Goraksha

National Daily

दंगीशरणमा ११५औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइयो

गोरक्ष समाचारदाता
दंगीशरण, २५ फागुन । महिलाहरूको अधिकार, आत्मनिर्भरता र समान अवसरका लागि दंगीशरण गाउँपालिका प्रतिबद्ध रहेको दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले बताएका छन । दंगीशरण गाउँपालिकाले ‘सबै महिला तथा बालबालिकाको लागि अधिकार, समानता र सशक्तीकरण’ भन्ने मूलनारासहित ११५औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारी दंगीशरण गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा अध्यक्ष गिरीले यस्तो बताएका हुन् ।

अध्यक्ष गिरीले गाउँपालिकाले शिक्षा, स्वास्थ्य, उद्यमशीलता र नेतृत्वमा महिलाहरूको सहभागिता बढाउने अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे । अन्तर्राष्ट्रिय महिला दिवसले समाजमा महिला अधिकार र समानताको विषयलाई प्राथमिकतामा राख्न सबैलाई प्रेरित गर्ने विश्वास व्यक्त गरे । कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष पिमा वली खड्काले महिला दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै महिलाका हक, अधिकार र समान अवसरको सुनिश्चितता गर्न गाउँपालिकाले विभिन्न नीतिगत तथा व्यावहारिक कार्यक्रम अघि बढाउने बताइन् ।

महिलालाई आत्मनिर्भर बनाउने उद्यमशीलता कार्यक्रमलाई प्राथमिकता दिइने प्रतिबद्धता व्यक्त गरिन् । लैङ्गिक समानतायुक्त गाउँपालिका निर्माणका लागि क्रियाशील सम्पूर्ण सरकारी तथा गैरसरकारी संघसंस्था एवम् अधिकारकर्मीलाई थप ऊर्जा र उत्साहका साथ कार्य गर्न आग्रह गरिन ।

महिला दिवसको अवसरमा विभिन्न प्रतियोगिता समेत सञ्चालन गरिएको थियो । जस अतर्गत लोकगीत प्रतियोगिता, वक्तृत्वकला प्रतियोगिता तथा बोत्तलमा पानी भर्ने प्रतियोगिता सम्पन्न गरिएको थियो । जसमा लोकगीततर्फ ईश्वरी कँडेल प्रथम, रिमा केसी द्वितीय, दिलमाया केसी तृतीय, पार्वती खड्का सान्त्वना भएका थिए । बक्तृत्वकलातर्फ चन्द्रकला वली प्रथम, पवित्रा डाँगी द्वितीय, दीपासा गिरी तृतस्ीय र करुणा न्यौपाने सान्त्वना भएका थिए । यसैगरी बोतलमा पानी भर्ने प्रतियोगितामा गीता रेग्मी प्रथम, सरिताकुमारी रावत द्वितीय, पवित्रा डाँगी गौतम तृतीय र वर्षा नेपाली सान्त्वना भएका थिए ।

महिला दिवसकै अवसर पारी दंगीशरण गाउँपालिकाभित्रका उद्यमी महिलालाई सम्मान गरिएको थियो । वडा नं. १ बाट १०५ वर्षीय मौती थरुनी, वडा नं. ३ बाट प्रदेसी चौधरी, वडा नं. ३ बाट ज्योती अधिकारी, वडा न ६ बाट बिमला बादीलाई नगद, दोसल्ला र सम्मानपत्रसहित सम्मान गरिएको थियो । कार्यक्रम दंगीशरण गाउँपालिका उपाध्यक्ष पिमा वली खड्काको अध्यक्षता तथा दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आतिथ्यतामा भएको थियो । महिलाबालबालिका शाखा प्रमुख सुनकुमारी घर्तीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण साझेदारी परियोजनाकी दंगीशरण संयोजक गोमा भट्टराईले गरेकी थिइन् ।