Goraksha

National Daily

रेविजविरुद्धको निःशुल्क खोप नहुँदा बिरामीलाई समस्या

अमरराज आचार्य
दाङ, २६ फागुन । घोराहीका एक व्यक्तिलाई कुकुरले टोकेर रेविज विरुद्धको भ्याक्सिन लगाउन आइतवार दिउँसो राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुगे तर उनले रेविजविरुद्धको भ्याक्सिन प्रतिष्ठानमा पाउन सकेनन् ।

प्रतिष्ठानमा रेविजविरुद्धको खोप नपाएपछि बाहिर मेडिकलबाट किनेर प्रतिष्ठानमा लगाउनु परेको थियो । रेविजविरुद्ध सरकारले निःशुल्क रूपमा खोप दिने गरेपछि प्रतिष्ठानमा नपाउँदा पैसा निजी मेडिकलबाट पैसा तिरेर लगाउनु परेको बताएका छन् । घोराही बजारमा शनिवार बेलुका कुुकुरले टोकेपछि आइतवार दिउँसो प्रतिष्ठानमा खोप लगाउन पुगेको व्यक्तिले भने,‘प्रतिष्ठानमा रेविजविरुद्धको खोप निःशुल्क रूपमा पाइने सुनेको थिए तर मैले पाइन ।

जसले गर्दा निजी मेडिकलबाट सात सय रुपैयाँमा किनेर लगाउनु प¥यो ।’ प्रतिष्ठानमा रेविजविरुद्धको खोप पाउन नसकेपछि सरकारले निःशुल्क प्रदान खोप बाहिरबाट पैसा हालेर किन्नु परेको उनको भनाइ छ । ‘सरकारले निःशुल्क भनेर घोषणा गरेको छ तर हामीले पैसा हालेर किन्नु परेको छ यसको जिम्मेवारी कसको हो ?’, उनले भने,‘ खोप किन्नलाई महङगो छ ।’

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार श्याम लम्सालले माग अनुसार रेविजविरुद्ध खोप नआउदा समस्या हुने गरेको बताए । कोटा तोकेर खोप दिने भएका कारण समस्या भएको उनको भनाइ छ । ‘कोटा तोकेर खोप दिँदा थोरै मात्रामा खोप आउने गर्दछ’, प्रतिष्ठानका रजिष्ट्रार लम्सालले भने । खोप माग गरिएको र मङ्गलबारसम्म आउने बताएका छन् ।

लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालय प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निमित्त प्रमुख डा.राजेन्द्रकुमार गिरीले सङ्घीय सरकारले माग अनुसारको रेविजविरुद्धको खोप नपठाउँदा समस्या भएको बताए । उनका अनुसार चालु आर्थिक वर्षमा हालसम्म करिब १० हजार भ्याक्सिन पठाएको जानकारी दिए । चालु आर्थिक वर्षमा ७१ हजार दुई सय ८० रेविजविरुद्धको खोप दिने भने पनि थोरै मात्रामा खोप आएको उनको भनाइ छ । ‘चालु आर्थिक वर्षको लागि तोकिएको कोटाको ४० प्रतिशत मात्र खोप आएको छ’, निमित्त प्रमुख गिरीले भने,‘यसको वितरणमा समेत समस्या भएको छ’ । आएको खोपलाई व्यवस्थापन गरेर वितरण गरिरहेको उनले बताए । कतै पनि खोप लगाउनै नपाउने अवस्था आउन नदिने गरेर व्यवस्थापन गरेको छ ।

माथिबाटै कुन अस्पतालाई कति खोप दिने भनेर तोकिएर आउने त्यही अनुसार प्रदेशले वितरण गर्ने बताएका छन् । ‘कुन अस्पताललाई कति खोप दिने भन्ने बारेमा केन्द्रले नै तोकेर पठाउने गर्दछौँ’, उनले भने । अस्पताले दिने सेवा अनुसार अस्पातलाई खोप उपलब्ध गराइने गरिएको छ । सबै खोप केन्द्रले नै खरिद गरेर कोटा तोकेर पठाउने गरेको उनको भनाइ छ । ‘सङ्घीय सरकारले पठाएको खोप नै हामीले वितरण गर्ने हो’, उनले भने,‘ प्रदेश सरकारले खोप खरिद गरेको छैन ।’ प्रदेशले खोप गरिद गरेर वितरण गर्न पाएमा सहजता हुने उनी बताउँछन् । रेविज विरुद्धको खोप सरकारले निःशुल्क दिँदै आएको उनले बताए । उनका अनुसार ‘रेविज रोगलाई शून्य बनाउने अभियानअन्र्तगत निःशुल्क दिँदै आएको छ ।