अयोध्याको ‘सीता रसोइ’…
रिपोटरको डायरी
खेमराज रिजाल
अयोध्या (भारत), २६ फागुन । ठिक एक साता अघि हामी दक्षिण भारतबाट अयोध्यामा टक्क रोकिएका थियौँ । हामीले लिएको रिजर्भ फोर्स गाडी सबै क्षेत्रमा पुग्न ट्राफिक सिस्टमले दिँदो रहेनछ । अलिटाढै गाडी पार्किङ गरी हामी अयोध्या मन्दिरदेखि करिब तीन किमी पश्चिमको होमस्टे क्षेत्रमा विश्राम लिएपछि त्यही खाना खाएर हामी अयोध्याको धरोहर राम मन्दिर दर्शनमा लाग्यौं ।
हाम्रो समूहमा सत्र थियौँ । महिला ६ जना अनि बाँकी पुरुष । उमेर समूह १८ वर्षदेखि ८३ वर्षसम्म । तैपनि हामीलाई बाध्यताले पैदल यात्रा करिब ६÷७ किमी तय गर्नुपथ्र्यो राम जन्मभूमि पुग्न र दर्शन गर्न । दर्शन गरिसकेपछि हामी साँझ अबेर हामी बसेको होमस्टे फर्कदै थियौँ । दिनभरको हिडाइको थकानसँगैको भोकले सताइएका थियौँ हामी । अयोध्याको राम मन्दिरको दर्शनपछि साँझ करिब ९ बजे हामीमध्ये ५ जना मुल चोकको पश्चिम पट्टिको रेलवे स्टेशनमार्गको किनारामा छोटो विश्राम लियौँ ।
सडक किनारामै थियो, त्यो खाजाघर । अनुमान गर्दा दश वाइ आठ फिट थियो होला । ढकमक्क उज्यालोमा खाजाघरको भित्तामै मेनु लेखिएको थियो । आठ÷दश परिकारको । खाजाघरको नाम थियो सीता रसोइ । महांराष्ट्रबाट व्यापार गर्न अयोध्या झरेकि सीता खासमा हिन्दु धर्मावलम्बी भएको उनैले बताइन् । उनको रसोइमा अन्य ग्राहक थिएनन् । फाट्टफुट्ट आउथे, सडकपेटिमै राखिएका कुर्चिमा अडिएर मगाएको चिज खान्थे अनि गइहाल्थे । खाजाघरलाई अध्योध्याले रसोइ भन्दो रहेछ । ठुला–ठुला होटलका नाम पनि रसोइ राखिएका थिए ।
हामीसँगै गएका प्रभातले सोधे, वहेनजी खाजा क्या मिलेगा ? सीताको सहज जवाफ थियो, दिवारको मेनुमा लेखिएका सबथोक मिलेगा । मेनुमा थियो, म्यागी, वर्गर, डोसा, चिया, मलाई, पनिर पकौडा…अनि त्यस्तै सामान्य भेड आइटम । और कुछ नहि ? उनले फेरि भनिन्, ननभेज खाना है तो फैजरावाद बजार जाओ, उहाँ सबकुछ मिलेगा । यय तो श्रीरामका जन्मभूमि है ।
साँच्चै सीताले भनेझै थियो, अयोध्या । सबै भेज खाना । धेरै मिठाइ पसल । दुध, दही, मलाई, रावडी…आदि–आदि । हामीले म्यागी र वर्गर अर्डर गरेका थियौँ । तयार नहुन्जेल सामान्य गफगाफ भयो । खाजा तयार गर्दै उनले सोधेकी थिइन, आप कहाँसे हो ? हामीले नेपाल से भनेपछि उनी अलि नजिक भएर कुरा गर्न थालिन् । खासमा उनले बिहारीलाईभन्दा नेपालीलाई धेरै श्रद्धा गर्दिरहिछन् । नेपाल मालुम है ? क्यु मालुम नहि । नेपाल तो भगवात श्रीरामजीका ससुराल हैन । मे भि गइथि रामजीका ससुराल जनकपुरमे । नेपाल मुझे बहुच अच्छा लगा ।
भारतीयले नेपालीलाई हेप्छन् भन्ने होइन रहेछ भन्ने उनको नेपालप्रतिको आत्मियताबाट प्रष्ट हुन्थ्यो । त्यसो त दिनहुँ लाखौँले अयोध्यामा राम मन्दिर दर्शन गरिरहँदा कम्तिमा पनि दश प्रतिशत जति नेपाली नै हुँदा रहेछन् । अयोध्यामा राम मन्दिरको दर्शन कुनै तिथि मिति कुर्नु पर्ने रहेनछ । औँसी, पूर्णिमा, एकादशीमा अलि बढी भिड स्वभाविकै हो, तर भिड नै नहुने भने रहेनछ । जतिबेला अयोध्यामा राम मन्दिरमा भगवन श्रीरामको प्रतिमा पुर्नस्थापना गरियो, त्यो बेलादेखि अयोध्या नयाँ धार्मिक पर्यटकीय गन्तव्य बनेको रहेछ ।
