स्वच्छ र स्वस्थ समाज निर्माणको आधार, महिला सशक्तिकरण
ब्रह्माकुमार माधव तिमिल्सेना
ऋग्वेद भन्छ, ‘नारी धनकी देवी हुन्’ धनी हुनु भनेको समाज अथवा परिवारमा नारीको हैसियत उच्च हुनु हो । यस तथ्यले भारतखण्डमा नारीहरु पुरुषभन्दा कम थिएनन् भन्ने कुरा स्पष्ट पार्छ । त्यतिमात्र होइन, त्यो समय समाजमा बहुविवाह बर्जित थियो (ऋग्वेद ७.४।८।७) । समाजले नारी–पुरुषलाई समान मान्ने भएकाले नै बहुविवाह बर्जित गरिएको हुनुपर्छ ।
अहिलेको ‘पुरुषप्रधान’ भनिने समाजमा श्रीमतीले गर्न नसकेको काम पुरुषले गरिदिनुपर्छ भन्ने छ । तर, वैदिक समाजमा अहिलेभन्दा ठिक उल्टो थियो । गार्गी, मैत्रेयी जस्ता नारी जसले त्यस समयमा बेला वादविवाद, राजनीति, तर्कशास्त्रमा अब्बल मानिन्थे । वैदिककालमा रोमशा, उर्वशी, घोषा, विश्ववारा, लोपामुन्द्रा जस्ता विदूषी नारीहरु पनि थिए, जसको चर्चा अहिलेको समाजमा पनि हुन्छ । नारीहरुलाई शिक्षा ज्ञान प्राप्त गर्न छुट भएको तथ्य भेटिन्छ । त्यसैले वेदमा भनिएको छ, ‘प्रत्येक सामाजिक एवम् धार्मिक काममा नारीको उपस्थिति अनिवार्य छ । (अथर्ववेद २।३६।१)
खास गरी शरीरको जन्म नारीको गर्भबाट हुन्छ ।आत्माको उत्पतिको प्रश्न नै आउँदैन किनकी आत्मा अनादी अविनाशी छ । लिङ्गभेद पनि शरीरमा आधारित हुन्छ । जसरी शरीरका अंगहरुको उत्तम संयोजनले सुन्दर शरीरको निर्माण हुन्छ त्यसरी नै स्त्री वा पुरुषको सही विकास नभएमा उक्त समाज शारीरिक अपाँगता भएको मानिस जस्तै हुन्छ । एउटा पखेटाले पंक्षी उड्न सक्दैन । समाज वा देशको सञ्चालन नारी या पुरुष एउटै मात्रले संभव छैन । वास्तवमा नर नारीमा केही भिन्नताहरु छन् परन्तु ती आपसमा विरोधी नभएर परस्पर पुरक हुन । पुरातन धर्मशास्त्रमा नारीलाई पुरुषको अर्धाङ्गीनी मानिएको छ । यसको मतलव नारीहरु रक्षणीय अवश्य हुन तर उपेक्षीय वा शोषणीय अवश्य होइनन् ।
निर्णयामृतमा लेखिएको छ– ‘भार्या प्रत्युव्रतं कुर्यादी भार्याश्च पतिव्रतम्’ अर्थात पत्नी पतिका लागि ब्रत राखुन् र पति पत्नीका लागि ।हरेक परिस्थितिहरुमा त्याग, सहनशीलता, धैर्यता, जागरुकता तथा दूरदर्शितालाई अपनाएर घरलाई सुखी वनाउन सकिन्छ । सच्चा अर्थमा गृहस्थ पनि एक तपोवन हो । जव पुरुषमा नारीको गुणहरुको सञ्चार हुन्छ तव ती पुरुष पनि महात्मा वन्न सक्छन् । प्राचीनकालमा कन्याको लालन–पालन पुत्रकै समान भएको पाईन्छ–जस्तै सीता, पार्वती, दमयन्ती, दौपदी आदि । वैदिक कालका सम्मानित नारीहरु मध्यकालमा आएर उनीहरुको जीवन चल अचल सम्पति समान भयो । पौराणिक कालमा नभएर यस युगमा समेत अपवादका रुपमा फ्लोरेन्स नाइटिङ्गेल, मदर टेरेशा, राजयोगीनी दादी प्रकाशमणी र दादी जानकी तथा पासाङ ल्हामु शेर्पा लगायतका नारीहरु नमुना भएको इतिहास साक्षी छ ।
