गोरक्ष समाचारदाता
दाङ, २२ फागुन । अमेरिकाको टेक्सास राज्यबाट डिपोर्ट भएका नौ जना नेपाली काठमाडौं आइपुगेका छन् । उनीहरूमध्येका आठ जनालाई अमेरिकन प्रहरीले चार्टड उडानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याएर छाडेका हुन् ।
उनीहरूलाई छाड्न चार जना अमेरिकी प्रहरी आएका थिए । अमेरिकन प्रशासनले उनीहरूलाई हातमा हत्कडी र खुट्टामा चेन लगाएर ल्याएको त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका अधिकृतहरू बताउँछन् । फर्काइएका नेपालीलाई हत्कडी र चेन खोलेर अमेरिकन प्रहरीले अध्यागमनका अधिकृतलाई जिम्मा लगाएर फर्केका थिए ।
डिपोर्ट (निष्कासन) भएकाहरूले पनि आफूहरूलाई जहाजमा समेत हत्कडी र चेन लगाएको बताएका छन् । डिपोर्ट हुनेमध्ये एकजना महिलाचाहिँ व्यावसायिक उडानमार्फत् काठमाडौं आएकी थिइन् । डोटी घर भएर अमेरिका गएकी बिनिता व्यावसायिक उडानमार्फत् काठमाडौं आएकी हुन् । काठमाडौं आएपछि अध्यागमन अधिकृतहरूसँग उनले भनेकी छन्, ‘डिपोर्टको निर्णय भएपछि म स्वदेश फर्किन राजी भएको हुनाले मलाई चार्टर्ड विमानमा पठाइएन ।’ उनी टेक्ससबाट कतारको दोहा हुँदै काठमाडौं आएकी हुन् ।
चार्टर्ड विमानबाट फर्काइएका आठ जनालाई चाहिँ टेक्ससबाट न्यूयोर्क र अल्वानिया ट्रान्जिट हुँदै नेपाल ल्याइएको हो । नेपाली सवार चार्टर्ड विमान इन्धन भर्न अल्वानियमा १ घण्टा रोकिएको डिपोर्ट भएकाहरूले बताएका छन् । अमेरिकाबाट डिपोर्ट हुनेमा २२ वर्षीय युवक र एक महिलासहित आठ जना रहेका छन् । डिपोर्ट हुनेहरूमा दाङका तीन जना, रुकुम पूर्वका दुई जना, रुकुम पश्चिमका दुई जना, रोल्पाका एक जना र डोटीका एक जना छन् । विमानस्थल अध्यागमनमा कार्यरत एकजना अधिकृतका अनुसार सुस्मा, लक्ष्मण, सुकुमार, हिमाल, मोहन, टोप, कमल र दीपक डिपोर्ट भएका हुन् ।
उनीहरू लाखौँ खर्चेर अमेरिका पुगेका थिए तर सीमानाको पर्खाल कटेको केही बेरमा नै पक्राउ परेर हिरासतमा पुगेको खुलेको छ । बुधबार फर्काइएकाहरू अमेरिकामा लामो समयदेखि डिटेन्सन ‘अफिसियल कस्टडी’मा रहेको मानव बेचबिखन ब्यूरोका एसपी नरेन्द्र कुँवरले बताए । फर्काएकाहरूलाई बबरमहल स्थित ब्यूरोको कार्यालयमा ल्याएर अनुसन्धान अधिकृतहरूले सोधपुछ गरिरहेका छन् । उनीहरू त्यहाँ पाँचदेखि नौ महिनासम्म डिटेन्समा बसेको एसपी कुवरले जानकारी दिए । उनले भने, ‘मानव बेचबिखन विरुद्धको कानुन अनुसार उहाँहरू पीडित भए नभएको बारेमा सोधपुछ र परामर्श गरिरहेका छौँ ।’ काठमाडौंबाट दुबई हुँदै युरोप पुगेका उनीहरू ब्राजिल पुगेर मेक्सिको पुगेका थिए । उनीहरू मेक्सिकोबाट सिमानाका पार गरेर अमेरिका पुगेको कुँवरले बताए । उनले भने, ‘त्यहाँसम्म पुग्दा लाखौँ खर्च गरेको देखिन्छ ।’
कुवँरका अनुसार उनीहरूले प्रतिव्यक्ति ५० लाखदेखि एक करोडसम्म खर्च गरेका छन् । उनी भन्छन्, ‘कसैले ४० लाख, कसैले ६५ लाख पनि खर्च गरेको देखिन्छ ।’ ब्राजिलमा पुगेपछि बिचौलियाले भनेअनुसार उनीहरूले पासपोर्ट फ्याँकिदिए । त्यहाँबाट कोही विमानमा र केही सड्क मार्ग हुँदै मेक्सिको पुगेका थिए । अनुसन्धानमा संलग्न एकजना अधिकृत भन्छन्, ‘ब्राजिलबाट शरणार्थी बनेर उनीहरू अमेरिका प्रवेश गरेको देखिन्छ ।’ फर्किनेहरू अधिकांश २० देखी ३५ वर्ष उमेर समूहका छन् । अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएसँगै उनले अवैध आप्रवासीहरूप्रति कडा नीति लिए । ठिक त्यसैबेला डिटेन्सनमा रहेका नेपालीलाई त्यहाँको अदालतले ‘डिपोर्ट’ गर्ने आदेश गरेको प्रहरी अधिकृतहरू बताउँछन् ।