मन्दिर निर्माणाधिन थियो तर दर्शन चलिरहेको थियो । फूल प्रसादले मन्दिर फोहर देखिँदैनथ्यो, किनकि फूल प्रसाद लैजानै निषेध गरिएको थियो । दानका लागि भिन्न–भिन्न स्थानमा दानपेटिका । रसिद काट्ने पनि ठाउँ–ठाउँमा काउन्टर, गरगहना र जुहारातका लागि भिन्नै काउन्टर । मानौँ मन्दिर निर्माण पूरा गर्नका लागि सहयोग हो यो । कति बजेटमा मन्दिर निर्माण सम्पन्न हुँदैछ, यसलाई अंकमा उल्लेख गर्न चाहेका छैनन् भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ।
अयोध्या व्यस्त छ । रातभर जाग्राम हुन्छ । दिनभर थकानमा हँुदैन । लोडसेडिङ उनीहरूको डिस्नेरीमा छैन । अयोध्या आउन राम मन्दिरले डो¥याउँछ, हनुमान गढिले थप उमंगमय बनाउँछ, अनि सरीयुघाछको डुंगा यात्रा र साँझपखको आरतीले थकान मेटिदिन्छ । यही दिनचर्यामा लागौँ आन्तरिक एवम् वाह्य पर्यटक सामेल भइनै रहन्छन् । सीताकै भनाइमा सायद आजको यात्रु भोलि हँुदैन, बजारबासी बाहेक सडकमा हिड्ने सबै नयाँ अनुहार हुन्छन् ।
राम मन्दिर निर्माण गर्न कम्ति कठिन थिएन, कोर्टमा फुल बेन्चबाट फैसला भएपछि मात्र राम मन्दिर बनाउन सम्भव भएको पनि सीताले पुर्नस्मरण गरिन् । ‘यसलाई रामजन्मभूमि प्रमाणित गरिदिने न्यायधिसमा दुईजना त मुश्लिम न्यायधिस नै थिए नि’, रसोइकि माल्किन सीताले भनिन् । अयोध्यामा राम मन्दिर निर्माण हुनुमा सीतालाई साँच्चै गर्व छ । त्यसैले त उनले महांराष्ट्रको बसाइ छाडेर अयोध्यामा यो सानो व्यापार गर्दै छिन् । त्यसो त अयोध्यामा नेपाली मुलका केही फाटफुट व्यापारी पनि देखिन्थे । हाम्रो हिडाइले नै चिन्थे हामीलाई नेपाली भनेर । होटलमा खाना पनि नेपाली परिकार पाउन सकिन्थ्यो ।
अयोध्यामा सरीयु सभ्यता छ । अर्थात् अयोध्यामा बग्ने मुख्य नदीलाई सरयु गंगाभन्दा रहेछन्, जुन नेपालबाट बगेर आएको थियो । सरयुको शिर खोज्दै जाँदा यो त बबई नदिनै रहेछ । जुन सरयु सभ्यता दाङसँग पनि जोडिएको छ । भारतले आफ्ना हरेक संस्कृतिलाई शेल गरेर आर्थिक फड्को मारेको छ । बजार गतिविधि बढाएको छ । सरयु नदीमा डंगा व्यवसाय हुन्छ ।
आरतीको रमझम हुन्छ । धेरै पर्यटकलाई बिहानैदेखि साझैसम्म व्यस्त बनाउँछ सरयु घाटले । यही भएर नै अयोध्याबासी कुनै पनि बेरोजगार छैनन् । खाली कोठा एक रातकै भए पनि भाडामा लगाउँछन् । प्रतिव्यक्ति एक दिन बास बसाएको मात्रै पनि दुई सय रुपैयाँ भारतीय मुद्रा लिँदा रहेछन् ।
‘मैले यो घर दैनिक किरायाकै लागि बनाएको हुँ, दश कोठे भरको दैनिक भाडा आठ÷दश हजार रुपैयाँसम्म आउँछ’, अयोध्या रेलवे स्टेशनमा होमस्टे चलाउँदै आएका सचिन शर्माले भने । उनी केही वर्ष अघि मात्र नेपाल भारत सीमा बजार कोइलाबास नजिकको वलरामपुरबाट बसाइ सरेर अयोध्या पुगेका रहेछन् । उनको जागिर भने अहिले पनि बलरामपुरमै छ रे । रेलवे स्टेशनका प्राविधिक रहेछन् सचिन ।
भारतीय एक कोठामा चारजनालार्ई बसाउँछन् । हाम्रा भने चार कोठा भएको घरमा एक जोडि बुढाबुढि मात्रै बस्छन् । भारतीय बजारमा कुनै पनि सटर खाली छैनन्, तर नेपालका मुख्य बजारमै सटर महिनाँैदेखि खाली छन् । भारतमा बसोबासीको संख्या बर्सेनी वृद्धि भइरहन्छ, नेपालमा भने विदेश पलाईनले देश दिनदिनै रित्तिइरहेको छ । यही हो फरक ।
भारतमा बाँझो जग्गा छैन, प्लटका प्लट यान्त्रिक प्रविधिबाट खेती भइरहेको छ, हाम्रा खेतीयोग्य जमिनमा प्लटिङले भरिएको छ । सचिनले रूपबाट विदाइ गर्ने बेला भनेका थिए, सेठजि, पपुलेशनको इन्क्रिज हुन चाहिए, तवतो प्रोडक्सन बढेगा…। रसोइकि सीताले पनि खाजा खुवाइसकेपछि त्यही भनेकि थिइन्, पपुलेशनको बढ्ना चाहिए, तवतो विकास होगा…।
