Goraksha

National Daily

ज्योतिपुञ्जमा अभिभावकलाई स्वास्थ्य शिक्षा तथा मोटीभेसनल कार्यक्रम

दाङ, २४ फागुन । ज्योतिपुञ्ज एजुकेशनल ग्रुप दाङको आयोजनामा आज शनिवार घोराहीमा अभिभावकहरुका लागि बृहत अभिभावक मोटिभेशन कार्यक्रम गरिएको छ । ग्रुपको वार्षिक कार्यक्रम अनुसार ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालय घोराही र ज्योतिपुञ्ज मोडेल इङलिस स्कूल रामपुरका अभिभाकहरुका लागि स्वास्थ्य शिक्षा तथा मोटीभेसनल कार्यक्रम गरिएको हो ।

“गुणस्तरीय शिक्षाका लागि पारिवारीक स्वास्थ्य” भन्ने मूल नाराका साथ दाङ जिल्ला उद्योग वाणिज्य संघको बहुउद्धेश्यीय सभाहलमा भएको कार्यक्रममा दाङ जिल्लाका प्रतिष्ठित चिकित्सकहरु स्त्री तथा महीला रोग विशेषज्ञ,राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीका शिक्षाध्यक्ष प्रा.डा.बसन्त लामिछाने र वरिष्ठ वाल रोग विशेषज्ञ, तुलसी वाल अस्पतालका संचालन डा.किशोर खत्रीले दुवै विद्यालयका अभिभावहरुलाई स्वास्थ्य शिक्षा मार्फत मोटिभेसन गराएको हो ।

राष्ट्रिय रुपमा प्रतिष्ठित चिकित्सकहरुले आफूले विशेषज्ञता हासील गर्नुभएको चिकित्सकीय क्षेत्रका साथसाथै जीवनलाई सहज र सन्तुष्ट बनाउने बिधि, जीवनमा डरबाट मुक्त हुने तरिका, मान्छेमा आन्तरीक मनोवल बढाउने उपाय,साना साना कुराले पनि किन हाम्रो चित्त दुख्ने प्रबृतिको अन्त्य गर्ने बिधि, रीसलाई नियन्त्रण गर्ने उपाय, सफल व्यक्ति बन्ने आधारहरु, बालबालिकामा गलत खानपान र सँगत छुट्टाउने तरिका, बालबालिकाहरुलाई संस्कारीत बनाउन अभिभावहरुले खेल्नुपर्ने भूमिका, बालबालिकाहरुमा मोबाईल फोनको अधिक प्रयोगलाई नियन्त्रण गराउने उपाय लगायका बारेमा प्रशिक्षण दिएका थिए ।

ज्योतिपुञ्ज एजुकेशनल ग्रुप दाङका अध्यक्ष हेमराज शर्माको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष शर्माले ग्रुपद्धारा सञ्चालित दुईवटै विद्यालयका विद्यमान कार्यक्रम र भावी रणनितिका बारेमा अभिभावहरुलाई जानकारी गराएका थिए । नयाँ ब्यवस्थापनका साथ सञ्चालन भएयता दुवै विद्यालयहरुले शैक्षिक पात्रोको निर्माण गरी पूर्ण रुपमा कार्यान्वयन गरेको, एसइइ परीक्षामा ४ जिपिए ल्याउने विद्यार्थीहरुलाई यो बर्षदेखि २ लाख ५१ हजार र ३ दशमलव ६५ वा सो भन्दा माथि जिपिए ल्याउने विद्यार्थीहरुलाई ११ हजार र ज्योतिपुञ्ज मोडेल स्कूल रामपुरबाट कक्षा ८ मा ३ दशमलव ६१ वा सो भन्दा माथि जिपिए ल्याउने विद्यार्थीहरुलाई ५ हजार १ सय रुपैया विद्यार्थीहरुलाई प्रोत्साहन वापत पुरस्कार दिने निर्णय भएको कार्यक्रममा जानकारी गराइएको थियो ।

ज्योतिपुञ्ज मोडेल इङलिस स्कूल रामपुरका विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गुरुप्रसाद खनालको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सहजिकरण ज्योतिपुञ्ज एजुकेशन ग्रुपका प्रवन्ध निर्देशक बालचन्द्र शर्माले गरेका थिए । अभिभावकको बोलिबचन र असल व्यवहारसँग छोराछोरीहरुको संस्कार जोडीने र त्यही संस्कारले उनीहरुको भविष्य समेत निर्धारण गर्ने भएकाले अभिभावकहरुमा पनि सुधार गर्नुपर्ने धेरै पक्षहरुबारे जानकारी गराउन बिगतका बर्षदेखि नै अभिभावहरुलाई विभिन्न क्षेत्रमा विज्ञता हासील गर्नुभएका व्यक्तिहरुबाट शिक्षा प्रदान एवं मोटिभेसन कार्यक्रम दिन थालिएको विद्यालयले जनाएको छ ।