एउटा भनाइ छ पुत्र पिताको भाग्यले बाँचेको हुन्छ तर कन्या आफ्नै भाग्य लिएर यस संसारमा आउँछिन् । कुनै पनि स्थान, देश, कालमा नारीहरुको अपमान वा उपेक्षा वा अवनति हुन्छ भने ती नारी हृदयको पुकार प्रकृतिसम्म प्रतिध्वनीत हुने गर्दछ । फलस्वरुप प्राकृतिक आपतरुपी विनाशको सिलसिला प्रारम्भ हुन्छ । मातृशक्तिको तिरस्कार, अन्याय र पक्षपातको कारण पुरुषको दुःखद् क्षणको आरम्भ हुन्छ । पुरुषको चरित्र, आचरण र व्यवहारको प्रतिफल नारीबाट नै प्राप्त हुन्छ । पुरुषबाट सम्मान पाउन नारीले केवल छाला चम्काउने धन्दामा नलागी आफूभित्रको सुषुप्त आत्मिक शक्ति वा देवत्वलाई निखार्न जरुरी छ । ऐना हेर्ने स्वभाविक संस्कारलाई ज्ञान दर्पण हेर्ने संस्कारमा रुपान्तरित गर्न आवश्यक छ । शरीरका साथीहरुले त शरीर जल्ने वित्तिकै साथ विर्सिन्छन तर आत्माको सच्चा साथी पिता परमात्माले देहको आवरणबाट निस्किए पनि आत्माको साथ अझै समिपतामा भूमिका निर्वाह गर्नुहुन्छ । यस यथार्थतालाई समेत विर्सनु हुँदैन ।
प्रत्येक वर्ष मार्च ८ तारिखमा मनाइने अन्तरााष्ट्रिय महिला श्रमिक दिवस कुनै खुसियालीको उत्सव नभएर उत्पीडित महिलाहरुको लैङ्गिक बिभेद बिरुद्धको आवाज हो, सङ्घर्ष हो । महिला सशक्तीकरणको अभियानलाई विश्वव्यापी रुपमा बुलन्द पारिँदै महान सङ्कल्प र अठोटको साथ निरन्तर जारी राखिने अनन्तकालिन महायात्रा हो । नारी आवाज र अधिकारका लागि सप्ताहको रुपमा चर्चा परिचर्चा गरिदै मनाइने प्रमुख दिवस हो, महिला दिवस । अन्तर्राष्ट्रिय नारी दिवसको इतिहासलाई फर्केर हेर्ने हो भने ११० वर्ष भन्दा पनि पुरानो प्रारम्भिक चरणको काल खण्डलाई हामीले स्मरण गर्नु पर्ने हुन्छ ।
२९ फेब्रुअरी सन् १९०९ तिर जसको प्रथम अध्याय लेखिने काम सयुक्त राष्ट्र संघमा केही सामाजिक, जागरुक र चेतनशील महिलाहरुबाट थालनी भएको थियो । त्यसपछि सन् १९१० मा डेनमार्कको राजधानी कोपेनहेगनमा अन्तराष्ट्रिय महिलाहरुको बृहत भेला भएको थियो । जसमा १७ वटा देशका १०० जना भन्दा बढी महिलाहरुको सहभागिता रहेको थियो । सन् १९७७ मा संयुक्त राष्ट्र संघले नारी दिवस मनाउने सबै राष्ट्रका प्रतिनिधिहरुलाई बोलाएर, ८ मार्चकै दिन प्रत्येक वर्ष अन्तर्राष्ट्रिय नारी दिवस मनाउने निर्णय गर्दै अधिकारिक रुपमा घोषणा गरेको थियो । आज पनि नारी सशक्तीकरणको सवाल चर्चाको शिखरमा रहेको छ । सन् २०२५ यस वर्षको अन्तर्राष्ट्रिय महिला दिवस को नारा ’कारबाहीलाई तीव्रता दिऔं’ ’ीभतुक अअभभिचबतभ तजभ बअतष्यल’ भन्ने रहेको छ । नारा केवल औपचारिक नारामा सिमित नरही व्यवहार कार्यशैलीमा समेत सार्थकता प्राप्त गर्ने प्रयासले निरन्तरता पाउनु पर्छ ।
