स्तरोन्नति हुँदै घोराही–घोरदौरा सडक
गोरक्ष समाचारदाता
दाङ, २७ फागुन । घोराहीमा पर्यटन मार्गको स्तरोन्नतिको काम धमाधम भइरहेको छ । घोराही उपमहानगरपालिका–१८ अन्तर्गत घोराही–घोरदौरा सांस्कृतिक डबली पर्यटन सडकको स्तरोन्नतिको काम धमाधम भइरहेको छ ।
घोराहीको विकट बस्तीका रूपमा रहेको घौरदौरालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने उद्देश्यले सडक निर्माणको कामलाई सरकारले अघि बढाएको सडक पूर्वाधार विकास कार्यालय दाङका इन्जिनियर लोकेन्द्र पुनले जानकारी दिएका छन् । इन्जिनियर पुनका अनुसार पर्यटन सडक अन्तर्गत घोराही–घोरदौरा सडकखण्डको उकालो, अप्ठेरो ठाउँमा ढलान, नाला निर्माणसँगै भिरालो ठाउँमा जाली लगाउने लगायतका काम भइरहेका छन् ।
चालु आर्थिक वर्षको जेठ मसान्तभित्र सडक स्तरोन्नतिको काम सक्ने गरी गत वर्ष भएको ठेक्का सम्झौता अनुसार मोनालिसा उर्मिला निर्माण सेवा दाङले सडक निर्माणको काम गरिरहेको इन्जिनियर पुनले बताए । इन्जिनियर पुनले भने, ‘बिग्रिएको ठाउँमा मर्मतसँगै जाली लगाउने, ढलान, नाला निर्माणलगायतका काम भइरहेको छ ।’ उनका अनुसार उक्त सडकमा प्रदेश सरकारसँगै पछिल्लो समय सङ्घीय सरकारले पनि सडक निर्माणका लागि बजेट विनियोजन गरेको छ ।
जेठ मसान्तसम्म स्तरोन्नतिको काम सक्ने गरी काम भइरहेको छ । ४० लाख रुपैयाँ बजेटमा गत वर्ष काम सक्ने गरी नकुल इन्जिनियरिङ कन्सलटेन्सी एन्ड कन्स्ट्रक्सन प्रालिले ठेक्का पाएको भए पनि उक्त निर्माण कम्पनीले काम नगरेपछि यो वर्ष मोनालिसा उर्मिला निर्माण सेवाले सडक निर्माणको ठेक्का प्राप्त गरेर सडक स्तरोन्नतिको काम गरिरहेको बताए । सडकको बाँकी रहेको स्तरोन्नतिको कामका लागि २७ लाखको स्टिमेट भए पनि २० लाख २२ हजार चार २१ रुपैयाँमा भएको ठेक्का सम्झौता अनुसार अहिले काम भइरहेको बताए ।
उनका अनुसार समयमा काम नगरेको नकुल इन्जिनियरिङ कन्सलटेन्सी एन्ड कन्स्ट्रक्सनलाई कार्यालयले एक लाख १९ हजार तीन सय ३३ रुपैयाँ जरिवाना तिराएको छ । घोरदौरालाई पर्यटकीय क्षेत्रका रूपमा अघि बढाउन लुम्बिनी प्रदेश सरकारले २०७५ सालमा सांस्कृतिक डबली निर्माणको कामलाई अघि बढाएको थियो ।
सांस्कृतिक डबली निर्माणलगायत पूर्वाधार निर्माणमा डेढ करोड रुपैयाँ बढी खर्च भइसकेको भए पनि अझै पूर्णता पाउन भने सकेको छैन । घोरदौरा बस्तीसँगै सांस्कृतिक डबली पुग्न सहज होस् भन्ने उद्देश्यले सडक निर्माणको कामलाई अघि बढाइएको भए पनि सीमित बजेटका कारण सडक निर्माणमा ढिलाइ भएको घोराही उपमहानगरपालिका–१८ घोरदौरा निवासी सन्तोष घर्तीले बताएका छन् । घोरदौरालाई पर्यटकीय क्षेत्रका रूमा विकास गर्ने गरी निजी क्षेत्रबाट घोरदौरामा साइक्लिङ र जिपलाइन निर्माण गरिएको छ ।
