थारू समुदायको वैवाहिक संस्कार परिमार्जित

निता चौधरी
तुलसीपुर, २८ फागुन । थारू समुदायमा माघ र फागुन महिनालाई विशेष गरी विवाहको महिनाको रूपमा लिने गरिन्छ । विवाहलाई थारू भाषामा ‘भ्वाज’ भनिन्छ । माघ र फागुन महिना बाहेक अन्य महिना जस्तै असोज, कात्तिक, मङ्सिर, वैशाख, असार महिनामा परेका लगनको शुभ दिनमा विवाह नहुने भन्ने भने होइन । अन्य महिनामा पनि विवाह गर्न मिल्छ र हुन्छ पनि ।
विगतदेखि नै हुँदै पनि आएका छन् तर थारू समुदायमा विशेष गरी माघ र फागुन महिनालाई विवाहको महिनाका रूपमा लिइन्छ । थारू समुदायको विवाहमा हुने संस्कार र उपसंस्कार अन्य समुदायभन्दा भिन्नै हुन्छ । जुन विवाहका संस्कार उपसंस्कार थारू समुदायबाहेक अन्य समुदायमा गरिँदैन र अन्य समुदायको परम्परा, संस्कारसँग मेल पनि खाँदैन । ती संस्कार र उपसंस्कार पछिल्लो समय लोप हुँदै गएका छन् ।
नयाँ पुस्ता यो विषयमा जानकार नै छैनन् भने पुराना पुस्ताले समेत चासो नदेखाएको पाइन्छ । सबैजना आधुनितामा रमाउन थालिसकेका छन् । कहीँकतै आफ्ना परम्परागत मौलिक संस्कारलाई संरक्षण गर्नुपर्छ भन्ने सोचाइ देखिए तापनि नयाँ पुस्ताले त्यसलाई स्वीकार गदैनन्, कारण पुराना पुस्ताले यी परम्परा तथा संस्कारको महत्व र आवश्यकताबारे नबुझ्नु र नबुझाउनु नै रहेको थारू समुदायका अगुवाहरू बताउँछन् ।
विज्ञान र प्रविधिको विकाससँगै अबका नयाँ पुस्ता आधुनिक र नयाँ कुरामा भिज्न थालेका छन् । उनीहरूलाई आफ्नो भन्दा अरूको संस्कार। संस्कृति मनपर्न थालिसक्यो । आफ्नो संस्कारभन्दा देखावटी र देखासिकीमा थारू समुदायको संस्कार परिणत हुन थालेको छ । यसलाई संरक्षण गर्न चुनौती रहेको थारू संस्कार संस्कृतिका जानकार बताउँछन् ।
थारू समुदायमा हुने विवाहको मात्रै कुरा गरिरहँदा विवाह एउटा संस्कार हो भने यसभित्र धेरै उपसंस्कार पनि छन् । एउटा उपसंस्कार र संस्कृतिमा थारूहरूको भेषभूषा पर्दछ । थारू समुदायको विवाहमा लगाइने भेषभूषाको आफ्नै परम्परा छ तर उक्त मौलिक भेषभूषा पछिल्लो समय लोप हुँदै गएको छ । विवाहमा लगाउने थारू परम्परागत गरगहनासँगै भेषभूषा लगाउन छोडिएको थारू समुदायका अगुवा बताउँछन् । थारू समुदायको विवाहमा दुलहा र दुलहीले लगाउने भेषभूषा सेतो रङको हुन्छ । जुन अन्य समुदायको भन्दा फरक हुने गर्दछ ।
दुलहाले लगाउने चौबन्दी (मार्किन भन्ने कपडाको सेतो रङको भोटी), लहङ्गा (लङ्घौटी), टाउकोमा लगाउने पगिया (सेतो कपडा), दुलहीले लगाउने चोल्या, १२ हातको लामो फ¥या (साडी जस्तै कपडा), बरोहर, घुम्टो जस्ता कपडाहरू लगाउने गरिन्छ । यस्तो भेषभूषा आजभोलि लगाउन छोडेको तुलसीपुर–५ का सुशीला चौधरीले बताइन् । ५५ वर्षीया सुशीलाले आफ्नो विवाहमा यस्तो भेषभूषा लगाएको स्मरण गर्दै अब त पुराना दिनर, जमाना सबै फेरिएको बताउँछिन् । ‘हाम्रो पुस्ताको विवाहमा सबै थारू सेतो लगाव नै लगाएर विवाह हुन्थ्यो अब त कसैले पनि लगाउँदैनन्’, उनले भनिन् ।
गत वर्ष मात्रै तुलसीपुर १० की सचिता चौधरीको विवाहमा दुलहा र दुलहीलाई थारू मौलिक भेषभूषा लगाएर विवाह गरियो । उनीहरूको विवाहमा सरिक भएका सबैले धेरै वर्षपछि थारू समुदायको विवाहमा लगाइने भेषभूषा लगाएको देख्न पाएकोमा हर्षित भए भने सचिताको विवाहको तस्बिर सामाजिक सञ्जालमा पनि आयो । धेरैले थारू समुदायको विवाहको भेषभूषा, संस्कृति देख्न पाइयो भनेर खुसी हुँदै यसलाई संरक्षण गर्नुपर्छ भन्ने कुराले सचिताको गाउँमा व्यापकता पायो ।