ब्रह्माकुमारीजको दृष्टिकोणः आध्यात्मिक सशक्तीकरण
ब्रह्माकुमारीज विश्वभरि महिला सशक्तीकरणको एक अद्वितीय उदाहरण हो । संस्थाको स्थापना नै महिलाहरुको नेतृत्वमा भएको हो, जहाँ महिलाहरु आध्यात्मिक रुपमा सशक्त बनेर समाज रुपान्तरणमा योगदान पु¥याइरहेका छन् । ब्रह्माकुमारीज संस्थाले महिलाहरुको आध्यात्मिक, नैतिक, र मानसिक सशक्तीकरणका लागि दशकौँदेखि महङ्खवपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । ’नारीशक्ति नै विश्वशक्ति’ भन्ने दर्शनलाई आत्मसात गर्दै, ब्रह्माकुमारीजले महिलाहरुलाई आत्मसम्मान, स्वनिर्भरता र नेतृत्व क्षमतामा अभिप्रेरित गरिरहेको छ ।
ब्रह्माकुमारीजको शिक्षाले महिलाहरुलाई आत्मचेतना, आत्मबल, तथा सकारात्मक सोचको माध्यमबाट सशक्त बनाउने कार्य गर्दै आएको छ । यहाँ केही प्रमुख पक्षहरु उल्लेख गर्न सकिन्छः
१. आत्म–चेतना र आत्म–सशक्तीकरण
ब्रह्माकुमारीजको राजयोग ध्यानले महिलाहरुलाई आफ्नो आन्तरिक शक्ति र शुद्धताको अनुभव गर्न मद्दत गर्दछ । आत्म–चेतना जागृत भएपछि महिलाहरु भयमुक्त, आत्मनिर्भर, र निर्णय क्षमतायुक्त बन्छन् ।
२. मानसिक तथा भावनात्मक शक्ति वृद्धि
समाजमा महिलाहरु विभिन्न मानसिक दबाब, हिंसा, तथा तनावबाट गुज्रिरहेका हुन्छन् । राजयोग ध्यान र आध्यात्मिक शिक्षाले महिलाहरुलाई मानसिक रुपमा बलियो बनाउँदै उनीहरुलाई चुनौतीहरुको सामना गर्न सक्षम बनाउँछ ।
३. नेतृत्व विकास
ब्रह्माकुमारीज संस्थामा महिलाहरु नेतृत्वदायी भूमिकामा छन् । यसले देखाउँछ कि यदि महिलाहरुलाई सही अवसर र मार्गदर्शन दिइयो भने तिनीहरुले समाज परिवर्तन गर्ने शक्ति राख्छन् ।
४. नैतिकता र मूल्य–आधारित समाजको निर्माण
सशक्त महिला भनेको केवल आर्थिक रुपमा सम्पन्न मात्र होइन, ऊ नैतिक रुपमा पनि बलियो हुनुपर्छ । ब्रह्माकुमारीजले नैतिकता, शुद्धता, तथा अहिंसाका मूल्यहरुलाई प्राथमिकता दिँदै महिलाहरुलाई समाज परिवर्तनको वाहक बनाएको छ ।
क) नारी सशक्तीकरणको पहिलो अनिवार्य तत्व हो आत्म–गौरव । एक सशक्त नारीलाई आफू महिला हुनुमा गर्व लाग्छ । महिला आन्दोलनको एक स्लोगन छ कि –मेरो शरीरको संरचना नै मेरो किस्मत हो । यो सृष्टिका नियम छ नारीमात्र आमा वन्न सक्छिन तर पुरुष हैन । परन्तु स्वतन्त्रताको नाममा आजकी नारी पुरुषको पुरक नभै प्रतिद्धन्द्धिको रुपमा देखिनु पक्कै पनि राम्रो सङ्केत मान्न सकिँदैन । फेसन, पहिरन र अंगप्रदर्शनमा नारीले आफ्नो अस्मिता गुमाउँदै गइरहेको वर्तमान आधुनिकताको नाममा वढ्दै गएको उच्छृङ्खलता र स्वइच्छाचारिता रोकिनुपर्छ ।
