Goraksha

National Daily

आफ्नो क्षमता र देखासिकी

के. पी. सुवेदी

मानिस परिवर्तनको पारखी हुन्छ । यथास्थितिमा सन्तुष्ट रहुने भए यो समाज पाषाणयुगबाट बदलिएर यहाँसम्म आउने नै थिएन । अझ यहाँभन्दा पनि त्यहाँ चीन, जापान, अस्ट्रेलिया, युरोप अनि अमेरिका सबै परिवर्तनका उदाहरण बनेका जति, त्यस्तै परिवर्तनका पारखीहरुद्वारा निर्मित हुन् ।

विज्ञानको उच्चतम प्रयोगद्वारा गरिएका आविष्कार र इन्टरनेटको विश्वव्यापीकरण मान्छेको अभिन्न अङ्गझै बनाउन उनीहरुले गरेको चामत्कारिक आविष्कारले खगोलीय अध्यायन गर्दै सौर्यमण्डलको नजिकसम्म पुग्दै गर्दा हामी र उनीहरुबिचको फरकलाई कसरी तुलना गर्ने ? तर उनीहरुले विकास गरेका मानवकल्याणका संसाधनहरु हाम्रा जीवनका अत्यावश्कताभित्र समेटिएर उपभोग गर्न बाध्यकारी बनेको छ । कतिपय अवस्थामा हामीले उपहारमा प्राप्त गरेका साधन सदुपयोग कसरी गर्ने भन्ने सही ज्ञानको विकास गर्न पनि हामी समर्थ छैनौँ ।

मान्छेमान्छेमा भएको विभेदलाई हामी नस्वीकारिरहन सक्तैनौँ । ती द्रुत गतिमा अगाडि छलाङ लगाउनेहरुसँग सँगसँगै हिड्ने सामथ्र्य नराख्नेले आफू जहाँ जस्तो अवस्थामा छ त्यही स्वीकार्नुको विकल्प छैन । अर्काले बनाएर ठिक्क पारेका उपकरण चलाएर त्यसबाट प्राप्त हुने सुखभोग गर्ने ढङ्ग हामीसँग छैन भने त्यो ज्ञानलाई कुनै मूल्यमा किनेर ल्याउन सकिन्न ।

देखासिकी गर्नुको पनि हद हुन्छ । अनिवार्य आवश्यकता पूर्तिका लागि अरुबाट सिक्न सकिने धेरै कुरा हुन सक्छन् तर उसको ज्ञानबाट क्षमता र परिश्रमद्वारा सिर्जना हुने भौतिक साधन र सुविधाप्रति इष्र्याभाव प्रकट गर्नु असभ्यता दर्शाउँछ । यस्तै असभ्यतालाई प्रयोग गरेर अथवा भँजाएर मनोरञ्जन गर्ने, राजनीतिक स्वार्थ पूरा हुने सपना देख्ने मानिसहरुको आजभोलि भिड अलि बाक्लिएको छ । सूचना र प्रविधिको विकासले त्यस्तो भिडलाई उत्तेजित पार्न उद्धत रहने तत्वलाई दुरुत्साहन गरेको प्रशस्तै देख्न सकिन्छ ।

सूचना बेच्नेको आचारसंहिता हुनुपर्ने हो तर त्यहाँ कुनै पनि संहिताको प्रयोग भएको देखिँदैन । किन हो कुन्नि त्यो व्यापारी एकोहोरो भएर कसैलाई उचाल्ने र कसैलाई पछार्ने गरिरहन्छ । त्यसको परिणाम जतिसुकै नराम्रो भए पनि त्यसको जवाफ उसले कहिलै दिनु पर्दैन । अरुलाई जवाफदेही बनाउने उ एकमात्र ठेकेदार हो भन्ने ठान्छ ।

नागरिकलाई अनागरिक बनाएको कुरा जबर्जस्त रुपमा उठाइएको छ । नागरिकता बेचेर देश छोड्नेहरुको चर्चा गर्न आवश्यक ठानेको देखिँदैन । सूचनाको पहुँच सबैतिर पुगेपछि सबै मानिस आफ्नो परिवेश र आफ्नो औकातको विषयमा अनभिज्ञ रहँदैन तर आफ्नो औकात नस्वीकार्ने तर अरुलाई औकातमा रहन सुझाव दिने कोहीभन्दा कोही कम हुन्न । सूचनामा सत्यताको अंश थोरै भ्रम र तथ्यहीनता अधिक हुने गरी प्रवाह हुन थालेपछि सामाजिक सद्भाव विथोलिन सक्छ ।

