जातीय विभेद हटाउन सकारात्मक सोच आवश्यक
प्रिया स्मृती गजमेर
लमही, २७ फागुन । नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर १ का सभापति भेषराज पाण्डेले छुवाछुत अन्त्य गर्न दलित र गैरदलित समुदायबिच रचनात्मक, प्रगतिशील र सकारात्मक सोच आवश्यक रहेको बताएका छन् ।
नेपाल दलित संघ दाङ क्षेत्र नं. १ ले लमहीमा आयोजना गरेको वृहत् अन्तरक्रिया तथा भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै सभापति पाण्डेले समाजमा अझै पनि विद्यमान छुवाछुतजस्ता विभेद अन्त्य गर्न सबै पक्षको सहकार्य, चेतना अभिवृद्धि र व्यावहारिक परिवर्तन आवश्यक रहेको बताएका हुन् ।
कानूनी रूपमा छुवाछुत अन्त्य भए पनि सामाजिक रूपमा यसको अवशेष अझै रहेको भन्दै मानसिकता परिवर्तन र सामाजिक सद्भाव बढाउने प्रयास आवश्यक रहेको बताए । यसका लागि शिक्षा, सचेतना अभियान र एकअर्काबिच आपसी समझदारी कायम गर्नुपर्ने उनको जोड थियो । कार्यक्रममा महासमिति सदस्य कर्णबहादुर बुढाथोकीले जातीय भेद्भाव अन्त्य गर्न सबै मिलेर लाग्नुपर्ने बताए । महासमिति सदस्य सुशीला चौधरी र देवीमाया थापाले सबैले परिकल्पना गरेको विभेदरहित सभ्य समाज निर्माणका लागि सकारात्मक सोचको विकास हुन आवश्यक रहेको बताएका थिए । महाधिवेशन प्रतिनिधि मधु न्यौपानेले दलित समुदायको समस्या सम्बोधन गर्ने पार्टी नेपाली कांग्रेस मात्र भएको बताएका थिए । महाधिवेशन प्रतिनिधि तथा राजपुर गाउँपालिका उपाध्यक्ष धनपतीदेवी यादवले संविधानले सबै नागरिकलाई समान रूपमा उल्लेख गरेको भन्दै समाजमा तल्लो र माथिल्लो जात भनेर विभेद गर्न नहुने बताइन् ।
कार्यक्रममा महाधिवेशन प्रतिनिधि ताराप्रसाद नेपालीले अझैसम्म जातीयताको कुरा गरेर दलितमाथि विभेद हुने भन्दै त्यसलाई अन्त्य गर्न आवश्यक रहेको बताए । महाधिवेशन प्रतिनिधि अनुराग यादवले दलित र गैरदलितबिच सुमधुर सम्बन्ध हुन जरुरी रहेको बताएका थिए । नेपाली कांग्रेस दाङ क्षेत्र नं. १ का पूर्वक्षेत्रीय सभापति वासुदेव जङ्गली र लमही नगरपालिका प्रमुख जोगराज चौधरीले जातीय विभेद अन्त्यका लागि दलित तथा गैरदलित समुदायका नागरिकमा सकारात्मक सोचको विकास हुनुपर्ने बताएका थिए । नेपाली कांग्रेस लमही नगरपालिका सभापति सन्तोष बुढाथोकी र नेपाली कांग्रेस गढवा गाउँपालिका सभापति किरण पौडेलले दलित समुदायलाई रोजगारी, सिपमूलक तालिम र उद्यमशीलता विकासका अवसर प्रदान गरिनुपर्ने बताएका थिए ।
नेपाली कांग्रेस दाङ क्षेत्र नं. १ का पूर्वसहसचिव तथा दलित संघ दाङका पूर्वजिल्ला उपाध्यक्ष चन्द्र नेपालीले छुवाछुत विरुद्धका कानूनी प्रावधानलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै विभेद गर्ने दोषीलाई कडा कारबाही गर्नुपर्ने बताए । नेपाल दलित संघ दाङ क्षेत्र नं. १ का सभापति प्रवल रसाइलीको अध्यक्षता तथा नेपाली कांग्रेस दाङ क्षेत्र नं. १ का सभापति भेषराज पाण्डेको प्रमुख आतिथ्यता एवम् महासमिति सदस्य कर्णबहादुर बुढाथोकीको विशिष्ट आतिथ्यतामा भएको थियो । नेपाल दलित संघ क्षेत्र नं. १ की उपाध्यक्ष निमा सुनारले स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण प्रिया स्मृती गजमेरले गरेका थिए ।
