हामी र हाम्रो स्वाभिमान

नारायणप्रसाद श्रेष्ठ
नेपाल आफैँमा भूस्वर्ग मानिन्छ । विश्व इतिहासलाई साक्षी राखी हेर्ने हो भने नेपालको प्राकृतिक सौन्दर्य र भूवनोट साच्चिकै उदाहरणनीय रुपले प्रस्तुत भएको पाइन्छ । समथर भूभागदेखि उच्च हिमशिखर, पहाड, कन्दरा, हरिया वनपाखा यहाँका अमूल्य निधि मानिन्छ ।
ऋषिमुनिहरुको तपोभूमि पाँच पाण्डवको बासस्थान सरयु नदीको मुहान हिमवत खण्ड समथर र उर्वराभूमि उच्च हिमशिखर र शिखरबाट झरेका पवित्र जलाधार लताकुञ्ज, मठमन्दिर, संस्कृति र संस्कार यस भूमिको गहना मानिन्छ । इमानदारी र लगनशीलता नैतिक आचरण र व्यावहारिक जीवनशैली यस क्षेत्रको सम्पत्ति मानिन्छ ।
नीति र नैतिकतामा आधारित जीवनशैली यहाँको गरिमा हो । यहाँ के छैन ? मानवीय उत्कृष्ट चरित्रको जल्दोबल्दो प्राकृतिक सत्य यहाँ छ । समन्वयवादी संस्कृति र संस्कार छ । अनेकथरि परिवेश तथा विविधता हुँदाहुँदै पनि एकको लागि सबैसबैको लागि एक हुने एकता छ । माया, स्नेह र पवित्रताको उद्गम स्थलको परिचय बोकेर निस्केको गङ्गाको धार अविरल बगिरहने जीवन जल यहाँ छ । स्वच्छ र पवित्र झरना छ । समथर भूमिका हरिया फाँटदेखि पहाडका मनोरम रस्ती, बस्ती, हरियाली वनपाखा, खोलानाला, तालतलैया, हिमशिखर जसले सिङ्गो नेपालको अस्तित्व बचाउन निरन्तर गतिशील छन् । ती सबै पर्यटकीय गन्तव्यलगायत सिङ्गो विश्वलाई आफूतिर आकर्षित गर्ने पर्यटकीय गन्तव्य यहाँ छ ।
मनै लोभ्याउने सुन्दरता छ । स्वच्छ हावापानी अक्सिजनको भण्डार, पवित्र विचारको उद्गमस्थल, चन्द्रमाको शीतलता, सूर्यको न्यानो माया, मनै लोभ्याउने सिरसिरे हावा, यहाँ सदाबहार गुन्जायमान भएर प्रष्फुटित भइरहेको छ । नुन, सुन, कोइला, तामादेखि हिरा, मोतीलगायत विभिन्न खनिज पदार्थ यहाँ पाइन्छ । यहाँको हरेक भूभागमा विश्वमा नपाइने दुर्लभ वन्यजन्तुको वासस्थान पनि छ । यसरी सबै चिजले परिपूर्ण भएको भूस्वर्गमा विश्वको आँखा लाग्नु कुनै अस्वभाविक होइन । केवल हाम्रो सोच र चिन्तनमा त्यसको व्यवस्थापकीय पक्ष कसरी बलियो बनाउने त्यो सोचको कमी छ ।
यसरी विश्वसामु पहिचान बोकेको हाम्रो भूस्वर्गलाई विश्वको आकर्षक गन्तव्य बनाउन सबै लाग्न जरुरी भइसकेको छ । यहाँका हरेक आत्माभित्र सरलता र शिष्टता छ । यो कुरा पर्यटकले बुझेका छन् । पर्यटक भएर आउने प्रत्येक पाहुनाको लागि यहाँ आदर सम्मान छ । लोक संस्कृति र संस्कारयुक्त जीवनशैलीले शृङ्गारिएको हाम्रो व्यवहारगत आचरण छ । पाहुनालाई ईश्वरको रुप सम्झेर पुज्ने, सत्कार गर्ने संस्कृति छ । शान्ति र सद्भावपूर्ण जीवन चरित्र विश्वसामु परिचित छ । यति मात्र होइन, शान्ति र आनन्दको छायाँ बनेर सबैको भलो चिताउने सदीक्षा छ । यसरी सदियौँदेखि मानवीय मूल्य र मान्यतालाई विश्वसामु पहिचान गरी अघि बढेको हाम्रो प्रकृति, हाम्रो संस्कार, हाम्रो लागि वरदान साबित भएको छ ।
