, होटल व्यवसायी तथा सेवाग्राहीका लागि तपाईँको सन्देश के छ ?

 होटल व्यवसायी तथा सेवाग्राहीका लागि मेरो सन्देश भनेको सरसफाइ, गुणस्तर र ग्राहक सन्तुष्टिलाई प्राथमिकता दिँदै दिगो तथा उत्तरदायी पर्यटन प्रवर्धनमा लाग्नुपर्छ भन्ने हो । व्यवसायीले उत्कृष्ट सेवा, स्वच्छ वातावरण तथा स्थानीय स्रोतसाधनको सदुपयोगमा ध्यान दिनुपर्छ भने सेवाग्राहीले गुणस्तरीय सेवा तथा वातावरणमैत्री अभ्यासहरूलाई प्रोत्साहन गर्नुपर्छ भन्ने मलाई लाग्छ ।

स्थानीय सरकार, व्यावसायिक संघसंस्था तथा समुदायसँग सहकार्य गरी होटल व्यवसायलाई अझ व्यवस्थित, सुरक्षित र आकर्षक बनाउन सबै पक्षले आ–आफ्नो भूमिका निभाउन आवश्यक छ । होटेल व्यवसायमा भएका राम्रा कार्यको प्रचारसँगै कमीकमजोरीलाई सुधारका लागि सञ्चारका क्षेत्रबाट लेखेर बोलेर सहयोग गर्न आवश्यक छ । अन्त्यमा होटेल व्यवसायको वर्तमान अवस्था र आगामी योजनाबारे केही कुरा राख्ने अवसर दिनुभएकोमा धन्यावाद ज्ञापान गर्न चाहन्छु ।