कर्णाली, लुम्बिनी र एपिएफको विजयी सुरुवात
प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता सुरु
गोरक्ष समाचारदाता
दाङ, २६ फागुन । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र एपिएफले विजयी सुरुवात गरेका छन् । आइतवारदेखि सुरु भएको प्रतियोगितामा तीन टिम विजयी भएका हुन् ।
जसअन्तर्गत दाङको लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको प्रतियोगिताको पहिलो खेलमा सुदुरपश्चिम प्रदेशलाई ७९ रनले हराउँदै कर्णाली प्रदेशले विजयी सुरुवात गरेको हो । एक सय ५६ रनको लक्ष्य पछाएको सुदुरपश्चिम प्रदेश २१ ओभरमै सबै विकेट गुमाउँदै केवल ७६ रनमा समेटिएपछि कर्णाली प्रदेशको टिम विजयी भएको हो । टस जितेर पहिले ब्याटिङ गरेको कर्णली प्रदेशले अर्जुन घर्तीको ७१ रनको योगदानमा एक सय ५५ रन बनाएको थियो । कर्णालीका लागि दिनेश अधिकारीले १७ रन, दिवान पुनले १२ रनको योगदान दिए । उक्त खेलमा सुदुरपश्चिमका हेमन्त धामीले ४, नारायण जोशीले २, शेर मल्ल, मिलन बोहोरा, भोजराज भट्टले समान १÷१ विकेट लिएका थिए ।
एक सय ५६ रनको विजयी लक्ष्य पछ्याएको सुदुरपश्चिमले पहिलो ५ ओभर बिना विकेटको क्षतिमा ३० रन बनाएर पनि त्यसपछि खेलाडी चल्न नसक्दा हार व्यहोर्न पुगेको हो । सुदुरपश्चिमलाई ७६ रनमा समेट्न कर्णालीका दिपेन्द्र रावतले उत्कृष्ट प्रदर्शन गर्दै ९ ओभरमा ३ मेडनसहित ३३ रन खर्चेर महत्वपूर्ण ७ विकेट लिएपछि जित हासिल गरेको हो । दिवान पुनले २ विकेट लिएका थिए । सुदुरपश्चिमका लागि खडक बोहोराले २७ रन, किरण ठगुन्ना र शेर मल्लले समान १३÷१३ रन बनाउनु बाहेक अरू खेलाडीले सम्झन लायक प्रदर्शन गर्न सकेनन् । कर्णालीलाई महत्वपूर्ण जित दिलाउन ७ विकेट लिएका दिपेन्द्र रावत प्लेयर अफ द म्याच भए ।
सिद्धार्थ रंगशालामा भएको खेलमा लुम्बिनी प्रदेशले कोशी प्रदेशलाई २६ रनले पराजित गरेको हो । लुम्बिनीले दिएको २०९ रनको लक्ष्य पछाएको कोशीले ४२.४ ओभरमा अल आउट हुँदै १८२ रन बनाएको थियो । कोशीका लागि सुजन थपलियाले सर्वाधिक ३५ रन बनाएका थिए भने लुम्बिनीका बलर अजय चौहानले सर्वाधिक ५ विकेट लिएका थिए । यसअघि पहिला ब्याटिंग गरेको लुम्बिनीले आकाश त्रिपाठीको ६६ रनको सहयोगमा ४८ ओभरमा अल आउट हँुदै २०८ रन बनाएको थियो ।
त्यसैगरी आइतवार नै एक्स्ट्राटेक ओभल मैदान तिलोत्तमामा सम्पन्न अर्को खेलमा एपिएफ क्लबले बागमती प्रदेशलाई १०० रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ । प्रतियोगिताको शुभारम्भ गर्दै मुख्यमन्त्री आचार्यले खेल पर्यटनले मुलुकको समृद्धि र विकासमा महत्वपूर्ण योगदान पु¥याउने बताएका थिए । खेल पर्यटनको विकास हुनु सुखद् पक्ष भएको भन्दै मुख्यमन्त्री आचार्यले भने,‘खेल आर्थिक समृद्धिको आधार बन्दै गएको छ ।
अन्तर्राष्ट्रिय तथा राष्ट्रिय प्रतियोगिताले विदेशी पर्यटकलाई आकर्षित गरिरहेको छ ।’ खेल क्षेत्रको पूर्वाधार विकास, खेलाडीको क्षमता अभिवृद्धि र नयाँ खेलाडी उत्पादनका लागि सरकारले विशेष ध्यान बताएका हुन् । प्रतियोगिताको उद्घाटन कार्यक्रममा बोल्दै नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले काठमाडौं बाहिर पहिलो पटक लुम्बिनी प्रदेशमा प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता आयोजना गरेर नयाँ इतिहास रचिएको बताएका थिए ।
प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोलीको सहभागिता रहेको छ । उनले प्रधानमन्त्री कपलाई नेपाली क्रिकेटमा नयाँ खेलाडी उत्पादन गर्ने उत्कृष्ट मञ्चका रूपमा हेरिएको बताए । नेपाल क्रिकेट संघ (क्यान) ले प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदान, सिद्धार्थ रंगशाला र तिलोत्तमा एक्स्ट्राटेक ओभल मैदानमा सञ्चालन गरेको लुम्बिनी प्रदेश क्रिकेट संघका सचिव कैलाश रोकामगरले जानकारी दिएका छन् ।
प्रतियोगिताअन्तर्गत सोमवार लुम्बिनी प्रदेश र नेपाल पुलिस क्लब, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेश तथा बागमती प्रदेश र त्रिभुवन आर्मी क्लबबिच खेल हुन थालेको लुम्बिनी प्रदेश क्रिकेट संघका सचिव कैलाश रोकामगरले जानकारी दिएका छन् ।