तसर्थ यस्तो मनमोहक प्रकृतिको उपहार भएर जीवन्त रहेको हाम्रो आदर्श संस्कृति र अस्तित्वलाई वर्तमानमा केही चाटुकार छाडा प्रवृत्ति र मनोगत विचार लाद्न चाहने नीति निर्माताले केही छाडा र गतिहीन प्रवृत्ति झल्काउने गतिछाडा अनर्थक प्रयास गरेका पनि देखिन्छन् । परायाको इसारा र विचारमा आफूलाई आत्मसमर्पण गराउँदै यसको गरिमा र प्रतिष्ठालाई सौदा गरिरहेका छन् । यसले सिङ्गो नेपाली मानसिकतामा अप्ठ्यारो स्थिति ल्याउन खोजेको देखिन्छ ।
हाम्रो आदर्श र धीरतालाई कमजोर ठानी वर्तमान समयमा केही नेतृत्वपङ्क्तिले नेपालीको स्वतन्त्र विचारलाई आफ्नो पेवा बनाउने गलत प्रवृत्ति गराउन खोज्दै गरेको, सोझासाझा नेपालीलाई उकास्दै गरेको पनि भेटिन्छ । बुढी मरी भन्ने होइन काल पल्कियो भन्ने परिस्थिति बनाउन खोज्दैछन् । गमलामा सजाइएको फूललाई बिक्री गरे झैँ हाम्रो बागबगैँचाको सुन्दरतामाथि सौदा गरिँदैछ । बिरामीलाई धनले र मर्यादालाई दौलतले सुक्री बिक्री गर्ने संस्कृति सिर्जना गर्न खोजिँदैछ । आस्था र विश्वासको आधारमा सनातन सत्यलाई स्वीकार गरिएको धार्मिक स्वतन्त्रतालाई जबर्जस्ती कुल्चन खोजिँदैछ ।
धर्मलाई अपवित्र र अमर्यादित गतिविधि गर्न उक्साउँदै गलत मार्गतिर धकेलिँदै छ । सनातन सत्यलाई पन्छ्याउनु, अपराध गर्नु तथा अरुलाई होच्याउनु, अरुको संस्कृति र संस्कारविपरीत कार्य गर्नु अपराध हो भनी जान्दाजान्दै गतिहीन र छाडा प्रवृत्ति भिœयाउन उनीहरुले खोजिरहेका छन् । अपराधलाई ढाकछोप गर्ने प्रवृत्तिलाई बढावा दिँदैछन् । ‘कहीँ नभएको जात्रा हाँडी गाउँ’मा भनेझैँ, नयाँको नाममा पुरानो अमन, चयनलाई चुनौती दिने व्यवहार प्रदर्शन गर्न खोजिँदै छ। सुशासन कायम गरी आम नागरिकलाई सुरक्षा दिई अमन चैन कायम गर्नेतर्फ प्रशासनिक संरचनामा नयाँ प्रविधि ल्याउनुको बदला पुरानै प्रवृत्ति दोहोरिने गरी मर्मत गरी प्रशासनिक संरचना बनाइँदैछ ।
आज्ञाकारी हुक्के, आसेपासे, जमात बढाउन लागिपरेको देखिँदैछ । जनप्रतिनिधिलगायत नेतृत्वकर्तालाई रकममा सटही गरी उनीहरुको मानसिकतामा चकलेटको लेपन लगाउँदै गरेको देखिन्छ । कमजोर आर्थिक अवस्था हुँदाहुँदै पनि ऋणमाथि ऋणको बोझ थप्दै परम्परा र संस्कारमा नयाँपन ल्याउने नाममा विकृति र विसङ्गति बढाइँदैछ । हाम्रो गौरव, हाम्रो स्वाभिमान, हाम्रो मिहिनेत, समृद्धिको आधार भनी जनतामा नयाँ उर्जा थप्नुको बदला आफ्नो मौलिकपनलाई बङ्ग्याउने कार्यतर्फ नीतिज्ञको ध्यान बढ्दै गएको देखिँदै छ ।
यस्तो परिस्थिति सिर्जना गर्नमा कसैलाई दम्भ छ भने कोही मौकामा चौका हान्ने दाउमा राष्ट्रिय परिस्थितिको उचित मूल्याङ्कन नगरी मुकदर्शक भएर हेरिरहेका पनि देखिन्छन् । नेतालाई राष्ट्रिय स्वार्थभन्दा वर्गीय चिन्तनले धपक्क ढाकेको छ । परिस्थिति आफू अनुकूल नभई प्रतिकूल हुन गए अपराध जन्माउँछ भन्ने जान्दाजान्दै आगोको भुमरीमा आफ्नो गौरवमय गाथालाई झोसिँदै गरेको पनि देखिन्छ । यसरी नेपाल र नेपाली आचरण तथा अस्तित्वप्रति कुदृष्टि राख्ने नेता हाम्रो देशमा च्याउ उम्रिए झैँ उम्रन लागेको त होइनन् ?