ख) जागरुकता नारी सशक्तीकरणको अर्को पक्ष हो । एक जागरुक नारी वन्नु अर्थात शक्ति स्वरुपा हुनु । केवल नारी मात्रले आफ्नो आवेगलाई कुशलतापूर्वक नियन्त्रण राख्न सफल हुन्छिन् । नारीले कहिल्यै पनि आफ्ना भावनाहरुलाई व्यक्त गर्न अधिकतर हिंसात्मक तरिका अपनाएको पाईदैन । आफ्नो आन्तरिक संवेदनशीलता एवम् वौद्धिक परख शक्तिको आधारमा पहिला एक व्यक्तिपछि नारीको रुपमा पहिचान गर्न र स्पष्ट रितीले सम्झिन सक्ने क्षमता नारीमा निहित रहेको हुन्छ ।
ग) सूक्ष्मस्तरीय वदलाव नारी सशक्तीकरणको पाटो हो । हरेक व्यक्ति जीवनका परिस्थितिमा वदलिने क्षमता राख्दछ परन्तु त्यसका लागी दृढता जरुरी हुन्छ । रुकावटलाई पार गर्न एक सशक्त दृष्टिकोण हुनुपर्दछ । नारीप्रतिको भेदभावको विरोध एवम् उक्त कार्यलाई निरुत्साहित गर्न र सकारात्मक उर्जा थप्न हमेसा हौसलाले महङ्खवपूर्ण भूमिका निर्वाह गर्न सक्दछ ।
घ) कानूनी अधिकार ले नेपालको संविधानले महिला पुरुषमा समान हक अधिकारको कुरा गरेको छ साथै राज्यको विभिन्न क्षेत्रमा आरक्षण समेतको व्यवस्था गरेको छ । अन्य कानूनमा महिलाको अधिकारको सवालमा स्पष्ट उल्लेख छ साथै अन्तर्राष्ट्रिय महासन्धिहरुको पक्ष राष्ट्र रहेको र महिला आयोगको स्थापनाले कानूनी अधिकारलाई उजागर गरेको भएता पनि व्यवहारिकतामा महिलाहरु दुविधा एवम् भयग्रस्त जीवन जिउने वाध्य भएको पाइन्छ । तसर्थ विद्यमान ऐन कानूनको समय सापेक्ष सुधार तथा कडाईका साथ अक्षरशः पालना गर्दे कानूनले नै सवैभन्दा पहिला महिलालाई स्वयंमा सुरक्षित र निश्चिन्त वनाउनु पर्ने जरुरी छ ।
ङ) महिला संघ संगठनको एकता तथा प्रोत्साहन नारी सशक्त वनाउने प्रभावकारी कार्य हो, एक आधार हो । महिला अधिकारकर्मीहरुको एउटै आवाज कर्तव्यपालनाको सीमाभित्र रही लैङ्गिक हिंसा, विभेद र अन्याय तथा अत्याचारको विरुद्ध हुनुपर्दछ । विभिन्न संघ संगठनहरुको स्वार्थरहित भएर महिलाको हक अधिकार र कानून कार्यान्वयको सवालमा एकाकार हुनुपर्ने आवश्यकता देखिन्छ ।
च) नारी सशक्त वन्नको लागि आत्म–ज्ञान अनिवार्य छ । आत्मा कहिले पुरुष त कहिले महिलाको शरीर धारण गरेर यस सृष्टि रंगमञ्चमा अभिनय गर्दछ । स्वयंलाई आत्मा निश्चय गरेमा जीवन फूल समान दिव्यगुणले सुगन्धित हुन थाल्दछ । पारस्परिक शुद्ध भावना, आत्मि दृष्टि र व्यवहारमा
सम्मानको भावना विकसित हुनुको कारण आत्माभित्रको जन्म जन्मान्तरको विकार मुक्त भएर सच्चा स्वतन्त्रताको अनुभव हुन थाल्छ । आत्म ज्ञानले
आत्मवल बढ्छ भने अनेकौ विभेद समाप्त भएर जान्छ । परमात्मासँगको योगले जीवनमा दिव्य शक्तिको सञ्चार हुन्छ । आद्यात्मिक सशक्तीकरणको स्वरुप वनेर यो संसारलाई स्वर्ग वनाउन स्वयं नारी अग्रसर हुने समय अव निकट भविश्यमा आउनेछ ।