सूचनाको विकासले विकृति र समाजमा लुकेका अपराधजन्य क्रियाकलापको उजागर गर्न ठुलो योगदान पु¥याएको छ । जुन सूचना प्रविधिको अपरिहार्यता पुष्टि गर्छ । यसको सुन्दर पक्ष ओझेल पर्ने गरी प्रवाह नगर्ने एउटा संहिताको आवश्यकता खड्केकै छ तर आफ्नो हितमा आउँदा यसको महत्वपूर्ण योगदान रहेको बखान गर्ने र गल्ती लुकाउन नपाउँदा त्यसको अपरिहार्यता देखी नसहने प्रवृत्तिले सञ्चारका माध्यमहरु दूषित भएका छन् । इन्टरनेटको पहुँच सबैसँग छ ।

मिथ्या समाचार सम्प्रेषण गर्नु अपराध हो तर सही सूचनाले ठुलो दुर्घटनाबाट जोगाउन सक्छ । निमेषभरमा परिणाम दिने कैयौँ प्रवृत्तिहरु हाम्रै वरिपरि घुमिरहँदा हाम्रो अनभिज्ञतालाई झकझक्याएर व्युँझाउँने तत्व पनि हामीसँगै छ । त्यसैले सत्यको वकालत गर्न प्रयोग गर्ने ज्ञानको कमी भएका कारण हामी अरुभन्दा पछाडि परेका हुन सक्छौँ भनेर आत्मसमीक्षा गर्न सिक्यौँ भने, सही मार्गदर्शन प्राप्त गर्न सकिन्छ । आफूले गर्न सकिने जति गर्न प्रयासै नगरी भाग्यवादको भरोसामा भौँतारिनु बुद्धिमानी हुनै सक्तैन ।

फेरि पनि पुरानै प्रसङ्गमा जाऔँ; मानिसले गर्नसक्ने कुरा कति रहेछन् त्यो हिसाब गर्ने ल्याकत पनि हामी राख्न सक्तैनौँ । त्यसको सानो अंश पनि अन्जानमा अनुकरण गर्न खोज्नुलाई अन्धानुकरण भनिन्छ । त्यसरी अन्धानुकरण र अन्धविश्वास उस्तैउस्तै कुरा हुन् तर फरक कति हो भने विश्वास निस्क्रिय हुन्छ भने अनुकरण सक्रिय हुन्छ । अहिले सामाजिक सञ्जालको भरमा परेर त्यसबाट ल्याइएको सानो अंशलाई आधार बनाएर कुनै घटना वा पात्रको अन्धानुयायी हुन खोज्यो भने परिणाम जे पनि हुनसक्छ ।

त्यसैका भरमा यहाँ केही हुँदैन भनेर बिदेसिनेको दुर्दशा बनेको हरेक दिन दिखनु दुःखदायी छ । कहाँ कतिबेला के हुन्छ, कसैलाई भविष्यवाणी हुँदैन । दिनदिनै नेपाली नागरिकले विदेशमा अपमानित हुनु परेका समाचारले अत्याएका हामीले व्यहोरेको तीतो अनुभव छ । त्यसको बदलामा हामीले पाउने मानसिक वा भौतिक क्षति मात्र हो । सूचनाको अन्तरवस्तुबारे राम्रो ज्ञान राखेर त्यसको वास्तविक पहुँचमा हुने आफ्नो हकको सुनिश्चितता पहिचान गरेर धारणा बनाउन सिकौँ । आफ्नै मात्रृभूमि सबैलाई सबैभन्दा सुरक्षित छ भन्ने विश्वास दृढविश्वास हो । देशभक्ति मर्न हुन्न चुत्थो देश भए पनि । किनभने जान त मानिसहरु चन्द्रलोक गइसके तर हामी पहिले आफ्नो क्षमतामा आत्मनिर्भरता खोजी गरौँ ।