आफ्नो पौरख र पसिनाको मूल्य बुझेका नेपालीलाई सुविधा र ललीपापमा भुलाई उनीहरुलाई आलस्यताको ट्याब्लेट खुवाई आफ्नो हैकम र साम्राज्य चलाउने र जनतालाई विलासितातिर धकेल्ने दुष्प्रयास गरेका त होइनन् ? तसर्थ भूस्वर्ग भएर प्रस्तुत भएको हाम्रो मान, शान, इज्जत, प्रतिष्ठा र छविलाई धमिल्याउने जुन प्रयास केहीबाट भइरहेको छ, वास्तवमा उनीहरुले आफ्नो खुट्टामा आफैँ बन्चरो हान्दै गरेका हुन् । आफ्नो दायित्वबोध नगरी गलत आचरण प्रदर्शन गरेका हुन् ।
अब सोच्नुपर्ने बेला आएको छ । कतै हामी हाम्रो मर्यादा र गौरवलाई कौडीको मूल्यमा तौलँदै गरेका त छैनौँ ?श्रम र पसिना बगाई आफ्नो अस्तित्व कायम गरेर बस्न चाहने नेपाली मनलाई कुम्भकर्ण घुसाउन खोजिएको त होइन ? प्रकृतिको नियमसँग बाँधिएर रमाइरहेको हाम्रो नैतिक आचरणलाई कतै विदेशी भूमिमा सौदा गरिएका त होइनौं ? हाम्रो आस्थाको चिनारी के गमलामा सजाइएको फूल बनाउन खोजिएको हो ? पुर्खाको लगानी के सीमित स्वार्थ परक भावनामा अङ्कुरित थियो ? हाम्रो दिमागमा भरिएको पराधीन चिन्तालाई अप्रेसन गर्न के अब सिटी–स्क्यान गरी विकारलाई हटाउनुपर्ने त होइन ?
गम्भीर भएर सोचौँ । हाम्रो विगतको आचरण र वर्तमानको कार्यशैलीप्रति एकपटक घोरिएर चिन्तन गरौँ । कस्तो संस्कृति हामी भिœयाउँदै छौँ । प्रकृतिको पौरखी भएर हुर्केको हाम्रो ज्ञानको भण्डारलाई नैतिकताको बलियो आधारले सच्याउँदै सामाजिक सुसंस्कृति कायम गर्न अब हामी अलमलिनु हुँदैन । प्रकृतिमा हुर्किएको बिरुवाले घामपानी, हुरीबतास, खडेरी सहेर आफूलाई जसरी हुर्काएको हुन्छ, भेदभावबिना आफ्ना गुण बाँडिरहेको हुन्छ, अझ भनौँ संस्कारको विकास गरेको हुन्छ, सुवास छरिरहेको हुन्छ, सुन्दर बगैंचालाई सुन्दरताको जलपले सिँगारिरहेको हुन्छ ।
के त्यो संस्कृति नेपाली आचरण होइन ? त्यसैले हाम्रो पुर्खाले सम्हाली आएको हाम्रो फूलबारी जहाँ राष्ट्रिय अस्तित्व र चिन्तन हुर्किएको छ, त्यो नेपाली साहस र वीरताको चिनारी दिन अझै सशक्त भएर अघि बढ्न वर्तमान खोजिरहेको छ ? समय परिवर्तन भएझैँ मन पनि परिवर्तन भइरहने सत्यलाई मनन् गरी भड्किरहेको मनलाई एकाग्र गरी कुनै गलत कार्य नगरौँ । भूस्वर्ग भएर रहेको हाम्रो अस्तित्वलाई साँच्चिकै भूस्वर्ग भएर प्रस्तुत हुने वातावरणको सिर्जना गरौँ । हाम्रो नेपाल हामी नेपाली, हाम्रो स्वाभिमान र हाम्रो संस्कृति भनी विश्वसामु उच्च मनोबलका साथ अघि बढौँ । समय यही खोजिरहेको छ । अस्तु ।