रेडक्रसका हरेक अभियानमा प्रदेश सरकारको साथ : पूर्वमुख्यमन्त्री चौधरी

गोरक्ष समाचारदाता
बिजौरी, २८ फागुन । नेपाल रेडक्रस सोसाइटी दाङको ४१औँ साधारणसभा मङ्गलवार तुलसीपुर उपमहानगरपालिकाको बिजौरीमा सम्पन्न भएको छ । मानवतालाई जीवित राखौँ भन्ने भावनाका साथ सुरु भएको साधारणसभामा प्रमुख अतिथिको तर्फबाट बोल्दै लुम्विनी प्रदेशका पूर्वमुख्यमन्त्री तथा प्रदेश सभा सदस्य डिल्लीबहादुर चौधरीले नेपाल रेडक्रस सोसाइटीका हरेक सामाजिक अभियानमा प्रदेश सरकार सँगै रहने अभिव्यक्ति दिए ।
रेडक्रस राजनीतिज्ञका लागि प्रेरणाको स्रोत रहेको उल्लेख गर्दै प्रमुख अतिथि चौधरीले मुलुकमा आइपर्ने हरेक विपत्का घडीमा नेपाल रेडक्रस सोसाइटीको अग्रणी भूमिका रहेको भन्दै सामाजिक सेवालाई अझै प्रभावकारी ढङ्गले अघि बढाउन रेडक्रसलाई आग्रह गरे । ‘प्राकृतिक विपत्का बेला रेडक्रसले निर्वाह गर्दै आएको अहम भूमिकालाई हामी सधैँ स्मरण र उच्च सम्मान गर्दछौँ, रेडक्रसको विपत् कोषमा कुन चिजको आवश्यक छ, त्यो पूरा गर्न प्रदेश सरकार तयार छ’, प्रमुख अतिथि चौधरीले भने । दाङ रेडक्रसले बाढीको प्रकोपमा होस् वा कोरोना भाइरसको सङ्क्रमण जस्ता महामारी जुनसुकै अवस्थामा अटल भएर समाज सेवा र स्वास्थ्य सेवा गरिरहेको प्रमुख अतिथि चौधरीले स्मरण गरे ।
नेपाल रेडक्रस सोसाइटी बिजौरी शाखाको आतिथ्यतामा सम्पन्न साधारणसभामा शुमकामना व्यक्त गर्दै कार्यक्रमका विशिष्ट अतिथि तथा तुलसीपुर उपमहानगरपालिका प्रमुख टीकाराम खड्काले रेडक्रसले विगतदेखि वर्तमानसम्म गरेको सामाजिक सेवाभावको उच्च प्रशंसा गरे । बाढीको प्रकोपमा होस् वा भूकम्पको कठिन अवस्थालगायत आगजनीका प्रभावितलाई पुनःस्थापन गर्ने सन्दर्भमा रेडक्रसको भूमिका सराहनीय भएको भन्दै रेडक्रसका अभियानलाई जीवन्त बनाउन स्थानीय सरकार सधैँ साथ रहने प्रतिबद्धता व्यक्त गरे ।
नेपाल रेडक्रस सोसाइटी दाङका सभापति मदन गौतमको अध्यक्षतामा भएको कार्यक्रममा बिमल केसीले संस्थाको वार्षिक सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष खुसल तर्तालले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा विगतदेखि हालसम्म नेपाल रेडक्रस सोसाइटीका अभियानलाई प्राथमिकता दिएर योगदान पु¥याएको भन्दै पूर्व जिल्ला सभापति भरत न्यौपाने, रेडक्रस सदस्य प्रेमबहादुर न्यौपाने, साक्षी खबर साप्ताहिकका प्रधान सम्पादक राकेश बस्नेत, गोरक्ष राष्ट्रिय दैनिकका कार्यकारी सम्पादक खेमराज रिजाल, नयाँ युगबोध राष्ट्रिय दैनिकका पत्रकार एकराज भण्डारीलगायतलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बिजौरी शाखाका सभापति बालकृष्ण रेग्मी, बिजौरी उद्योग वाणिज्य संघका अध्यक्ष रेश्मीराज खड्का, नेपाल रेडक्रस सोसाइटीमा केन्द्रीय सदस्य भगवती शर्मा, पूर्व उपसभापति भरतप्रसाद न्यौपाने, राप्ती प्रादेशिक अस्पताल विकास समितिका अध्यक्ष पदमप्रसाद न्यौपाने, संवाद समूहका सहजकर्ता सुशील बस्नेतलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण नेपाल रेडक्रस सोसाइटी दाङका मन्त्री प्रकाश श्रीवन्तले गरेका थिए । साधारणसभाको बन्दसत्रले उपमन्त्री बिमल केसी र कोषाध्यक्ष कुसल तर्तालले प्रस्तुत गरेको प्रतिवेदन सर्वसम्मत रूपले पारित गरेको नेपाल रेडक्रस सोसाइटी बिजौरी उपशाखाका सचिव मुकेश वलीले जानकारी दिएका छन् ।