Goraksha

National Daily

सेवा घरलाई भान्साका सामग्री सहयोग

गोरक्ष समाचारदाता
नारायणपुर, २७ फागुन । मानवकल्याण समाज (सेवा घर) नारायणपुरका लागि अत्यावश्यक सामग्री सिद्धार्थ बैंकले सहयोग गरेको छ । बैंकले मानवकल्याण समाजले घोराही उपमहानगरपालिका वडा नम्बर १० मा सञ्चालन गरेको सेवा घरका लागि आवश्यक भान्साका सामग्री सहयोग गरेको हो ।

सोमवार सेवा घरमा एक कार्यक्रमको आयोजना गरेर भान्साका सामग्री हस्तान्तरण गरिएको थियो । सिद्धार्थ बैंक घोराही शाखाका प्रमुख मिंगलसिंह ठकुरीले ग्यास चुलो, ग्याँस सिलिन्डर, राइस–कुकुर, हिटर, किट्ली, इलेक्ट्रिक पानी फिल्टरलगायतका भान्साका लाति आवश्यकीय सामग्री सेवा घरलाई हस्तान्तरण गरेका हुन् । सामग्री हस्तान्तरण गर्दै ठकुरीले सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले सेवा घरका लागि अत्यावश्यक सामग्री सहयोग गरिएको बताए ।

मानव सेवा घरको बारेमा आफूले जानकारी पाएसँगै समन्वय, सहकार्य गर्दै आएको बताउँदै मानवताको सेवाका लागि बैंक परिवारसँगको समन्वयमा सामग्री हस्तान्तरण गरिएको उनले बताए । सेवा घरमा दैनिक रूपमा आवश्यक भान्साका सामग्री सेवा घरसँगकै समन्वयमा सहयोग गरिएको सिंहको भनाइ छ । नागरिक समाज दाङका पूर्व संयोजक चन्द्रराज पन्तले सडक मानव मुक्त बनाउने मानवकल्याण समाजको अभियानमा जोडिएकोमा सिद्धार्थ बैंकलाई धन्यवाद दिँदै अभियानमा जोडिन सम्पूर्ण बैंक तथा वित्तिय संस्थाहरूलाई अनुरोध गरे ।

कार्यक्रममा बोल्दै मन्जुसिंह ठकुरीले मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य भएकाले सडक मानवहरूको अभिभावक मानव सेवा घरलाई सहयोग गर्न आवश्यक रहेको बताइन् । त्यस अवसरमा दाङ जिल्ला उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष नारायण भुसाल, नारायणपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष दानबहादुर बुढाथोकी, नेपाल पत्रकार महासंघ दाङका निवर्तमान सचिव आरके शीतल, व्यवसायी भरत रेग्मीलगायतको उपस्थिति रहेको थियो । त्यस अवसरमा उपस्थितलाई मानवकल्याण समाजका प्रबन्धक रोशन ढकालले धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रमको सहजीकरण नारायणपुर शाखा प्रमुख सुस्मीता श्रेष्ठले गरेकी थिइन् ।