फन भ्यालीमा होली विशेष कार्यक्रम हुने

गोरक्ष समाचारदाता
दाङ, २८ फागुन । होली पर्वको अवसरमा घोराही स्थित होटल दाङ फन भ्याली प्रालिमा विशेष साङ्गीतिक कार्यक्रम आयोजना गरिने भएको छ । यस सम्बन्धमा मङ्गलवार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरी प्रालिमा होली विशेष साङ्गीतिक कार्यक्रम आयोजना गरिने जानकारी दिइएको हो ।
चैत्र १ गते शुक्रवार होलीको उल्लासलाई थप रोमाञ्चक बनाउन साङ्गीतिक कार्यक्रम आयोजना गर्न लागिएको हो । कार्यक्रममा राष्ट्रिय लोकप्रिय गायक रमेशराज भट्टराई, मोडेल आशा विश्वकर्मा, गायक तथा कार्यक्रम उद्घोषक कोश खड्का र स्थानीय कलाकार ममता केसी, इशुका चौधरीलगायतको प्रस्तुति रहने होटल सञ्चालक समितिका अध्यक्ष मिनराज घिमिरेले जानकारी दिए । होटलका म्यानेजिङ डाइरेक्टर नरेशकुमार श्रेष्ठका अनुसार दाङका सङ्गीतप्रेमीलाई लक्षित गर्दै आयोजना गरिने यो कार्यक्रममा दर्शकले प्रत्यक्ष प्रस्तुति, डिजे, रङ्गको मजा, मनोरञ्जन तथा स्विमिङ पुलको अनुभव गर्न सक्नेछन् ।
स्थानीय र राष्ट्रिय कलाकारको सहभागिता रहने भएकाले कार्यक्रमलाई थप आकर्षक बनाउन विशेष प्रविधि र व्यवस्थापनको तयारी गरिएको छ । म्यानेजिङ डाइरेक्टर श्रेष्ठले भने, ‘दर्शकको सुरक्षाका लागि १५ सय टिकट मात्र बिक्री गरिने र सहजता र मनोरञ्जन सुनिश्चितता गर्न विशेष योजना बनाइएको छ ।’ होली पर्वको अवसरमा साङ्गीतिक रमाइलोसँगै दाङका स्थानीय व्यवसाय, पर्यटन प्रवर्धन र सांस्कृतिक माहोल सिर्जना गर्न यो कार्यक्रम महत्वपूर्ण हुने अपेक्षा गरिएको छ । होटल दाङ फन भ्याली प्रालिले विगत दुई वर्षदेखि लगातार होली विशेष कार्यक्रम गर्दै आएको छ । कार्यक्रममा प्रवेशका लागि. सात सय शुल्क तोकिएको आयोजकले जानकारी दिएको छ ।