संविधानतः महिला अधिकार कार्यान्वयन पक्षमा जोड
गोरक्ष समाचारदाता
तुलसीपुर, २५ फागुन । संविधानले महिलालाई अधिकार सम्पन्न बनाए पनि कार्यान्वयन पक्ष कमजोर रहेको एक कार्यक्रमका सहभागीले बताएका छन् । तुलसीपुर उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक विकास शाखाले ११५औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजित कार्यक्रमका सहभागीले महिलालाई अधिकार सम्पन्न बनाउन कानून कार्यान्वय निकायमा रहने व्यक्तिहरूको सोच परिवर्तन हुनुपर्नेमा जोड दिएका थिए ।
तुलसीपुर उपमहानगरपालिका उपप्रमुख स्यानी चौधरीको अध्यक्षता तथा नगर प्रमुख टीकाराम खड्काको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा समानुपातिक समावेशी सिद्धान्तका आधारमा राज्यको राजनीतिक तथा प्रशासनिक जीवनमा अर्थपूर्ण रूपमा महिलाको सहभागिता बढ्दै गए पनि अझै कार्यान्वयन पूर्ण हुन नसकेको बताइएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि खड्काले नेपालको संविधानले महिला अधिकार सुनिश्चितता गरेको र जिम्मेवारी, अवसर दिए महिलाले पुरुष सरह जिम्मेवारी पूरा गर्नसक्ने भन्दै महिलाले पनि हरेक क्षेत्रमा हस्तक्षेपकारी भूमिका निभाउनुपर्ने बताए ।
उनले आफ्नो पालिकामा महिला वडाध्यक्ष बनाउन नसके पनि उपमहानगरका शाखा, वडाहरूमा महिलालाई प्रमुखको जिम्मेवारी दिएको बताए । उनले पालिकाभित्र प्रशासन प्रमुखदेखि पाँचवटा शाखा प्रमुखको जिम्मेवारीका साथै केही वडामा वडासचिवको जिम्मेवारी महिलाले पाएको उल्लेख गरे । ‘हाम्रो पालिकामा महिलालाई तल्लो तहदेखि माथिसम्म नेतृत्व र जिम्मेवारी दिएका छौँ तर त्यो पुरुषहरूलाई मनपरेको छैन्’, उनले भने । खड्काले जनप्रतिनिधिले नै संविधानको मर्म अनुसार त्यसलाई कार्यान्वयन नगरेको बताए । ‘वडासचिव महिला पठाउँदा वडाध्यक्षहरूले महिला नपठाउनुहोला भन्नुहुन्छ, महिलाहरूले पनि अवसर पाए काम गरेर देखाउनुपर्छ’, उनले भने । खड्काले महिला–पुरुष बिच विभेद गर्नु सामन्तवादीको अभिषेस भएको उल्लेख गरे । ‘अवसर सिकाइले महिला पनि पुरुषले जस्तो काम गर्न सक्छन्, अब पुरुषवादी चिन्तन हटाउनुपर्छ’, खड्काले भने ।
विभिन्न वडाले लक्षित वर्षको बजेट अन्य क्षेत्रमा लगाउने गरेको भन्दै कार्यक्रममा बाटो, विकास निर्माण गर्नु मात्र विकास नभएको भन्दै सामाजिक तथा मानवीय विकासका लागि पनि बजेट कार्यक्रम आवश्यक पर्ने कार्यक्रममा सहभागीको भनाइ थियो । ‘सबै महिला तथा बालिकाको लागि ः अधिकार, समानता र सशक्तीकरण’ भन्ने मुलनाराका विभिन्न कार्यक्रमका साथ ११५औँ अन्तर्राष्ट्रिय महिला दिवसमा सहभागीले समाजमा रहेका खराब अभ्यास एवम् प्रथाको कारण किशोरी तथा बालिकामाथि हुने शारीरिक तथा मानसिक हिंसाका घटना बढ्ने यस्ता प्रथालाई अन्त्य गर्न सबैको सार्थक पहल जरुरी रहने बताएका थिए । यसैगरी शिक्षा, स्वास्थ्य, रोजगारी, नीति निर्माण एवम् निर्णय प्रक्रिया, राजनीतिजस्ता राज्यका हरेक क्षेत्रमा महिलाको पहुँच समान रूपमा सुनिश्चितता गर्न अझै मिहिनेत आवश्यक रहेको सहभागीको भनाइ थियो ।
कार्यक्रममा वडा नं. ६ का वडाध्यक्ष दुजमान भण्डारी वडा नंं. १६ का अध्यक्ष शिवानन्द डिसी, वडा नं. १७ की वडा सदस्य गीता राना, महिला अधिकारकर्मी देवा डाँगी, पद्मा चौधरी, सीमा न्यौपाने, लीला विक, न्यायिक समिति सदस्य देवी पोख्रेल, तुलसीपुर उद्योग वाणिज्य संघकी सदस्य मीना रावत, ज्येष्ठनागरिक खुमानन्द अधिकारीलगायतले शिक्षा, स्वास्थ्य, रोजगारी, नीति निर्माण एवम् निर्णय प्रक्रिया, राजनीतिजस्ता राज्यका हरेक क्षेत्रमा महिलाको पहुँच समान रूपमा सुनिश्चितता गर्नुपर्ने धारणा राखेका थिए ।
कार्यक्रममा अधिकारकर्मी सूष्मा गिरीले सबै महिला तथा बालबालिकाको लागि अधिकार, समानता र सशक्तीकरण विषयमा कार्यपत्र प्रस्तुत गरेकी थिइन् । कार्यपालिका सदस्य यमुना परियारको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा महिलाहरूले कृषि पेसामा तल्लीन हुँदै संस्थागत विकास गरी महिलाहरूको आर्थिक र सामाजिक विकासमा अग्रसर महिला कृषि सहकारी, संस्थाहरू तुलसीपुर–१४ डुरुवा महिला साना किसान कृषि सहकारी, वडा नं. १७ को मानपुर महिला साना किसान कृषि, सहकारी र १२ को महिला साना किसान कृषि सहकारी संस्था टरिगाउँका साथै तुलसीपुरबासी सवारी सहचालक बिना चौधरीलाई नगद्सहित सम्मान, पुरस्कृत गरिएको तुलसीपुर उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख माया श्रेष्ठले जानकारी दिइन् ।
यसैगरी समग्र विकासको गतिलाई गतिशील बनाउन लक्षितवर्गको क्षेत्रमा सबैभन्दा बढी बजेट विनियोति गर्ने वडा नं. १७, १८ र १६ लाई सम्मान गरिएको थियो । ती वडाले १३ देखि १७ लाखसम्म लक्षितवर्गको क्षेत्रमा कार्यक्रम निर्माण गरेका थिए । कार्यक्रममा सचेतनामूलक बालनृत्य, कविता प्रस्तुत गरिएको थियो । सामाजिक विकास समिति सदस्य वसन्ता केसीले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सहजीकरण तुलसीपुर उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख माया श्रेष्ठले गरेकी थिइन् ।
