दाङ उवासंघले स्थापना दिवस मनाउँदै

हिमाल महरा
दाङ, २८ फागुन । दाङ जिल्ला उद्योग वाणिज्य संघले आफ्नो स्थापना भएको ५५ वर्ष पूरा भएको अवसरमा विविध कार्यक्रम गरी मनाउने भएको छ । स्थापना दिवसका अवसरमा फुटबल प्रतियोगिता, स्लो मोटरसाइकल तथा स्कुटी प्रतियोगिता, हाजिरीजवाफ, बक्तृत्वकला, ब्याडमिन्टन, कुर्सीदौड, दौड र बोरादौडजस्ता खेलकुद तथा बौद्धिक प्रतियोगिता सञ्चालन गर्ने भएको छ ।
संघका अध्यक्ष वसन्त जोशीको अध्यक्षतामा मङ्गलवार बसेको बैठकले प्रतियोगिता सञ्चालनका लागि विभिन्न उपसमिति गठन गरेको छ । फुटबल प्रतियोगिताका लागि विक्रम राना, पुष्कर न्यौपाने र रुद्र शर्मा जैसी सदस्य रहेको उपसमिति गठन गरेको छ । स्लो बाइक तथा स्कुटी प्रतियोगिताको जिम्मेवारी निमबहादुर बुढाथोकीलाई दिएको छ । हाजिरीजवाफ प्रतियोगिताका लागि विष्णुप्रसाद रिजाल र सुरज बुढाथोकी, ब्याडमिन्टन प्रतियोगिताका लागि लीला नेपाली, कुर्सीदौडका लागि दीपक पण्डित, दौडका लागि रामप्रसाद पोख्रेल तथा बोरादौडका लागि युवराज पोख्रेलको संयोजनमा उपसमिति गठन गरेको छ ।
संघका महासचिव महेन्द्र बुढाथोकीका अनुसार बैठकले २०औँ साधारणसभा आगामी चैत १६ गते गर्ने निर्णय गरेको छ । साधारणसभाका लागि अतिथि सत्कार समितिमा निवर्तमान अध्यक्ष टंकसिंह बुढाथोकी, मायाको चिनो तथा मञ्च व्यवस्थापनका लागि सचिव विकास वली र २०८२ सालको भित्तेपात्रो प्रकाशन समितिमा सहकोषाध्यक्ष माधव खनाल संयोजक रहने गरी नोर्वु लामा, दीपक पण्डित, युवराज पोख्रेल र विष्णुप्रसाद रिजाल सदस्य रहेको समिति गठन गरिएको छ ।
प्रतियोगितामा सहभागी हुन चाहनेले नवीकरण गरिएको प्रमाणपत्रको फोटोप्रति अनिवार्य रूपमा पेस गर्नुपर्ने संघले जनाएको छ । दाङ जिल्ला उद्योग वाणिज्य संघको स्थापना २०२७ सालमा भएको थियो र यस वर्षको स्थापना दिवस आगामी चैत ९ गते दीप प्रज्वलन गरी मनाउने संघका सचिव विकास वलीले जानकारी दिए ।