महिला अधिकार सुनिश्चिततामा जोड
मधुसूदन गिरी
कमिरेचौर, २५ फागुन । महिला अधिकार सुनिश्चितता गर्नुपर्नेमा एक कार्यक्रमका सहभागीले जोड दिएका छन् । बंगलाचुली गाउँपालिकामा ‘सबै महिला तथा बालिकाका लागि ः अधिकार, समानता र सशक्तीकरण’ भन्ने नाराका साथ आयोजना गरिएको ११५औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा बोल्ने वक्ताले सो कुरा बताएका हुन् ।
कार्यक्रममा बोल्दै बंगलाचुली गाउँपमलिका अध्यक्ष तुल्सीराम पुनले महिलाहरूको अधिकारको निम्ति गाउँपालिका प्रतिबद्घ रहेको बताएका छन् । उनले नेपालको सन्दर्भमा महिलालाई पनि पुरुष सरह ज्याला दिने कुरा उठिरहेको र त्यो कार्यान्वयन हुने बताए । महिला अधिकार सुनिश्चितता हुनु समाजको समुचित विकासका लागि अत्यावश्यक रहेको अध्यक्ष पुनले बताए ।
समतामूलक समाज निर्माण गर्न महिलाले शिक्षा, स्वास्थ्य, रोजगारी, राजनीतिक सहभागिता र सामाजिक सुरक्षामा समान अवसर पाउनुपर्ने उनको जोड थियो । कार्यक्रममा बोल्दै बंगलाचुली गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष शोभाराज विश्वकर्माले संविधानमा महिलासम्बन्धी हक, अधिकार लेखिएको भए पनि व्यवहारमा कार्यान्वयन न्यून रहेको बताए । उनले शिक्षित वर्ग विकसित ठाउँतर्फ पलायन हुने अवस्थाले हक, अधिकार पूर्णरूपमा कार्यान्वयन हुन नसकेको बताएका थिए ।
कार्यक्रममा बोल्दै बंगलाचुली गाउँपालिका वडा नं. ४ का वडा सदस्य तथा कार्यपालिका सदस्य नारायणी गिरीले महिलाको हरेक क्षेत्रमा सहभागिता बढ्दै गएको बताउँदै महिला अधिकारमा पनि ख्याल गर्नुपर्ने बताइन् । उनले महिलालाई महिला दिवसको दिन मात्र नभई सधैँ सम्मान गर्नुपर्ने बताएकी थिइन् ।
कार्यक्रममा बोल्दै बंगलाचुली गाउँपालिका महिला बालबालिका शाखाका महिला विकास निरीक्षक कल्पना केसीले समाजमा कुनै महिला हिंसासम्बन्धी घटना भएको जोकोहीले सम्बन्धित निकायमा खबर गरिदिन अनुरोध गरेकी थिइन् । कमिरेचौर महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड र समाज विकास सञ्जालको संयुक्त आयोजना तथा बंगलाचुली गाउँपालिका वडा नं. ३ र ४ को आर्थिक सहयोगमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रम कमिरेचौर महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष दुर्पता पौडेलको अध्यक्षतामा भएको थियो । दिवसका अवसरमा ¥याली समेत निकालिएको थियो । साझा विकास मुलसमितिका अध्यक्ष दुजा घर्तीको स्वागतबाट सरु भएको कार्यक्रमको सहजीकरण समाज विकास सञ्जालका सामुदायिक प्रशिक्षक उमा बुढाले गरेकी थिइन् ।