वैदिक र नैतिक जीवन नै नारीको जीवन हो । आफूलाई शरीर सम्झिनाले नारी अवला वनेका हुन् । यदि नारीले आफूलाई मन वुद्धि र संस्कारले युक्त आत्मा सम्झेर आत्म स्मृतिमा स्थिर हुँदै जीवन पथमा चलेमा सच्चा शक्ति स्वरुपाको अनुभव हुने छ तव नारी अवला नभएर पुरुषलाई समेत बल प्रदान गर्नेवाला बन्न सक्छिन् । मूल्यनिष्ठ समाज अर्थात् नारीलाई श्रेष्ठ स्थान । यसैले भनिन्छ ’माँ र मातृभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्’ । समाजलाई यो जानकारी होस् कि नारी भोग्या होइनन् पुज्या हुन जसको पुजन आजसम्म पनि भारतवर्षमा दुर्गा, सरस्वति, लक्ष्मी आदी रुपमा हुने गर्दछ ।
नारी संस्कारयुक्त सभ्य र स्वतन्त्र भएमा वसुन्धरा फूल समान सुभाषित हुन थाल्छ । मूल्यवान् नारीमा निहित नैसर्गिक गुणले काँटा समान संसारलाई पनि सुगन्धित–सुन्दर फल–फूलको बगैचा बनाउन सक्छिन् । परमात्मा र प्रकृतिको प्रेमपूर्ण सम्बन्धको नाम नै हो नारी । ज्योतिर्मय संस्कार भएका नारीको हात संसारका सम्पूर्ण महान् कार्यमा लाग्नु परम आवश्यक छ । विकृतिपूर्ण जीवलाई पनि सबै प्रकारको खुसीले भर्न सक्ने कला छ नारीमा । यस वसुन्धरालाई दैवीधाम बनाएर सारा भूमण्डललाई नवीकरण गर्न सक्छिन् । प्रशंसनीय कार्यद्वारा देवी, महादेवी र सुखदेवी पनि वन्न सक्ने योग्यता छ मातृशक्तिमा ।
त्यसैले यस्ता नारीलाई फूल जस्तै फुल्न देऊ ।निर्मल सरिता जस्तै बग्न देऊ ।वायु समान गतिमान् हुन देऊ । अगरबत्ती जस्तै सुगन्ध फैलाउन देऊ । ज्ञान सागरकी बुलबुल बनाऊ । नारीलाई पिजराका पंछी जस्तै बन्दी बनाउने मापदण्ड होइन स्वतन्त्र पंछी बनेर उन्मुक्त गगनको उचाईमा छुन देऊ । यस्तै सुअवसर दिएर पुरुषले शानसँग मनु जस्तै भन्न सक्नेछन् ’यत्र नार्यस्तु पूज्यन्ते–रमन्ते तत्र देवताः’ अर्थात् जहाँ नारी पूजनीया–वन्दनीया–सम्माननीया हुन्छिन्, त्यही देवता रमण गर्छन् । महाकाल निराकार शिव अब स्वयं शक्तिस्वरुपाको साथी–सारथी एवम् शिक्षक–रक्षक र पथप्रदर्शक बनेर यस धरतीमा अवतरण गरिसक्नु भएकोछ ।
अब नारीलाई तिरस्कार गर्नेहरु स्वतः पराजित भएर जानेछन् । स्वस्थ र सुखी समाज नारी सशक्तीकरणबाट मात्रै सम्भव छ । महिला सशक्तीकरण भनेको केवल महिलाको लागि मात्र नभई स्वच्छ, स्वस्थ र समानतायुक्त समाज निर्माणको आधार हो । जब महिलाहरु आत्मनिर्भर, शिक्षित, मानसिक रुपमा सशक्त र आध्यात्मिक रुपमा स्थिर हुन्छन्, तब मात्र समाज समुन्नत बन्न सक्छ । यस वर्षको महिला दिवसमा हामी सबैले सङ्कल्प गरौँ –‘कार्यहरुलाई गति दिऔँ’ र महिला सशक्तीकरणको अभियानलाई द्रुत गतिमा अघि बढाऔँ । सवै मातृशक्तिमा अन्तर्भावको नमन ।जय होस् सवैको ,कल्याण होस् सवैको । ॐ शान्ति ! शान्ति !! शान्ति !!!
लेखक ब्रह्माकुमारीज मधुवन आध्यात्मिक पुनर्जागरण केन्द्र दाङका प्रवक्ता हुन् ।