तुलसीपुर–१० की २१ वर्षीया सुस्मिता चौधरीले विवाहमा लगाइने मौलिक परम्परागत भेषभूषा पहिलोपटक आफ्नै साथीको विवाहमा देखेको बताइन् । ‘बुवाआमा, हजुरबुवा, हजुरआमाले भनेको मात्रै सुनेको थिएँ, कहिलेकाहीँ फोटो देखेको थिएँ तर प्रत्यक्ष यस्तो कपडा पहिलो पटक देखेँ’, उनले भनिन् । सचिता र सुस्मिताको गाउँमा सचिताको विवाहपछि धेरैको विवाह भयो तर कसैले मौलिक भेषभूषा लगाएनन् ।’ सुस्मिताले भनिन्, ‘गाउँमा भएका सबैको विवाहमा जान त सकिनँ तर फोटो सबैको देखेँ । सबैले आधुनिक भेषभूषा नै लगाएर विवाह गरे । यसरी त हाम्रो संस्कृति कसरी संरक्षण गर्न सकिएला र ?’, उनले भनिन् ।
संस्कृतिका जानकारको चिन्ता
आफ्नोभन्दा पनि अरूको भेषभूषा राम्रो देख्नु, नयाँनयाँ डिजाइनका साडी, लेहेङ्गालगायतका आधुनिक कपडाप्रति आकर्षित हुनु, दोस्रो समुदायको प्रभाव पर्नु, आफ्नो मौलिक संस्कृतिको महत्व नबुझ्नु, आफ्नो समुदायको भेषभूषाको महत्वबारे अगाडिका पुस्ताले जानकारी नगराउनुका कारण लोप हुँदै गएको थारू संस्कृतिका जानकार छविलला कोपिलाले बताउन् । यसैगरी थारूहरूको संस्कृति अलिखित भएकाले थारूको संस्कृति लोप हुँदै गएको उनको भनाइ छ । मौलिकता जोगाउन विशेष चाडपर्व, विवाह जस्ता विशेष कार्यक्रममा थारू समुदायका नागरिकले मौलिक परम्परागत भेषभूषा लगाउन आवश्यक रहेको कोपिला बताउँछन् ।
यसै गरी थारू संस्कृतिविद् अशोक थारूले पछिल्लो समय भेषभूषामा आधुनिकतासँगै विभिन्न विकृति भित्रिरहेको बताए । विवाहमा दुलहाले टाउकोमा लगाउने पगिया जसलाई थारू भाषामा ‘पग्या’ भनिन्छ । ‘यो पग्या विशेष पद धारण गरेको व्यक्तिलाई दिने सम्मानको एउटा सूचक अर्थात् प्रतीक हो । अहिले सहजै बुझ्ने भाषामा भन्दा एक प्रकारको मेडल हो । राजाकालीन समयमा दिइने श्रीपेच जस्तै हो’, उनले भने, ‘त्यसकारण यो पग्या लगाउनेमा आजभोलि केही विकृति आएको जस्तो मलाई लाग्छ । दुलहालाई लगाउने पग्या अब त थारूहरूको विभिन्न कार्यक्रममा प्रमुख अतिथि, अतिथिहरूलाई लगाइदिने गरिन्छ ।’ जुन यो विकृतिको रूपमा फैलिरहेको जस्तो आफूलाई लागेको संस्कृतिविद् थारूले बताए । पग्याको उदाहरण दिँदै यस्ता थुप्रै विकृत चालचलनहरू भित्रिँदै गएको भन्दै उनले सांस्कृतिक विचलनलाई रोक्नुपर्ने बताए । ‘लोक सांस्कृतिक परम्परालाई बचाउन सकिएन भने थारूहरूको पहिचान नै मेटिएर जानेछ’, उनले भने ।
थारूहरूको संस्कृति अलिखित भएकाले संरक्षण र पुस्तान्तरणमा केही समस्या रहेको संस्कृतिविद् थारूको भनाइ छ । परम्परागत संस्कृति संरक्षणका लागि संयुक्त राष्ट्रसंघ (युनेस्को) ले ‘आइएलओ ओन सिस्स नाइन’ महासन्धि जारी गरेको छ । जसको बुँदा नंबर १ मा भाषासहितको मौखिक पराम्परा भनेर उल्लेख गरिएको छ । आदिवासी जनजातिहरूको सांस्कृतिक पहिचानका लागि आइएलओ महासन्धिल जारी गरेको उनले बताए । युनेस्को जस्तो संस्थाले हाम्रो संस्कृतिबारे महासन्धि नै जारी गरेको छ भने यसमा कतै हामी नै संरक्षणमा चुकिरहेका छौँ कि जस्तो लाग्ने गरेको उनले बताए ।